नेपालको विषयमा जनताले निर्णय गर्ने हो, बाहिरबाट परिवर्तन सम्भव छैन : कांग्र‍ेस

चैत्र १०, २०८१

कान्तिपुर संवाददाता

People will decide about Nepal, change from outside is not possible: Congress

काठमाडौँ — सत्तारुढ कांग्रेसले‍ नेपालको विषयमा नेपाली जनताले निर्णय गर्ने बताएको छ । संविधानले नै नेपाली जनताले आफ्नो बारेमा निर्णय लिने कुरा स्पष्ट पारेकाले बाहिरबाट परिवर्तन खोज्ने कुरा सम्भव नभएको कांग्रेसको ठहर छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बाहिरबाट आउने परिवर्तन नेपालमा कार्यान्वयनको सम्भावना नरहेको बताएका हुन् । 

भारतले राजावादीहरूलाई उक्साएर अहिले नेपालमा प्रदर्शन गराउने कार्य गराइरहेको हो भन्ने विषयमा सोधिएको प्रश्नको जवाफमा महतले नेपालको विषयमा नेपाली जनताबाट निर्णय हुने बताएका थिए । ‘नेपालको विषयमा हामी नेपाली जनताले निर्णय गर्ने हो, निर्णय गरिसकेको छ । नेपाली जनताले अब आवधिक रुपमा निर्वाचन गर्ने पद्धति ल्याउनुभएको छ । निर्वाचित सांसद आउँछन् । जे गर्नुपर्ने हो, निर्णय हुन्छ । हामीले कतिपय विषयवस्तु संविधान संशोधनको विषय पनि सरकारले कुरा गरेको छ । भोलिको दिनमा कुन-कुन विषयमा संविधान संशोधन गर्नुपर्छ, त्यस विषयमा हामी कुरा गर्नेछौँ । बाहिरबाट परिवर्तन आउने भनेको सम्भव छैन,' उनले भने ।

त्यस्तै, कांग्रेसले संविधान कार्यान्वयनको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको छ । सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधानसभाबाट बनेको संविधानको पूर्ण कार्यान्वयन गर्दै संविधानप्रति पूर्ण प्रतिबद्धता जाहेर गर्ने निर्णय गरेको महतले जानकारी दिए । उनले संघीय लोकतान्त्रिक संविधानमार्फत नै जनताका आवश्यकता, समस्या र महत्वकांक्षालाई सम्बोधन गर्न सकिने कांग्रेसको विश्वास रहेको बताए । 

‘सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधानसभाबाट बनेको संविधानको जुन गणतान्त्रिक संघीय संविधान बनेको छ, यसप्रति पूर्ण प्रतिवद्धता जाहेर गरेको छ । यस संघीय लोकतान्त्रिक संविधानमार्फत नै जनताका आवश्यकता, समस्या र महत्वकांक्षालाई सम्बोधन गर्न सकिने पनि विश्वास व्यक्त गरेको छ,' महतले भने ।

कांग्रेसले बैठकमा समसायिक राजनीतिक विषयमा पनि छलफल गरेको छ । सरकारले प्रभावकारी ढंगबाट काम गर्नुपर्ने, जनताका आवश्यकता पूरा गर्न कमजोरी गर्न नहुने बारेमा पनि छलफल भएको बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully