विराटनगर — एमालेनिकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले मतदानको समय नराखी तालिका सार्वजनिक गरेपछि मतदाता नै छक्क परेका छन् ।
निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले सोमबार २ बजेसम्मको समयावधिमा मतदाता नामावली प्रकाशन, दाबी विरोध, जाँचबुझ र अन्तिम नामावली प्रकाशनका प्रक्रिया तोक्दै समय तालिका सार्वजनिक गरेका हुन् ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारको मनोनयनको समय २:४५ बजे, उम्मेदवारको नामावली प्रकाशन ३ बजे, उम्मेदवारमाथि दाबी विरोध ३:१० बजे र अन्तिम नामावली प्रकाशन दिउँसो ४ बजे तय गरिएको छ । उम्मेदवारी फिर्ता लिने समय ४:१५ बजे र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय ४:२० बजेका लागि तोकिएको छ ।
‘मतदानको कुनै कार्यक्रम नराखी, निर्वाचन परिणाम घोषणाको समय तय गरिनु अलोकतान्त्रिक हो,’ चौतारीका एक सदस्यले आक्रोश पोखे,‘लोकतान्त्रिक भनिएको संगठनमा यस्तो गैरलोकतान्त्रिक हर्कत सह्य हुँदैन ।’
प्रेस चौतारीको नयाँ नेतृत्वको चयनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको ठाडो हस्तक्षेप रहेको बताइएको छ । गणेश पाण्डेलाई अध्यक्ष बनाउने ओलीको मनसाय छ । उनकै नेतृत्वमा नयाँ टिम घोषणा हुने संकेत निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाबाट पनि प्रस्ट हुन्छ ।
अध्यक्ष पदमा दाबी गरिरहेका राजेश राई पक्षले भने निर्वाचनको माग छाडेका छैनन् । यदि निर्वाचन प्रक्रिया पूरा नगरिए समानान्तर कमिटी गठन गर्ने चेतावनी उनीहरूको छ । नयाँ नेतृत्व चयनका लागि निर्वाचनको माग गर्दै महाधिवेशन प्रतिनिधिले उद्घाटन सत्रपछि आइतबार हस्ताक्षर संकलन गर्न थालनी गरेका थिए ।
९औं महाधिवेशनमा पनि राई र पाण्डे दुवै अध्यक्ष पदका आकांक्षी थिए । तर शीर्ष नेतृत्वको निर्देशनअनुसार अन्तिम समयमा गणेश बस्नेतको नेतृत्वमा राई र पाण्डे उपाध्यक्ष रहने गरी समिति गठन भएको थियो । पाण्डे एमाले केद्रीय प्रचार विभागको सचिवको जिम्मेवारीमा छन् । तसर्थ राई स्वाभाविक रूपमा अध्यक्ष पदका प्रमुख दाबेदार बनेका हुन् । तर, चैत ८ मा राजीनामा दिएर पाण्डे अध्यक्षको दौडमा उभिएका हुन् । एमाले अध्यक्ष ओलीले पाण्डेलाई अध्यक्ष र ओलीका पूर्व प्रेस संयोजक चेतन अधिकारीलाई महासचिव बनाउन ठाडो निर्देशन दिएका छन् ।
सम्मेलन उद्घाटनमा आएका महासचिव शंकर पोखरेलले पाण्डेलाई सहयोग गर्न राईलाई निर्देशन दिएका थिए । तर, राईले प्रतिस्पर्धामा जाने अनुमति दिनुपर्ने माग गरेका थिए । पोखरेलको सहमतिको आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएपछि आक्रोशित प्रतिनिधिले हस्ताक्षर अभियान थालेका थिए ।
