ज्यादती गर्नेको पक्षमा उत्रियो जसपा नेपाल, रिहा गर्न भन्दै प्रदर्शन र ज्ञापनपत्र
सिरहा — औरही गाउँपालिका–५ मा महायज्ञका नाममा दलितको घरमा डोजर चलाएर परिवारकै उठीबास लगाउने गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र आयोजक बजरंगी बाबामाथि कानुनी कारबाही अघि बढिरहेकै बेला पीडितलाई मिलापत्र गर्न प्रलोभन र धम्की दिन थालिएको छ । धम्की बढेपछि त्रसित पीडित लुकेर बस्न बाध्य भएका छन् ।
स्थानीय दीपक मलिकको घर डोजर चलाएर भत्काउनुका साथै उक्त ठाउँको माटोसमेत ‘अपवित्र’ हुन्छ भन्दै ताछेर फाल्न नेतृत्व गर्नेमध्येका पालिका अध्यक्ष शिवजी र पूर्ववडाध्यक्ष दिलीप पक्राउपछि प्रहरी हिरासतमा छन् भने आयोजक बाबा फरार छन् । गत शुक्रबार पक्राउ परेका शिवजी र दिलीपमाथि जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । उक्त कसुरमा दोषी ठहर भए ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
सिरहा जिल्ला अदालतले आइतबार उनीहरूलाई हिरासतमै राखेर अनुसन्धान गर्न पहिलो पटक पाँच दिनको म्याद दिएको छ । पीडित मलिकले शनिबार जिल्ला प्रहरी सिरहामा गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरंगी बाबाविरुद्ध किटानी जाहेरी दिएका थिए । बाबाको खोजी भइरहेको र चाँडै पक्राउ पर्ने दाबी प्रहरीले गरेको छ ।
पालिका अध्यक्ष यादव आबद्ध जसपा नेपाल भने उनीहरूको संरक्षणमा उत्रिएको छ । जसपा नेपालले यादवलाई थुनामुक्त गर्न माग गर्दै आइतबार जिल्ला प्रशासनमा ज्ञापनपत्र नै बुझाएको छ । जसपा नेपालका जिल्ला अध्यक्ष तथा अर्नमा गाउँपालिका अध्यक्ष अशोककुमार यादव नेतृत्वको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बराललाई ज्ञापन बुझाएको हो ।
पीडितलाई न्याय दिन र दोषीलाई कारबाही गर्न पहल गर्नुपर्ने राजनीतिक दलले नै पीडकको पक्षमा उत्रिएर पक्राउ गरिएकालाई रिहा नगरिए आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ । तर दलितमाथि अछूत भन्दै ज्यादती गर्ने गाउँपालिका अध्यक्षमाथि कानुनी कारबाहीका लागि सघाउनुको साटो संरक्षण गरेको भन्दै आलोचना भएपछि पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले आफू उत्पीडित जातजातिको अधिकारका लागि सदैव प्रतिबद्ध रहेको बताएका छन् । अध्यक्ष यादवले निजी सचिव महेश चौरासियामार्फत सोमबार विज्ञप्ति जारी गर्दै क्षणिक लाभका लागि सामाजिक सद्भाव र सहिष्णुता भाँड्ने, व्यक्ति र संगठनको चरित्र हत्या गर्ने तथा समाजमा एकआपसमा घृणा फैलाउन नहुने उल्लेख गरेका छन् ।
पीडित परिवारलाई भने पीडकका आफन्तले भेटेरै मिलापत्रका लागि प्रलोभन र दबाब दिन थालेका छन् । पक्राउ परेकालाई म्याद थप गर्न आइतबार अदालत लगिएपछि गाउँपालिका अध्यक्ष यादवका छोरा रुकेश, ज्वाइँ इन्द्रदेव यादवलगायत निकट व्यक्तिले दीपकलाई भेटेर एक कट्ठा नम्बरी जग्गा दिने, पक्की घर बनाइदिने, खानेपानी, बिजुलीसहितको व्यवस्था गरिदिने प्रलोभन दिँदै बयान फेर्न आग्रह गरेका थिए । उनीहरूले लिखित कागज नै गरिदिने आश्वासन दिएका थिए ।
