बारा — कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जनताबाट अनुमोदित नभएकाहरू नै राजावादी भएर आन्दोलनमा उत्रिएको बताएका छन् । मुलुक गणतन्त्रमा गइसकेपछि भएको विभिन्न तहको चुनावमा सय मत पनि कटाउन नसकेकाहरू राजावादी भएर सडकमा उत्रिएको उनको भनाइ छ ।
तरुण दलको पाँचौँ महाधिवेशन तयारीका क्रममा बाराको कलैयामा आयोजित कार्यकर्तासँगको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘गएको चुनावमा पूर्वपञ्चहरू मेयर, सांसद र मन्त्री हुने आकांक्षामा प्रतिस्पर्धा गर्दा थुप्रैले सय मतमाथि कटाउन सकेनन् । आज तिनीहरू नै राजावादी भएर ती पद पाइहाल्छ कि भनेर उफ्रेका हुन्,’ उनले भने, ‘कतै राजा आए भने भोलि मेयर, सांसद, मन्त्री भइहालिन्छ भनेर दिवासपना देखिरहेका छन् ।’
छिमेकी राष्ट्रको कुनै राज्यको मुख्यमन्त्रीको तस्बिर राखेर राष्ट्रवाद सिकाउन नमिल्ने पनि अध्यक्ष गुरुङको भनाइ छ । ‘छिमेकीले व्यवस्था परिवर्तन गराइदिने होइन,’ उनले भने ‘देशको व्यवस्था, सिमाना, धर्म र संस्कृति यहाँको नागरिकले रक्षा गर्छन्,’ उनले भने ।
