सिरहामा दलितमाथि ज्यादती घटना : सुरक्षा र घर माग्दै मुख्यमन्त्रीको शरणमा पीडित

चैत्र १२, २०८१

विनय आजाद

Atrocities against Dalits in Siraha: Victims sought refuge in the Chief Minister seeking protection and housing

सिरहा — सिरहाको औरही गाउँपालिका ५ मा महायज्ञका नाममा अछुत भन्दै ज्यादती भागेका पीडित दीपक मल्लिक मधेश प्रदेशका मुख्यमन्त्रीलाई भेटेका छन् । आफू असुरक्षित बनेको भन्दै सुरक्षाको मागसहित उनले मुख्यमन्त्री सतिशकुमार सिंहलाई भेटेका हुन् ।

दलित अगुवासहित मल्लिक मंगलबार बिहान जनकपुरस्थित मुख्यमन्त्री निवास पुगेका थिए । त्यसक्रममा उनले आफ्नो परिवारमाथि ज्यादती गर्ने गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबामाथि कानुनी कारवाही अघि बढेपछि आफूहरु असुरक्षित बनेको सुनाएका थिए ।

आफूलाई गाउँपालिका अध्यक्षका आफन्तहरुले अदालतमा गएर बयान फेर्न र मिलापत्र गर्न दबाब तथा धाकधम्की दिइरहेको भन्दै आफू लुकेर बस्न बाध्य भएको र आफूमाथि जतिखेर जे पनि हुनसक्ने गुनासा पोखेका थिए । सबै कुरा थाहा हुँदाहुँदै पनि प्रहरीले आफ्नो परिवारको सुरक्षाको विषयलाई गम्भीरतापूर्वक नलिएको उनको भनाइ छ ।

यस्तै, आफ्नो घर भत्काइएपछि अहिले आफूहरूसँग बस्ने लायक घरसमेत नभएकोले घरको व्यवस्था गरिदिन पनि उनले मुख्यमन्त्री सिंहसँग माग गरेका छन् । मुख्यमन्त्री सिंहले भने मल्लिकलाई आफूले सुरक्षा र घरका विषयमा पहल गर्ने आश्वासन दिएका छन् । 

औरहीमा आउँदो चैत १७ गतेदेखि हुने भनिएको महायज्ञका नाममा फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए ।

यस घटनामा पीडित दीपक मल्लिकले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा तीनै जनाविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका छन् । जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापन गरेको भन्दै प्रतिवादीहरूलाई कानुन बमोजिम कारवाही हुनुपर्ने र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ ।

घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष गत शुक्रबार नै पक्राउ परिसकेका छन् । उनीहरु जिल्ला प्रहरी कार्यालय, सिरहाको हिरासतमा छन् । बजरंगी बाबाको भने खोजी भइरहेको छ ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully