छाप्रोमा अस्पताल, एम्बुलेन्स चालक सञ्चालक, जोखिममा बिरामी

७५ अस्पतालमा रोक लगाएका मुख्यमन्त्री सतीशकुमार सिंह भन्छन्– ‘जनकपुरकै धेरै अस्पतालमा लगानीकर्ता एम्बुलेन्स चालकदेखि फर्मासिस्ट, हेल्थ असिस्टेन्ट र ल्याब टेक्निसियन छन्, हामीले किन अरूसँग कमिसन लिने, हामी नै कमिसन दिने भनेर पनि धेरै अस्पताल खोलिएको देखिन आएको छ’

चैत्र १२, २०८१

स्वरूप आचार्य, अजित तिवारी

Chaproma hospital, ambulance driver operator, patient at risk

जनकपुरधाम — जनकपुर–१६ स्थित कपिलेश्वरनाथ मन्दिर नजिकै घर भएकी ४१ वर्षीया सोनिया (सुनिता) साह निःसन्तान भएकामा सामाजिक तथा मनोवैज्ञानिक दवावमा थिइन् । काठमाडौंका विभिन्न निःसन्तान उपचार केन्द्रदेखि भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स्) सम्म उपचार गराउँदा पनि सम्भव नभएपछि दम्पती घर फर्किएका थिए । तर, जनकपुर सुरक्षा अस्पतालका सञ्चालक डा. सरोजकुमार ठाकुरले सजिलै उपचार हुने आश्वासन दिए । सब ठीक हुने भन्दै डा. ठाकुरले शल्यक्रिया गरे तर, उनको उपचार त भएन नै, अनाहकमा ज्यान गयो ।

‘डाक्टरले नै खेलवाड गरेपछि के हुन्छ ? मैले त्यही भोगें,’ सुनिताका श्रीमान् गणेश साह भन्छन्, ‘श्रीमतीसँगै गएर कुरा गर्दा बच्चा हुन्छ भन्नुभयो, पछि विश्वास नलागेर फोन गरेर पुनः एक्लै भेट्न गएँ, त्यसबेला पनि उहाँले त्यही भन्नुभयो ।’

गणेशका अनुसार गत साउन ३ मा शल्यक्रिया सुरु गरेपछि डा. ठाकुरले उनलाई अपरेसन थिएटर भित्र बोलाए । त्यतिबेला सुनिताको पेट चिरिएको थियो । डाक्टरले शल्यक्रिया सफल नभएको भन्दै घाउ निको भएपछि काठमाडौंको कुनै ठूलो अस्पतालमा लैजान भने । 

‘म त्यो पेट चिरिएको देखेरै अक्क न बक्क भएँ, के भन्नु ?,’ उनले सुनाए, ‘त्यस दिन र भोलिपल्ट पोस्ट अपरेटिभ वार्डमै राखिएको थियो, रगत कम छ भनेर रगत पनि दिएका थिए, दुई दिनपछि सुधार भयो भनेर वार्डमा सारियो, केही समयपछि उनी बेहोस भइन्, त्यसपछि कहिल्यै उठिनन् ।’ 

गणेशको भनाइमा शल्यक्रिया गर्दा सुनिताको हेमोग्लोबिनको मात्रा ६ थियो । जुन उनीहरूले पछि मात्र थाहा पाए । ‘चिकित्सकका अनुसार हेमोग्लोबिनको मात्रा ६ हुँदा पाठेघरसँग सम्बन्धित शल्यक्रिया गर्नै हुँदैन रे,’ उनले भने, ‘तर गरियो, सायद मृत्युको कारण पनि त्यही थियो होला ।’ उनका अनुसार अस्पतालमा मृत्यु भइसकेको अवस्थामा पनि डा. ठाकुरले सुनितालाई एम्बुलेन्समा राखेर अन्यत्र पठाउने तयारी गरेका थिए । तर पछि आफन्त जम्मा भएर उनको शरीर छाम्दा पूरै चिसो भइसकेको थियो ।

