स्थायी आन्तरिक बसाइँसराइ गर्ने जनसंख्या पहाडमा धेरै
काठमाडौँ — एक दशकमा पहाडबाट ३२ प्रतिशत नागरिक बसाइँ सरेका छन् भने तराईबाट २८.९ प्रतिशत बसाइँ सरी अन्यत्र गएका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार राष्ट्रिय जनगणना २०७८ मा आधारित नेपालमा आन्तरिक बसाइँसराइ शीर्षकसहित पाँच विषयगत प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा बसाइँसराइको यस्तो प्रवृत्तिबारे उल्लेख छ ।
कार्यालयले नेपालमा आन्तरिक बसाइँसराइ, अन्तर्राष्ट्रिय बसाइँसराइ, प्रजनन क्षमता, जनसांख्यिक लाभांश र जनसंख्या प्रक्षेपण, २०२१-२०५१ प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा नेपालभित्र आफ्नो मूलथलो छोडी बसाइँ सर्नेको अनुपात २९.२ प्रतिशत रहेको छ । पहाडी क्षेत्रमा २०२८ सालमा ६ प्रतिशतले मात्रै बसाइँसराइ गरेका थिए । जुन त्यसपछिका वर्षमा निरन्तर बढ्दो छ ।
कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डरीराज लामिछानेले सबैभन्दा बढी स्थायी आन्तरिक बसाइँसराइ गर्ने जनसंख्या पहाडमा रहेको बताउँदै हिमाली क्षेत्रबाट १३.८ प्रतिशत नागरिक बसाइँ सरेको बताए । बसाइँ सरेकामध्ये २५.९ प्रतिशत आश्रित भएर गएका, २४.९ प्रतिशत विवाहले गर्दा बसाइँ सरेका तथा १९ प्रतिशत नागरिक कामको अवसरको कारण बसाइँ सरी गएको उनले बताए ।
प्रतिवेदनमा प्रदेशबाट अर्को प्रदेशमा बसाइँ सरी जानेमा सबैभन्दा धेरै गण्डकी प्रदेशका रहेको उल्लेख छ । त्यस्तै स्थायी बसाइँसराइ गर्ने प्रवृत्तिले ७७ जिल्लामध्ये १८ जिल्लाले उक्त्त जिल्लामा जन्मिएका २० प्रतिशत जनसंख्या गुमाएको देखिन्छ ।
नेपालमा अन्तर्राष्ट्रिय बसाइँसराइको अवस्था प्रतिवेदनमा भने नेपालको प्रवासन प्रवृत्ति २०५८ सालमा ३.३ प्रतिशत रहेकामा दुई दशकपछि २०७८ सालमा यस्तो जनसंख्या ७.५ प्रतिशत रहेको उल्लेख गरिएको छ । देशभित्र अनुपस्थित जनसंख्यामध्ये तीन चौथाइभन्दा बढी अर्थात् ७५.८ प्रतिशत १५ देखि ३४ वर्ष उमेर समूहभित्रका रहेको पनि उल्लेख छ ।
प्रतिवेदनमा कम्तीमा एकजना विदेश अनुपस्थित सदस्य भएका परिवारमध्ये करिब एक चौथाइ परिवार बसिरहेको घर पक्की छ । यो तथ्याकंले विपन्नहरुले मात्रै देश छाडिरहेका छैनन् भन्ने बुझाउँछ । त्यस्तै प्रतिवेदनमा देशभित्र अनुपस्थितमध्ये अर्धपक्की घरमा बसोबास गरिरहेका परिवारबाट कम्तीमा एक सदस्य विदेश अनुपस्थित हुनेको हिस्सा २० प्रतिशत हाराहारी छ ।
नेपालमा आश्रित जनसंख्याभन्दा काम गर्ने जनसंख्या अधिक अनुपातमा रहेको, सक्रिय उमेर समूह अर्थात् काम गर्न सक्ने उमेर समूहको जनसंख्या ६५.२ प्रतिशत रहेको जस्ता तथ्याकं प्रतिवेदनमा समेटिएका छन् ।
प्रवक्ता लामिछानेले अन्यत्रको तुलनामा तराई क्षेत्रमा जनसंख्या वृद्धिदर उच्च रहेको जानकारी दिँदै यही अनुपातमा जनसंख्या वृद्धि भएको अवस्थामा तराईले थेग्न नसक्ने बताए । सार्वजनिक प्रतिवेदनले समग्र मुलुकको प्रजनन दरमा समेत कमी हुँदै जाने प्रक्षेपण गरेको छ ।
नेपालका जनसंख्या प्रक्षेपण, २०२१-२०५१ प्रतिवेदनमा २१०८ सालमा नेपालको जनसंख्या ३ करोड ३५ लाख आसपासमा रहने प्रक्षेपण पनि गरिएको छ । त्यतिबेला सय जना काम गर्ने उमेर समूहका व्यक्तिमा ४८ जना आश्रित रहने प्रक्षेपण गरिएको छ ।
२०७८ को तुलनामा २१०८ मा स्वदेश फर्किने जनसंख्या बढने अनुमान पनि यो प्रतिवेदनमा गरिएको छ । प्रतिवेदनमा २०७८ सालमा विदेशबाट आउनेको संख्या ९ हजार १ सय १४ रहेकोमा २१०८ सालमा यस्तो संख्या १८ हजार ३ सय ५३ हुन सक्ने प्रक्षेपण गरिएको छ ।
