एकै लहरमा एउटै डिजाइनका मन्त्रालय भवन बन्दै, निर्माणमा प्राचीन वास्तुकलालाई आधुनिक प्रविधिसाग जोडिएको आयोजना कार्यान्वयन इकाइको भनाइ
देउखुरी — काठमाडौंको सिंहदरबारको झल्को दिने गरी लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) मा संरचना निर्माण भइरहेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य नौ मन्त्रालयका गरी १० भवनको निर्माण अन्तिम चरणमा छ । ती भवन एकै लहरमा एउटै डिजाइनका छन् ।
मुख्यमन्त्री कार्यालयका लागि ६ तले र अन्य मन्त्रालयका लागि पाँचतले भवन निर्माण भइरहेका हुन् । मुख्यमन्त्री कार्यालयमा ९६ कोठा र अन्य मन्त्रालयका लागि ५४ कोठा बन्दै छन् । प्रत्येक भवनमा अन्डरग्राउन्ड पार्किङ र एउटा लिफ्टको व्यवस्था गरिँदै छ । मुख्यमन्त्री कार्यालयमा भने दुईवटा लिफ्ट छन् । भुइँतला अपांगतामैत्री छन् । भवनमा आधुनिक मिटिङ हल, प्रशासनिक कक्ष बनेका छन् ।
प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाइका इन्जिनियर प्रदीप भट्टराईले भवन निर्माणको काम अन्तिम चरणमा पुगेर सौन्दर्यीकरणको काम भइरहेको बताए । सात प्रदेशमध्ये पहिलो नमुना संरचना देउखुरीकै रहेको उनको भनाइ छ । ‘यसबाट अन्य प्रदेशले सिक्न सक्छन्,’ उनले भने । उनका अनुसार विद्युत्का तार जमिनमुनि बिछ्याइएकाले तार देखिँदैन ।
प्राचीन वास्तुकलालाई आधुनिक प्रविधिसँग जोडेर नयाँ तरिकाले भवन निर्माण गरिएको इन्जिनियर भट्टराईले बताए । ‘सम्भव भएसम्म प्राचीन सामग्री र डिजाइनलाई आत्मसात् गरिएको छ । आधुनिक प्रविधिलाई पनि अवलम्बन गरिएको छ,’ उनले भने, ‘भवनको बनावटमा पौराणिक र नयाँ प्रविधिको मिश्रण देख्न सकिन्छ । यसले राजधानीको सुन्दरता थपेको छ ।’
अपांगता भएका व्यक्तिसँग समेत सल्लाह गरेर संरचना निर्माण गरिएको भट्टराईले बताए । ‘भवनमा र्याम्पदेखि सुरक्षाका संकेतसमेत राखिएको छ । माथिल्लो तला जान लिफ्ट छ भने एकदेखि अर्को कोठा जान र अपांगमैत्री र्याम्प छ,’ उनले भने, ‘भवनमा सबै खालका मानिसलाई सहज पहुँच होस् भन्नेमा अधिकतम ध्यान दिइएको छ ।’
एक मन्त्रालयबाट अर्को मन्त्रालय जान नाली र फुटपाथसहित १० मिटरका सडक बन्दै छन् । ४ अर्ब २१ करोड लागत अनुमान गरिएकामा काठमाडौंको शर्मा सगुन जेभीले भ्याटबाहेक ३ अर्ब ९ करोडमा सम्झौता गरी काम थालेको थियो । पुस २०७९ मा निर्माण सुरु भएकामा पुस २०८२ मा सम्पन्न गर्नुपर्ने सम्झौता छ । तोकिएको समयभन्दा अघि नै संरचना तयार हुने गरी काम भइरहेको आयोजना कार्यान्वयन इकाइ प्रमुख ईश्वरराज जोशीले बताए ।
हालसम्म ७० प्रतिशत भौतिक प्रगति र ५० प्रतिशत वित्तीय प्रगति भएको उनले जानकारी दिए ।नयाँ भवनमा मन्त्रालयका साथै निर्देशनालयलगायतका सबै कार्यालय एकै ठाउँ राखिने जोशीले बताए । ‘अब सबै कार्यालय एउटै क्षेत्रभित्र सञ्चालन हुन्छन्,’ उनले भने, ‘यसले राजधानीभित्र पसेपछि एकैथलोमा सबै सेवा पाउन सहज बनाउनेछ ।’
भवनको काम सम्पन्न गरेपछि प्रवेशद्वार र पर्खालको काम बाँकी रहने जोशीले बताए । यसका लागि बजेट व्यवस्था भए छिट्टै काम सकिने उनको भनाइ छ । प्रदेशसभामा २० असोज २०७७ मा प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी तोकेको थियो । त्यसपछि राप्ती प्राविधिक शिक्षालयका पुराना भवन मर्मत गरी राजधानीका कार्यालय सञ्चालन गर्न थालिएको थियो । शिक्षालयका सानाठूला गरी ५२ वटा भवन थिए । शिक्षालयलाई गढवा गाउँपालिका–३, विद्यानगरमा स्थानान्तरण गरी मन्त्रालयका कार्यालय स्थापना गरिएको थियो ।
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा निर्माण भइरहेका प्रदेश मन्त्रालयका भवन । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर
देउखुरीमा प्रदेशसभाका भवन पनि निर्माणको अन्तिम चरणमा पुगिसकेका छन् । प्रदेशसभा र सचिवालय भवन बनिसकेका छन् । संसदीय भवन निर्माण भइरहेको छ । प्रदेश राजधानीको २० वर्षे गुरुयोजनामध्ये पहिलो चरणको काम भइरहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले बताए ।
प्रदेशलाई नमुना बनाउने गरी काम गरिरहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ छ । भवनहरू बनिसकेपछि सेवा प्रवाहमा सहजता हुने उनले बताए । ‘हालसम्म पुराना भवन र भाडाका घरमा बसेर प्रदेशका सेवा दिनुपरेको छ । कार्यालय विभिन्न ठाउँमा छरिएर बसेका छन्,’ उनले भने, ‘अब प्रदेशसभादेखि सबै मन्त्रालय, निर्देशनालयलगायतका कार्यालय एकै ठाउँमा रहनेछन् । यसले राजधानी व्यवस्थित देखिनेछ । सेवा प्रवाहमा एकरूपता हुनेछ ।’