Chaproma hospital, ambulance driver operator, patient at riskजनकपुर–९ स्थित जनक मेमोरियल हस्पिटल । दुईतले पुरानो घरमा सञ्चालित यो अस्पतालको गेटसँगै उत्तर र दक्षिण दुवैतर्फ जस्तापाताले छाएका टहरा छन् । उत्तरतर्फको टहरा आकस्मिक कक्ष हो । दक्षिणतर्फको टहरा पनि बिरामी उपचार कक्ष । अस्पतालका बार्दली र झ्याल प्लाइउडले ढाकिएका छन् । अनुगमनका क्रममा पूर्वाधार र जनशक्ति अभाव देखेपछि मुख्यमन्त्रीले अस्पतालमा ताला लगाइदिएका छन् । तस्बिर : अजित तिवारी/कान्तिपुर

गत मंगलबार कान्तिपुर टिम उक्त अस्पताल पुग्दा सञ्चालक डा. ठाकुर शल्यक्रियामै व्यस्त थिए । शल्यक्रिया कक्ष दोस्रो तलामा थियो । तर त्यहाँ पुग्न कुनै र्‍याम्प वा लिफ्ट थिएन । बिरामीलाई अन्यत्र सानुपर्ने भएमा भर्‍याङबाट ओराल्नुको विकल्प थिएन । जुन स्ट्रेचरमा लगभग असम्भव जस्तै थियो । अस्पतालको भवन त जीर्ण थियो नै, शल्यक्रिया गर्नका लागि आवश्यक पर्ने न्यूनतम सरसफाइको प्रबन्धसमेत थिएन ।

करिब आधा घण्टाको पर्खाइपछि भेट भएका डा. ठाकुरले आफूले भर्खरै एक महिलाको पाठेघर निकाल्ने (हिस्टेरेक्टोमी) शल्यक्रिया सकेर आएको बताए । त्यसपछि हामीले उनलाई ‘यति दूषित पूर्वाधार भएको अस्पतालमा शल्यक्रिया गरेर बिरामीको ज्यानसँग खेलबाड गर्न मिल्छ ?’ भनेर प्रश्न गरेका थियौं । उनले बचाउ गर्दै भने, ‘अस्पतालको भवन जीर्ण देखिए पनि त्यहाँ शल्यक्रियाका लागि आवश्यक सबै उपकरण र स्रोत उपलब्ध छन् ।’

शल्यक्रियाका लागि कुन एनेस्थेसिस्ट चिकित्सकले सघाएका थिए भन्ने प्रश्नमा भने उनी अन्कनाए । ‘मैले नाम बिर्सिएँ, पख्नुस् है, म सिस्टरलाई सोध्छु,’ उनको प्रतिक्रिया थियो । लामो समयपछि उनले भने, ‘डा. अजय ।’ 

उनको हाउभाउ हेर्दा उनले बिनाएनेस्थेसिस्ट नै शल्यक्रिया गरेका थिए भनेर अनुमान लगाउने प्रशस्त आधार छन् । शल्यक्रिया सकिएपछि उक्त कक्षबाट अरू कुनै चिकित्सक बाहिरिएको हामीले देखेनौं । डा. अजय पञ्जियारले समेत आफूले कहिल्यै डा. सरोज ठाकुरलाई शल्यक्रियामा नसघाएको प्रतिक्रिया दिए । ‘मैले डा. ठाकुरलाई कहिल्यै असिस्ट नै गरेको छैन,’ उनले भने । 

त्यसपछि हामीले डा. ठाकुरलाई डेढ वर्षअघि शल्यक्रिया गरेपछि मृत्यु भएकी सुनिता साहको केसका बारेमा प्रश्न गर्‍यौं । ‘सुनिता साहको केस सम्झिनुहुन्छ ? त्यसमा के भएको थियो ?’ उनले प्रश्नको उत्तर दिँदै गर्दा बत्ती गयो र कोठा अँध्यारो भयो । लगभग १० मिनेटसम्म न कुनै बत्ती बल्यो न जेनेरेटर नै चल्यो । पछि बत्ती आयो । यसको अर्थ ठूलै शल्यक्रिया गरिने अस्पतालमा बिजुलीको ‘ब्याकअप’ पनि थिएन ।

‘कथा लामो छ, उनको बच्चा भएको थिएन, उनले आफ्नो समस्या मलाई बताइन्,’ डा. ठाकुरले भने, ‘त्यसैले मैले उनको पाठेघरको शल्यक्रिया गरेमा समस्या समाधान हुने बताएको थिएँ, तर ब्याड लक उनको शल्यक्रिया गरेको तेस्रो दिन डेथ भयो ।’

