कांग्रेस–कम्युनिष्टको शासन रहेसम्म देश विकास हुँदैन : यादव

चैत्र ९, २०८१

सन्जु पौडेल

Country will not develop as long as Congress-Communists rule: Yadav

तिलोत्तमा — जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–कम्युनिष्टको हातमा शासन र शक्ति रहेसम्म यो देशको विकास हुन नसक्ने दाबी गरेका छन् । उनले नेपालमा धेरै सम्भावना र संसारकै विकसित देश बन्ने आधार हुँदाहुँदै पनि कांग्रेस–कम्युनिष्टकै कारण देशको अवस्था यस्तो बनेको बताए । 

भैरहवामा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले विगत ३५ वर्षदेखि यो मुलुकको शासन गरेका कांग्रेस–कम्युनिष्टले देशको अर्थतन्त्र धरासायी बनाएको तथा कृषि, उद्योगको विकास र शिक्षा तथा स्वास्थ्यमा सुधार गर्न नसकेको आरोप लगाए । ‘३५ वर्ष कम समय होइन, तर गरिबी तथा रोजगारीको समस्या समाधान हुन सकेन,' उनले भने,  'जिम्मेवारी कसले लिन्छ ? शासकले भ्रष्टाचारलाई घटाउनु सट्टा बढाइरहेका छन् ।'

पूर्वउपप्रधानमन्त्री रहेका यादवले कांग्रेस–कम्युनिष्टको शासनमा भ्रष्टाचार र कमिसनतन्त्र बढेको भन्दै दलीय राजनीतिमा भ्रष्टाचारीलाई जोगाउँदा मुलुकको आर्थिक स्थिति खस्केको बताए । नेपालको अर्थतन्त्र मजबुत बनाउन कृषिको विकास आवश्यक भएको उनको भनाइ छ ।

यादवले कृषिमा लागेका किसानलाई अग्रसर गराएर आयात रोकन सकेपनि अर्थतन्त्रमा सुधार हुने बताए ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully