प्रधानमन्त्री ओली चैत १९ गते थाइल्यान्ड जाने

चैत्र ११, २०८१

कान्तिपुर संवाददाता

Prime Minister Oli will go to Thailand on March 19

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली यही चैत १९ गते थाइल्यान्ड भ्रमणमा जाने भएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेतृत्वको टोली बैंकक जान लागेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण कार्यक्रम स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यही चैत १९ देखि २३ गतेसम्म थाइल्यान्डको राजधानी बैंककमा बिमस्टेक बैठक बस्दै छ । बैठकमा परराष्ट्रमन्त्री आरजु राणालगायतका मन्त्रीहरू पनि सहभागी हुनेछन् । बैठकका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरूसँग द्विपक्षीय भेटवार्ता हुने पनि जनाइएको छ । 

सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा नेपाल सन् २००४ मा सदस्य बनेको थियो ।बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य रहेका छन् ।

पाँचौँ शिखर सम्मेलन श्रीलंकाको कोलम्बोमा आयोजना भएको थियो भने सन् २०१८ मा नेपालले चौथो शिखर सम्मेलन आयोजना गरेको थियो । बिमस्टेकलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विकल्पका रूपमा भारतले अघि सारेको क्षेत्रीय संगठनको रूपमा लिइन्छ । यसमा सार्कमा रहेका पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स भने सामेल छैनन् ।

कान्तिपुर संवाददाता

Link copied successfully