उनको दाबीअनुसार सुनितालाई पाठेघरको समस्या निवारणका लागि मात्र शल्यक्रिया गर्ने बताएका थिए, जबकि सुनिताका श्रीमान्का अनुसार भने डा. ठाकुरले पाठेघरको शल्यक्रियापछि बच्चा नै हुने आश्वासन दिएपछि मात्र उनीहरू शल्यक्रिया गर्न राजी भएका थिए । 

डा. ठाकुरकै अनुसार उक्त केस ढाकछोप गर्न उनले रकम खर्चिएका थिए । सुनिताका श्रीमान् गणेशका अनुसार पनि काठमाडौंमा व्यवसाय गर्ने उनी मुद्दाकै लागि आउजाउ गर्ने अवस्था नभएपछि क्षतिपूर्तिमै कुरा मिलाउन सबैतिरबाट दबाब आएको थियो । उनले रकम खुलाउन नमाने पनि डा. ठाकुरका अनुसार परिवारका सदस्यलाई तीन लाख र बाँकी केही रकम बिचौलियालाई दिनुपरेको थियो । हाल उक्त अस्पताल मुख्यमन्त्रीको अनुगमनमा परे पनि बन्द गरिएको छैन । कुनै समयमा दर्ता गरिए पनि पुनः नवीकरण नभएकाले दुई महिनाभित्र नवीकरण गर्ने मौका दिइएको छ ।

प्राविधिक कारणले गर्दा हाल बन्द भएका वा सञ्चालनमा रहेका जनकपुरका अस्पतालको अवस्था हेर्दा त्यहाँ बिरामीको उचित उपचार हुन्छ भनेर मान्न मुस्किल देखिन्छ । धेरैजसो अस्पताल स्रोतसाधनबिना नै सामान्य स्वास्थ्यकर्मीका भरमा चलेका छन् । मुख्यमन्त्रीले बन्द गरेका अधिकांश अस्पतालमा शल्यक्रियाको सेवा थियो । तर, ती सबैजसो अस्पतालमा शल्यक्रिया गर्न आवश्यक पर्ने एनेस्थेसियाका चिकित्सक नै उपलब्ध थिएनन् ।

पूर्वाधारमा सबै अस्पतालको अवस्था नाजुक छ भने जनशक्ति व्यवस्थापनको अवस्था पनि कमजोर थियो । मुख्यमन्त्री सतीशकुमार सिंहले नै अनुगमनका क्रममा अधिकांश अस्पतालमा आकस्मिक कक्षमा नै कुनै चिकित्सक नभएको फेला पारेको बताए । ‘इमर्जेन्सीमा नै चिकित्सक छैन, अस्पतालभर नै एमबीबीएससम्मको चिकित्सक पनि उपलब्ध छैन, अनि त्यसलाई कसरी अस्पताल भन्ने ?,’ उनी भन्छन् ।

मुख्यमन्त्री सिंहकै भनाइमा मधेश प्रदेशको राजधानी जनकपुरमा धेरै अस्पतालका लगानीकर्ता एम्बुलेन्स चालकदेखि फर्मासिस्ट, हेल्थ असिस्टेन्ट र ल्याब टेक्निसियन हुन् । ‘हामीले किन अरूसँग कमिसन लिने, हामी नै कमिसन दिने भनेर पनि धेरै अस्पताल खोलिएको देखिन आएको छ,’ उनले सुनाए, ‘त्यसैले पनि म आफैं अस्पतालको अनुगमनमा खटिएको हुँ । कर्मचारीको संयन्त्रले मात्र यो ठिक हुन्थ्यो भने अहिले मैले अनुगमन गर्नुपर्ने अवस्था आउने थिएन ।’

