विश्व समुदाय मिलेर कार्बन उत्सर्जन घटाउनुपर्छ : मन्त्री शाही

चैत्र १२, २०८१

कान्तिपुर संवाददाता

The world community must work together to reduce carbon emissions: Minister Shahi

काठमाडौँ — वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वका सबै मुलुक मिलेर कार्बन उत्सर्जन तत्काल घटाउनुपर्ने बताएका छन् । जर्मनीको राजधानी बर्लिनमा आयोजित ‘पिटर्सबर्ग जलवायु संवाद–२०२५’ लाई सम्बोधन गर्ने क्रममा मन्त्री शाहीले पृथ्वीको तापक्रम वृद्धिलाई सन्तुलनमा राख्नुपर्ने र जलवायु वित्त परिचालनलाई तीव्रता दिनुपर्ने बताएका हुन् ।

मन्त्री शाहीले संवादमा नेपालले नगन्य कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनका अवसरबाट सबैभन्दा बढी प्रभावित हुनुपरेको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएका थिए । उक्त अवसरमा मन्त्री शाहीले नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ बारे जानकारी गराए ।

विगत १४ वर्षदेखि जर्मन सरकारले जलवायु परिवर्तनमा बहुपक्षीय भूमिका र अन्तर्राष्ट्रिय सहकार्यको महत्वलाई प्रवर्द्धन गर्न ‘पिटर्सबर्ग जलवायु संवाद’ आयोजना गर्दै आएको छ ।

जर्मन सरकारको विशेष निमन्त्रणमा मन्त्री शाही १५औं पिटर्सबर्ग क्लाइमेट डायलगमा सहभागी हुन जर्मनी गएका हुन् । उक्त संवाद चैत १२ र १३ गते आयोजना हुनेछ । संवादमा विभिन्न देशका करिब ४० जना मन्त्री सहभागी छन् । जहाँ जलवायु वित्त, पेरिस सम्झौताका लक्ष्य, जलवायु अनुकूलनलगायत विषयका कुरा कार्यान्वयन गरिने विषयमा बृहत छलफल हुनेछ ।

मन्त्री शाही चैत १५ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको नीजि सचिवालयले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully