काठमाडौँ — खानेपानीमन्त्री प्रदीप यादवले नेपाललाई खानेपानी व्यवस्थापनको सफल नमुना राष्ट्र बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले नेपाल प्राकृतिक रूपमा जलस्रोतमा धनी राष्ट्र भए पनि पानी व्यवस्थापन, स्वच्छता तथा पहुँचमा अझै चुनौती कायमै रहेको बताए ।
विश्व खानेपानी दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री यादवले खानेपानी व्यवस्थापनमा रणनीतिक योजनामार्फत विज्ञसँग छलफल गरी बजेटमा प्रभावकारी नीति तथा कार्यक्रमको व्यवस्था गरिने प्रतिबद्धता जनाए ।
'नेपाल प्राकृतिक रूपमा जलस्रोतमा धनी राष्ट्र भएपनि पानी व्यवस्थापन, स्वच्छता तथा पहुँचमा अझै चुनौती कायमै छन् । सन् १९९३ देखि हरेक वर्ष २२ मार्चमा मनाइँदै आएको विश्व पानी दिवसले स्वच्छ पानीको सुनिश्चितताका लागि विश्वव्यापी प्रतिबद्धता पुन: दोहोर्याउने अवसर प्रदान गरेको छ, उनले भने, 'सरकारको नीति तथा कार्यक्रमलाई वैज्ञानिक र नवप्रवर्तन युग समाधानसँग एकीकृत गर्दै कार्यान्वयन गरिँदैछ । जलस्रोतको संरक्षण र उचित उपयोग प्रविधि हस्तान्तरण तथा खानेपानी तथा सरसफाईमा समान पहुँच सुनिश्चित गर्न सरकारले प्रभाकारी नीति कार्यक्रमलाई प्राथमिकता दिनेछ । सुरक्षित खानेपानी र सरसफाईलाई दीगो बनाउन निजी क्षेत्र, गैरसरकारी संस्था तथा विकास साझेदारसँग सहकार्य गर्दै लैजाने सरकारको रणनीति छ ।'
सरकारको आगामी बजेटका सम्बन्धमा सरोकारवाला सबैसँग छलफल गरेर निर्माण गरिने यादवले बताए । खानेपानी क्षेत्रमा फड्को मार्ने र नागरिकलाई स्वस्थ तथा शुद्ध खानेपानी कसरी दिने ? भन्नेमा विज्ञ तगा सरोकारवाला सबैसँग छलफल गरेर अघि बढ्ने उनको भनाइ थियो ।
मन्त्री यादवले जलवायु परिवर्तका कारण हिमनदीमा परेका प्रभावले खानेपानी, कृषि, जलविद्युतमा असर गरेकाले हिमनदीको संरक्षण गर्न जरुरी भएको बताए । उनले संविधानले प्रत्याभूत गरेको मौलिक हक अनुसार स्वच्छ खानेपानी र सरसफाइको सुनिश्चितता गर्न कटिबद्ध रहेको बताए ।