 जनकपुर–९ को जानकी माविको उत्तरछेउमै छ, जनक मेमोरियल हस्पिटल । दर्ता नरहेको जनक हस्पिटल पहिलो लटमा नै मुख्यमन्त्री सिंहले बन्द गराएका थिए । अस्पतालको मुख्यद्वारमा माथिल्लोपट्टि चेनले बाँधेर ताल्चा लगाइएको छ । दुईतले पुरानो घरमा राखिएको जनक मेमोरियल हस्पिटलको भौतिक अवस्था पनि उदेकलाग्दो छ । मुख्यद्वारको दक्षिण र उत्तरतिर जस्तापाताले छोपिएको दुई वटा टहरा छन् । दक्षिणछेउको टहरामा अस्पतालमा लगाइने हरियो रंगको पर्दा टाँगिएको छ । बिरामी चापाचाप हुँदा टहरामै राखेर पनि उपचार गरिने रहेछ । उत्तरछेउको टहरा आकस्मिक कक्ष । पक्की दुईतले घरको माथिल्लो तला प्रयोगमा छैन । बार्दली र झ्याल प्लाइउडले ढाकिएका छन् । 

जनकपुरको रामानन्द चोकमा रहेको सहयोग हस्पिटल पनि दर्ता नभएकाले बन्द गरिएको छ । सहयोग हस्पिटलको मुख्य गेट भने आधा खुला थियो । भित्र मानिसको चहलपहल थियो । पुरानो दुईतले घरलाई मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइएको यो अस्पतालको भौतिक अवस्था पनि ‘अस्पताल’ भन्न लायकको छैन । मुख्य गेटबाट एम्बुलेन्स छिर्न नै हम्मे पर्छ । अस्पतालभित्र जस्तापाताका थुप्रै अस्थायी संरचना छन्, जहाँ बिरामीको उपचार गरिन्छ । 

जनकपुरको थापा चोकमा रहेको जनकपुर सीता हस्पिटल पनि दर्ता छैन । बन्द गरिएको यो अस्पतालको मुख्यद्वार पनि खुला थियो । अस्पतालको दोस्रो तलाको बरन्डालाई कालो प्लास्टिकले छोपेर बिरामी कक्ष बनाइएको छ । अस्पतालको प्रवेशद्वारसँगै कुरुवाका लागि काठको बेञ्च राखिएको छ । अस्पतालको भुइँतलामा रहेको काउन्टरमा खेलमा जितिने थुप्रै ट्रफी राखिएको छ भने त्यहाँ होटल–रेस्टुरेन्टझैं झिलिमिली बत्ती बालिएको थियो । तर चहलपहल भने थिएन ।

मुख्यमन्त्री सिंहले अनुगमनपछि पर्साका १, महोत्तरीका ५, रौतहटका २१, सर्लाहीका २४, सप्तरीका २ र धनुषाका २२ अस्पताल सञ्चालनमा रोक लगाएका छन् । उनका अनुसार कुनै अस्पतालमा त जोडेरै बेड राखिएको छ, जहाँ एउटा बेड र अर्को बेडको बीचमा ठाउँ खालि नै छैन । ‘मैले अनुगमनका क्रममा यस्तो अस्पताल पनि देखें जसको बेडको अवस्था औषधि पसलमा ड्रेसिङका लागि राखिने बेडभन्दा खराब थियो,’ मुख्यमन्त्री सिंह भन्छन्, ‘कोठामा पाँच वटा बेड छ, एउटाबाट अर्कोमा जान मिल्दैन । मैले सोधेको थिएँ– बिरामीलाई बोरामा राखेर हुत्याउने हो ?’

मुख्यमन्त्री सिंहका अनुसार स्वास्थ्य संस्थाको अनुगमन सुरु गरेयता राजधानी जनकपुरमा मात्र नभएर पूरै मधेशको स्वास्थ्य संयन्त्रमाथि प्रश्न उठेको छ । ‘स्वास्थ्य संस्था दर्ताको कागजी प्रक्रिया एउटा होला, तर धेरैजसो ठाउँ उपचार गराउनै लायकका छैनन्,’ उनी भन्छन्, ‘हामी बिरामी भयौं भने त्यस्तो ठाउँमा जान सक्दैनौं, आम मानिसका लागि भनेर कसरी सञ्चालन गर्न दिने ?’

(साथमा शिव पुरी र सन्तोष सिंह)

स्वरूप आचार्य विगत एक दशकदेखि पत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर स्वास्थ्य तथा सामाजिक विषयमा समाचार लेख्छन् ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully