कुलमानलाई हटाइएकोबारे प्रधानमन्त्रीको जवाफ माग, प्रतिनिधिसभा बैठक ३ बजेसम्मका लागि स्थगित

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

Demanding the Prime Minister's answer about the removal of Kulman, the meeting of the House of Representatives was adjourned until 3 o'clock

काठमाडौँ — कुलमानलाई किन हटाएको भन्दै विपक्षी दलले प्रधानमन्त्रीको जवाफ मागेपछि प्रतिनिधिसभाको बैठक बुधबार तीन बजेसम्मका लागि स्थगित गरिएको छ । विपक्षी दलहरूले बैठक अवरोध गरेपछि सुरुमा आधा घण्टाका लागि बैठक स्थगित गरिएको थियो ।

उक्त समयमा पनि बैठक सुरु हुन नसकेपछि संघीय संसद्‍का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गरी ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका छन् । 

विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेका हुन् । बुधबार बिहान ११ बजेका लागि बोलाएको बैठक ढिला गरी सुरु भएकोमा सुरुवातमै विपक्षी दलहरूले उठेर विरोध जनाएका थिए।

त्यसपछि सभामुख देवराज घिमिरेले नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतलाई बोल्ने समय दिएका थिए । सांसद बस्नेतले परिवर्तित परिस्थितिप्रति सरकार बेखबर भएर स्वार्थ समूह एवं विचौलियाको हितमा लागि परेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाएको बताए।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सदनमा विरोध जनाएका हुन्।

सरकारले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिसकेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय फिर्ता हुनुपर्ने भन्दै यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले माग गरे। सांसद बस्नेतले आफ्नो भनाइ सक्ने बित्तिकै प्रतिपक्षी सांसदहरुले पुनः उठेर विरोध जनाएका थिए। सभामुख घिमिरेले विरोधका बीच सदन ३० मिनेटका लागि स्थगन गरेका थिए ।

कान्तिपुर

Link copied successfully