संक्रमणकालीन न्याय टुंग्याउन शीर्ष नेता एक ठाउँमा

पूर्वप्रधानन्यायाधीश मिश्रकै संयोजकत्वमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन

चैत्र १२, २०८१

कुलचन्द्र न्यौपाने

Top leaders in one place to end transitional justice

काठमाडौँ — कांग्रेस, एमाले र माओवादीबीच भागबन्डामा समझदारी बनेपछि संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी नियुक्तिको गाँठो फुकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार दुई आयोगका दस पदाधिकारी भागबन्डामा सहमति भएको हो ।

शीर्ष नेताबीचको सहमतिपछि आइतबार नै मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पदाधिकारी नियुक्तिका लागि पाँच सदस्यीय सिफारिस समिति बनाउने निर्णय गरेको छ । गृहमन्त्री रमेश लेखकले तीन दलका शीर्ष नेताबीचको समझदारीअनुसार पदाधिकारीको नाम सिफारिस गर्न मिश्रको संयोजकत्वमा यसअघिकै समितिलाई पुनर्गठन गरिएको बताए । 

प्रधानमन्त्रीका मानवअधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले बैठकमा सिफारिस समिति गठन गर्ने विषयमा मात्रै सहमति भएको बताउँदै भागबन्डाका विषयबारे केही बताउन चाहेनन् । ‘आयोगका पदाधिकारी नियुक्ति सम्बन्धमा समितिले गरेको सिफारिसका आधारमा हुने हो, त्यसमा दलहरूको सिफारिसमा हुने होइन,’ उनले भने । 

Top leaders in one place to end transitional justice

बालुवाटार स्रोतका अनुसार सत्तारूढ कांग्रेस र एमालेबीच पहिला समझदारी बनाएपछि माओवादीसँग सहमति गरिएको हो । यसअघि कांग्रेसले सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षसहित दुई सदस्य, एमालेले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षसहित तीन सदस्य र माओवादीले तीन सदस्य पाउने समझदारी भएको थियो । 

माओवादी अध्यक्ष दाहालले भने संक्रमणकालीन न्यायसँग प्रत्यक्ष सरोकार राख्ने पार्टीले दुईमध्ये एक आयोगको अध्यक्ष पाउनुपर्ने दाबी गर्दै आएका थिए । तर, तीन सदस्यीय संक्रमणकालीन न्यायसँग सम्बन्धित कामलाई अघि बढाउन दाहाल लचक बनेको स्रोतको दाबी छ । सिफारिस समितिमा मानवअधिकार आयोगका अध्यक्ष वा उसले तोकेको एक जना सदस्य हुने व्यवस्था छ । आयोगले यसअघि मनोज दवाडीलाई समितिमा पठाएको थियो । आयोगले यस पटक उनैलाई दोर्‍याएर पठाउने वा अर्को नाम दिने भन्नेबारेमा एक/दुई दिनभित्र तय गर्ने जनाएको छ । 

प्रमुख तीन दलका शीर्ष नेतृत्वबीचको खिचातानीले ०७९ साउनदेखि नै दुवै आयोग पदाधिकारीविहीन छन् । आयोगमा पदाधिकारी नियुक्ति नहुँदा पीडितका उजुरी छानबिनलगायत न्याय निरूपणका सबै काम अवरुद्ध हुँदै आएको थियो । सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन आयोगमा गरी ६४ हजारभन्दा बढी उजुरी छन् । 

दुवै सदनबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १५ मै प्रमाणीकरण गरेका थिए । संसद्बाट विधेयक पारित भएको दुई महिनाभित्रै पदाधिकारी नियुक्ति गरिसक्नुपर्ने कानुनी व्यवस्थाअनुसार सरकारले गत कात्तिकमा पूर्वप्रधानन्यायाधीश मिश्रकै नेतृत्वमा पाँच सदस्यीय सिफारिस समिति पनि गठन गरेको थियो । 

समितिले खुला आवदेन गरेर ४० जना छनोट गरी अन्तर्वार्ता लिइसकेपछि पदाधिकारी छनोट गर्ने क्रममा विवाद भएको थियो । दलीय आधारमा सिफारिस समितिमा रहेका सदस्यहरूले आ–आफ्नो दलको प्रतिनिधित्व गरेर छनोटको अडान लिएपछि समितिमा सर्वसम्मति भएन । बहुमत र अल्पमतका आधारमा निर्णय लिँदा शान्ति प्रक्रियाको काममा विश्वसनीयता नहुने र त्यसले दूरगामी प्रभाव पार्न सक्ने भन्दै लामो समयदेखि पदाधिकारी नियुक्ति प्रक्रिया नै अवरुद्ध बनेको थियो । 

माओवादी नेता शक्ति बस्नेतले यसअघि सिफारिस समितिका सदस्यबीच ममत बाझिएका कारण पदाधिकारी छनोट हुन नसके पनि अब त्यस्तो अवस्था नदोहोरिने दाबी गरे । ‘अघिल्लो समितिमा सदस्यहरूबीच कुरा मिलेन । शान्ति प्रक्रिया जस्तो विषयमा अल्पमत र बहुमतमा जानु राम्रो दीर्घकालीन रूपमा हित हुन्न भन्ने धारणा प्रमुख दलबीचमा थियो, यो स्वाभाविक पनि थियो । त्यसैले त्यतिबेला रोकिएको हो,’ बस्नेतले भने, ‘अहिले विगतका कमीकमजोरीमाथि समीक्षा गर्दै सहमति जुटेको छ । अब त्यस्तो हुन्न भन्ने विश्वास छ ।’ 

 कांग्रेसका एक पदाधिकारीका अनुसार दुवै सदनबाट विधेयक पारित भएदेखि नै आयोग पदाधिकारीमा भागबन्डा मिलाउन प्रयास जारी थियो । ‘पहिला भागबन्डा नमिलेका कारणले सिफारिस समितिले नाम छनोट गर्न सकेन । सिफारिस समितिलाई सहज बनाउन यस पटक भने पहिल्यै भागबन्डा मिलाइएको छ । पहिला जस्तो अब हुन्न,’ कांग्रेसका ती नेताले भने, ‘पदाधिकारीमा रहने व्यक्तिहरूको विषयमा समेत करिब–करिब टुंगो लागेको छ ।’ 

यसअघिको समितिमा मिश्रकै संयोजकत्वमा पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती, पूर्व राजदूतहरू अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य नियुक्त भएका थिए । गत कात्तिक २ मा सरकारले उक्त सिफारिस समिति गठन गरेको थियो । पुस १ मा समितिको पदावधि सकिएको थियो ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully