नेपालगन्ज — नेकपा एकीकृत समाजवादीका नेता अशोक कोइरालाको निधन भएको छ । बाँकेको कोहलपुर निवासी समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहेका कोइरालाले जिल्ला इन्चार्जको जिम्मेवारीमा पनि थिए ।
तीन साताअघि पार्टीकै कामको सिलसिलामा कपिलवस्तुमा रहँदा मस्तिष्कघात भएपछि कोइराला अचेत अवस्थामा थिए ।
भैरहवामा उपचारपछि उनलाई काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो । त्यहीँ उपचारका क्रममा उनको निधन भएको नेकपा एकीकृत समाजवादी बाँकेका प्रचार विभाग सहसंयोजक लोकनाथ शर्माले जानकारी दिएका छन् ।
समाजवादीमा लाग्नु अघि विद्यार्थीकालबाटै कम्युनिस्ट आन्दोलनमा सक्रिय कोइरालाले नेकपा एमालेको विभिन्न तहमा नेतृत्व गर्दै जिल्ला अध्यक्षको जिम्मेवारी पनि बहन गरिसकेका थिए ।
कोइरालाका एक छोरा र एक छोरी रहेका छन् । उनको मंगलबार नै अन्त्येष्टि गरिने पारिवारले जनाएको छ ।
