कुलमान हटाएकोबारे प्रधानमन्त्रीले स्पष्टीकरण नदिएसम्म हाउस चल्दैन : अध्यक्ष दाहाल

'राप्रपाका ज्ञानबहादुर शाहीलगायतले भने- लौ ! प्रचण्डले टीआरसीसँग कुलमान साट्यो । योभन्दा झुटो बेइमानीपूर्ण र आपराधिक प्रचार केही हुन सक्छ ?'

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

The House will not proceed until the Prime Minister gives an explanation about the removal of Kulman: Speaker Dahal

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म संसद् बैठक चल्न नसक्ने बताएका छन् । बुधबार संसद् भवनमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष दाहालले सरकारले जालझालले कुलमानलाई हटाइएको बताएका हुन् । 

'प्रधानमन्त्रीले रोस्ट्रममा आएर जवाफ नदिएसम्म हाउस चल्दैन । प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ । उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ । स्पष्टीकरण चित्तबुझ्दो भए तुरुन्तै हाउस चल्छ । स्पष्टीकरण पनि जालझेलवालै भयो आन्दोलन अगाडि बढ्छ,' अध्यक्ष दाहालले भने । 

त्यस्तै संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनसँग कुलमानलाई हटाउनेबारे सौदाबाजी गरेको भन्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले दिएको अभिव्यक्तिको पनि दाहालले आपत्ति जनाएका छन् । उनले भने, 'राप्रपाका ज्ञानबहादुर शाहीलगायतले भने- लौ ! प्रचण्डले टीआरसीसँग कुलमान साट्यो । योभन्दा झुटो बेइमानीपूर्ण र आपराधिक प्रचार केही हुन सक्छ ?'

फेरि एकपटक प्रधानमन्त्री ओलीले जालझेल गरेको उल्लेख गर्दै दाहालले भने, 'सिंहदरबार गएर टीआरसी टुंग्याएलगत्तै गर्न पर्ने केही बाध्यता त थिएन । त्यसले मलाई फेरि स्वर्ग र नर्कको कुरा सम्झायो । फेरि एकचोटि निकै ठूलो जालझेल भएको मलाई महसुस भयो । चिन्तित र दु:खी छु ।'

प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा कुलमानले राम्रो काम गरेको पनि दाहालको भनाइ छ । 'कुलमानबारे हामीले सार्वजनिक रूपमै भनेका थियौँ । उहाँ ४/५ महिनापछि बिदा हुनुहुन्थ्यो । उहाँले राम्रो काम गरेको हो । जनमत पनि उहाँकै पक्षमा छ । म गएको दिन कुलमानबारे एक शब्द कसैले चर्चा गरेको होइन । टीआरसीबाहेक एक शब्द कसैले उच्चारण गरेका होइनन् । तर म निक्लनेबित्तिकै मन्त्रिपरिषद् बैठक बसेर कुलमान हटाउने निर्णय गरियो,' उनले भने ।  

कान्तिपुर

Link copied successfully