ताप्लेजुङ — माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री जनार्दन शर्माले पाथीभरा केबलकारको विवाद वार्ता र संवादबाट टुंग्याउनु पर्ने बताएका छन्। फक्ताङलुङ गाउँ कमिटीको पालिका अधिवेशनका लागि ताप्लेजुङ आएका शर्माले शनिबार बिहान सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।
उनले केबलकार विवाद समाधानका लागि सरकारले वार्ताको पहल गरिरहेको देखिएको उल्लेख गर्दै त्यसलाई अझै गति दिनु पर्नेमा जोड दिए। 'सरकारले वार्ताको पहल गरिरहेको पाएको छु,' शर्माले भने, 'यसको समाधान वार्ता र संवादबाटै निकाल्नुपर्छ र छिट्टै टुंग्याउनु पर्छ।'
ऊर्जा मन्त्रालयका निर्देशक कुलमान घिसिङप्रति सरकारले गरिरहेको व्यवहारबारे टिप्पणी गर्दै उनले त्यो गलत रहेको बताए। 'हाम्रोमा कसले कहिले नियुक्ति गर्यो भनेर अनावश्यक टिप्पणी गरिन्छ,' उनले भने, 'यो राम्रो प्रवृत्ति होइन। राम्रो काम गर्नेलाई राम्रो भन्न सक्नुपर्छ।'
शर्माले घिसिङको खुलेरै प्रशंसा नगरे पनि आफू ऊर्जा मन्त्री हुँदा नेपाललाई लोडसेडिङमुक्त गराएको स्मरण गराउँदै त्यस समय ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। 'मेरो भिजन कार्यान्वयन गर्नेमा अनुपकुमारजी निकै सक्षम हुनुहुन्थ्यो,' उनले भने, 'हामीले धेरै साथीहरूको टिम बनाएर ऊर्जा क्षेत्रमा सुधारका लागि काम गर्यौँ र कुलमानजीलाई नियुक्त गर्यौँ। यसलाई सबैले सकारात्मक रूपमा लिएका छन्।'
आफू अर्थमन्त्री हुँदा छ अर्ब रुपैयाँ छुट्याएर सुरु गरेको तमोर करिडोरको प्रगति देखेर उत्साहित भएको उनले बताए। धरानबाट ताप्लेजुङ जाँदा यही मार्ग प्रयोग गरेका उनले पूर्वी नेपालमा यस सडकले ठूलो अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।
