सरकारले नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन नखोजेको हो : श्रेष्ठ 

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

The government did not want to operate the Gautam Buddha International Airport: Shrestha

काठमाडौँ — होटल एसोसिएसन नेपाल, लुम्बिनी प्रदेशका संयोजक चन्द्रप्रकाश श्रेष्ठ (सीपी) ले रुपन्देहीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरकारको चासो नभएकै कारणले सञ्चालन हुन नसकेको आरोप लगाएका छन् । 

कान्तिपुर मिडिया ग्रुपले लुम्बिनीको भैरहवामा बुधबार आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य : अर्थ–सामाजिक शक्ति, सम्भावना र सम्बोधन’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा होटल व्यवसायी समेत रहेका श्रेष्ठले सीमित स्वार्थ समूहको कारणले गर्दा सरकारले उक्त विमानस्थाल सञ्चालन गर्न नसकेको बताएका हुन् ।

‘सरकारले नै यो एयरपोर्ट चलाउन नखोजेको हो । केही काठमाडौंको व्यक्तिको भनाइमा यो एयरपोर्ट नचलेको हो,’ तेस्रो सत्र ‘लुम्बिनीको आह्वान : अन्तर्राष्ट्रिय उडान’ विषयमा आफ्नो भनाइ राख्ने क्रममा उनले भने, ‘२०८१ साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आफ्नो सचिवालयको बैठक बोलाउनु भयो । र हामीले आन्दोलनका क्रममा विमानस्थलमा पूर्वाधार बन्नुपर्ने राखेका कुरा मन्त्रिपरिषद्‌बाट निर्णय भयो ।’ 

विमानस्थाल सञ्चालन गर्न र विमानस्थलभित्र आवश्यक पूर्वाधार निर्माण मागसहित व्यवसायीले करिब दुई साता लामो आन्दोलन गरेको समेत उनले स्मरण गरे । तत्कालीन समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती थिए । वार्ताका लागि बोलाइए पनि केही उपलब्धि हुन नसकेको उनले सुनाए । 

‘तर एक दिन हाम्रा वर्तमान प्रधानमन्त्रीज्यू एयरपोर्टबाट केही कार्यक्रममा आउन थाल्नुभएको थियो । हाम्रो होटल एसोसिएसनको डेलिगेसनले ज्ञापनपत्र लिएर यही कुरा प्रधानमन्त्री समक्ष राख्यौं । उहाँबाट आवश्वासन पनि दिनुभयो,’ उनी थप भन्छन्, ‘तर नौ महिना हुँदा पनि मन्त्रीपरिषद्‌बाट भएको निर्णय कार्यान्वयन भएन । विमानस्थलमा पूर्वाधार बनेको भए एयरपोर्टले गति लिने थियो । तर यो आएन । किन आएन ?’  

त्यतिमात्र नभई उक्त विमानस्थल लुम्बिनीका व्यवसायी र नागरिकको भविष्य रहेको, व्यवसायीहरूले ८० अर्ब लगानी गरेको र अहिले एयरपोर्ट सञ्चालन हुन नसक्दा उक्त लगानी जोखिममा रहेको उनले बताए ।

‘यो एयरपोर्ट भनेको यो क्षेत्रको हो । यहाँका व्यवसायी र नागरिकहरूको भविष्य हो । यहाँका व्यवसायीले जुन बैंकबाट कर्जा लिएका छन्,’ उनले भने, ‘कतिपय व्यवसायीहरू लिलामी हुने अवस्थामा छन् र कालोसूचीमा गइसक्यो । यी कसले हेर्ने ? सरकार कहाँ छ त अहिले ?’ 

आठ महिना जजिरा एयरलाइन्सको उडान भए पनि अहिले रोकिएको छ । जसमा सरकारकै पनि अर्बौ रुपैयाँ लगानी छ । ‘अहिले देखिरहेका छौं दुवै डुब्ने अवस्थामा छ । व्यवसायीहरू डुबिसके । आज व्यवसायीहरूको स्थिति हेर्नुहोस्,’ उनी सरकारलाई प्रश्न गर्छ्न, ‘कहाँ पुगेको छ ? हामीले पटक–पटक संघीय सरकारदेखि स्थानीय सरकारलाई अनुरोध गर्‍यौं कि यो एयरपोर्ट किन बनेको हो ? किन सञ्चालनमा आएको छैन ?’ 

कान्तिपुर

Link copied successfully