तर आफूले हुन्छ वा हुन्न केही नभनेको र पीडकहरूको घेराबन्दीबाट जसोतसो उम्किएर फर्केको दीपकले बताएका छन् । पीडकका आफन्तको दबाब थेग्न नसकेर आफू जिल्लाकै एउटा गाउँमा साथीकहाँ लुकेर बसेको दीपकले बताएका छन् । ‘हामी पीडित हौं, राज्यले न्याय दिन्छ कि दिँदैन, घर दिन्छ दिँदैन, सबै राज्यमाथि नै छाडिदिएका छौं,’ उनले भने । चैत १७ देखि हुने भनिएको महायज्ञका लागि बनाउँदै गरिएको मण्डपनजिकै मलिकको घर थियो । ३० वर्षदेखि बस्दै आएको उक्त दलित परिवारको घर ५ वर्षअघि जनता आवास कार्यक्रमअन्तर्गत बनेको थियो ।
पीडितलाई प्रलोभन दिएर मिलापत्र गराउन भइरहेको प्रयास आपत्तिजनक रहेको औरहीकै स्थानीय बासिन्दा एवं पूर्वसांसद सुरेशचन्द्र दास बताउँछन् । यस्तो बेला पीडितको संरक्षण र सहयोग गर्ने दायित्व राज्यको भएको उनको भनाइ छ । सिरहा प्रहरी प्रमुख एसपी रमेश पण्डितले घटनाको मुद्दा दर्ता भएर कानुनी प्रक्रियामा गइसकेको उल्लेख गर्दै बाह्य प्रभावबाट अनुसन्धान प्रभावित हुन नदिने दाबी गरे ।
घटनाबारे समाचार सार्वजनिक भएपछि चौतर्फी रूपमा दोषीमाथि कारबाहीको माग भइरहेको छ । संघको प्रतिनिधिसभा र मधेशको प्रदेशसभाका सांसदले घटनाप्रति आपत्ति जनाउँदै संसदीय छानबिनसहित दोषीमाथि कारबाही गर्न माग गरेका छन् । विभिन्न संघसंस्थाले पनि घटनाप्रति भर्त्सना गर्दै दलितमाथि ज्यादती गर्नेलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।
आयोजक बजरंगी बाबा, गाउँपालिका अध्यक्ष यादव र पूर्ववडाध्यक्ष यादवले बिहीबार पीडित मलिकको झुपडीमा पुगेर धम्की दिई जबर्जस्ती कागज गराएका थिए, जसमा आफ्नो घर राजीखुसीले भत्काउन दिएको उल्लेख छ । उनीहरूले थप केही नबोल्न र बोले ठीक नहुने भन्दै धम्कीसमेत दिएका थिए ।
घटनाबारे समाचार सार्वजनिक भएपछि बिहीबार बिहानै मलिकको झुपडीमा पुगेर जबर्जस्ती कागज गराएलगत्तै मलिकको परिवारलाई महायज्ञस्थल छेउमै रहेको सरकारी भवनमा लगेर गाउँपालिकाका अध्यक्ष यादव, बजरंगी बाबा र पूर्ववडाध्यक्ष यादवलगायतले ‘आफूहरू राजीखुसी त्यहाँबाट सरेको’ भन्दै भिडियोमा बोल्नसमेत लगाएका थिए । त्यसपछि भने उनीहरू एकाएक ‘सम्पर्कविहीन’ बनेका थिए । धम्की दिएर जबर्जस्ती कागज गराएकामा चौतर्फी दबाब बढेपछि प्रहरीले यादवद्वयलाई त्यसको भोलिपल्ट शुक्रबार पक्राउ गरे पनि बजरंगी बाबा अझै फरार छन् ।
मलिक परिवारलाई ५ सय मिटर पर खोलाछेउ एकान्तमा टहरा बनाएर सारिएको छ । जहाँ न खानेपानीको सुविधा छ, न बिजुली बत्ती नै । पीडित दीपक र उनकी पत्नी अनिता मलिक गाउँपालिकामै सफाइ कर्मचारीका रूपमा मजदुरी हुन् । तर काममा पनि जान सकेका छैनन् ।
