पानीको सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हाँसिल गर्नसक्छ : ऊर्जामन्त्री खड्का

चैत्र ९, २०८१

कान्तिपुर संवाददाता

The country can achieve revolutionary prosperity through proper use of water: Energy Minister Khadka

काठमाडौँ — ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हाँसिल गर्नसक्ने दाबी गरेका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पानीको सदुपयोगमा लाग्नु आजको आवश्यक भएको बताए ।

ऊर्जामन्त्री खड्काले पानी दैनिक जीवनको मात्र नभइ आर्थिक समृद्धिको वाहक भएको बताए । उनले पानीको प्रयोग गरेर देशलाई समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताए । जलस्रोत नेपालको संस्कृति, सभ्यता र आर्थिक विकासको मेरुदण्ड  भएको बताउँदै उनले जलवायु परिवर्तनका कारण विश्व पानी चक्रमा नै परिवर्तन आएको धारणा राखे ।

‘पानीको सही सदुपयोगमा लाग्नु आजको आवश्यकता हो । यसको सही उपयोग गर्नु आजको आवश्यकता हो । यो एउटा स्रोत पनि हो । दैनिकी जीवनमा मात्रै होइन, मुलुकको आर्थिक समृद्धिका लागि पनि यो स्रोत अत्यन्त ठूलो अत्यन्त ठूलो उपयोगी छ,' खड्काले भने, 'नेपालका लागि क्रान्तिकारी आर्थिक समृद्धितर्फ पानीको प्रयोग गरेर समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने लक्ष्य लिएर अघि बढिरहेका छौँ ।’

मन्त्री खड्काले बेमौसमी वर्षाले कृषि क्षेत्रमा धेरै असर पुगेको र त्यसले जलस्रोत व्यवस्थापन र भविष्यको जल सुरक्षामा गम्भीर चुनौति उत्पन्न गरेको बताए । 

त्यस्तै, नेपालको संविधानले संघ, प्रदेश र स्थानीय गरी तीनवटै तहलाई जलस्रोतको समुचित प्रयोग र संरक्षणको जिम्मेवारी दिएको तथा राष्ट्रिय जलस्रोत नीति–२०७७ ले मुलुकको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि अधिकतम् उपयोगमा जोड दिएको जानकारी दिए । हिमालय पर्वत शृंखलाबाट उत्पन्न नदी तथा हिमनदीले देशको ऊर्जा, कृषि, पर्यटन र जैविक विविधताको आधार निर्माण गरेको उनको भनाइ थियो । 

जलवायु परिवर्तनका असरलाई घटाउँदै जलस्रोतको दिगो उपयोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीलाई विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।  

कान्तिपुर संवाददाता

Link copied successfully