सिरहा — महायज्ञका नाममा दलित परिवारलाई अछुत भन्दै ज्यादती गरेको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि यादव परिवारले पीडितलाई धाकधम्की दिएका छन्। अध्यक्ष यादवका छोरा रुकेश यादव शुक्रबार साँझ घरमै पुगेर पीडितलाई धम्क्याएका हुन्।
अध्यक्ष यादव पक्राउ परेपछि रुकेश एक समूह लिएर शुक्रबार साँझ साढे ८ बजेतिर पीडित दीपक मल्लिकको घर पुगेका थिए । रुपेशले पीडित परिवारलाई आफूहरुसँगै सिरहा हिँड्न र जिल्ला प्रहरी कार्यालयमा गएर केही भएको होइन भन्ने बयान दिन भनेका थिए ।
तर, नमानेपछि धाकधम्की दिँदा डरले पीडित परिवार रातभर आफन्तकहाँ गएर शरण लिएर बसेका छन् । दीपक आफैं गाउँकै एक आफन्तकहाँ गएर शरण लिए भने उनकी पत्नी अनिता छिमेकी गाउँ सन्हैठास्थित आफन्तकहाँ गएकी छन् ।
‘अध्यक्षजीको मान्छेहरु आएर सिरहा जान भन्नुभो, नमानेपछि धाकधम्की दिनुभो,’ दीपकले कान्तिपुरसित भने, ‘हामी बिलबन्दमा पर्यौं, राति नै घर छाडेर आफन्तकहाँ गएर बस्यौं ।’ उनीहरुका बालबच्चा भने प्रहरीको सुरक्षाबीच घरमै सुते ।
सुरक्षाको दृष्टिकोणले पीडित परिवारलाई सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले बताए । ‘नागरिकलाई सुरक्षा दिने हाम्रो काम हो,’ पण्डितले कान्तिपुरसित भने, ‘जसरी घटनाक्रम विकास भएको छ, त्यसलाई मध्यनजर गर्दै पीडितलाई सुरक्षा दिइरहेका छौं ।’
यता, गाउँपालिका अध्यक्षका छोरा रुकेशले भने आफू पीडितको घर नगएको दाबी गरे । ‘म जनकपुर थिएँ, राति नै आएँ,’ आात्तिदै उनले भने, ‘पीडितको घर गएको छैन, अहिले पनि म सिरहामा छु ।’
