'आफूले बनाएको संविधानबाहिरका कुनै पनि निरंकुशता र अराजकता जनतालाई स्वीकार्य छैन'
सोलुखुम्बु — राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको भन्दै यसको विकल्प सोच्न नसकिने बताएका छन् ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान व्यवस्थामा हरेक नागरिक मालिक हुन पाउने भन्दै यसको सदृढीकरणमा सबैले जोड दिनुपर्ने बताए ।
शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई यही व्यवस्थाले दिएको उनको भनाइ छ । ‘शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित छ भन्ने महसुस गराउनुपर्ने दायित्व सरकार, राजनीतिक दललगायत हामी सबैको हो,’ उनले भने ।
स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको भन्दै उनले नेपाली जनतालाई आफूले बनाएको संविधानबाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने बताए । ‘इतिहास साक्षी छ- १०४ वर्षीय जहानियाँ राणा शासन होस् कि ३० वर्षे पञ्चायत वा सक्रिय राजतन्त्र, नेपाली जनताले कुनै पनि निरंकुशताका नाम र अवशेषलाई रुचाएनन्,' उनले भने, 'संघीय लोकतान्त्रिक गणतन्त्र हामीले त्यसै प्राप्त गरेका होइनौं । यो हजारौंको त्याग, संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि हो ।’
