आश्रममा करिब एक सय जना अपहेलित, परिवारविहीन र असहाय वृद्धवृद्धा आश्रित
विराटनगर — विराटनगर महानगरपालिका–१२ का अवकाशप्राप्त ८४ वर्षीय शिक्षक जगतप्रसाद अर्यालले ५/५रुपैयाँ उठाएर वृद्धाश्रम बनाएका छन् । करिब ४२ वर्ष शिक्षण पेसामा समर्पित उनले बुढेसकालमा दुःख पाएका र बेवारिस रूपमा सडकमा भौतारिरहेका असहायका लागि आश्रयस्थल बनाएका हुन् ।
‘अपहेलित, असहाय, अशक्त र परिवारविहीनका लागि घर निर्माणार्थ ५ रुपैयाँ’ अभियानमार्फत ८ वर्षको अवधिमा ४ लाख ९२ हजार ९०३ जनाबाट करिब ६३ लाख सहयोग संकलन गरेर आश्रयस्थल बनाएका हुन् । पूर्वशिक्षक अर्यालले विराटनगर महानगरपालिका–८ स्थित बलुवाइ गाउँमा १२ कट्ठा जमिन खरिद गरेर वृद्धाश्रम निर्माण गरेका छन् ।
देशव्यापी रूपमा ५ रुपैयाँ माग्दै हिँडेका उनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि ५ रुपैयाँ उठाएका थिए । उनलाई नेपालमा बसोबास गर्नेले मात्रै नभएर विदेशमा बस्ने १ हजार ७ सय ३३ जनाले पनि सहयोग गरेका थिए । विदेशमा बसोबास गरिरहेका नेपालीले भने पाँच डलरका दरले सहयोग गरेको उनले बताए । अभियानको सुरुआत उनले एक थोत्रो साइकल पछाडि राखिएको टिनको सन्दुकमा बिनासंकोच सहयोगको याचना गर्दै गरेका थिए । ‘बहुला मास्टर भनेर खिसीटिउरी गर्थे । समाजले धेरै सहयोग गर्छ भन्ने आशा त थिएन तर आफन्तले समेत पत्याएका थिएनन्,’ उनले भने ।
आश्रयस्थल निर्माण अर्यालका लागि सत्कर्म मात्रै नभएर संकल्प थियो, जसले उनलाई समाजबाट अपहेलित र असहाय वर्गको मद्दत गर्न प्रेरित गर्यो । अहिले आश्रममा करिब एक सय जना अपहेलित, परिवारविहीन र असहाय वृद्धवृद्धा आश्रित छन् । उनको प्रमुख उद्देश्य यी वृद्धवृद्धाहरूको हिफाजत र स्वास्थ्यको ध्यान राख्नु हो । त्यसका लागि उनले खाना, बास र उपचारको सबै प्रकारको व्यवस्था मिलाएका छन् । अर्यालका अनुसार पाँच रुपैयाँ उठाएर उनले आश्रमका लागि जग्गा जोडेर जग हालेपछि थुप्रै मनकारीले घर बनाउन सहयोग गरेका थिए । ‘कसैले एउटा कोठाको जिम्मा लिनुभयो । कसैले भवनकै जिम्मा लिनुभयो । कांग्रेस नेता शेखर कोइरालाले पनि एउटा कोठा बनाइदिनुभएको हो,’ उनले भने, ‘हाल आश्रमको कुल सम्पत्ति करिब २५ करोड रुपैयाँ बराबरको छ । त्यो सबै आश्रमकै नाममा छ ।’
अर्यालको परिश्रम र समर्पणले आज उनलाई समाजमा सम्मान र प्रशंसा दिलाएको छ । पहिले उनको खिसीटिउरी गर्नेहरू धेरै थिए भने अहिले सार्वजनिक कार्यक्रम आयोजना गरेर सम्मान गर्ने गर्छन् । ‘मलाई पत्याएका थिएनन्, काम गरेर देखाइदिएँ । कर्मभन्दा ठूलो केही हैन,’ उनले भने ।
वृद्धाश्रमको साथमा उनले १५ शय्याको एक अस्पताल पनि निर्माण गरिरहेका छन् । अस्पतालको मुख्य उद्देश्य वृद्धवृद्धाको निःशुल्क उपचार गर्नु रहेको छ । अस्पताल निर्माणमा करिब ३५ लाख रुपैयाँ खर्च भइसकेको छ । ‘सम्पन्न गर्न अझै धेरै काम बाँकी नै छ । अस्पताल निर्माणमा पनि मैले जनसहभागिताबाटै रकम जुटाएको हुँ,’ अर्यालले भने, ‘जनताले जनताका लागि जनताद्वारा नै बनाइने अस्पताल हो यो ।’
अर्यालले आश्रमका वृद्धवृद्धाहरूको सेवा र हेरचाहका लागि निरन्तर परिश्रम गर्दै आएका छन् । वृद्धाश्रम, अस्पताल बनाइसक्दा पनि उनी थाकेका छैनन् । उनी अब पार्क बनाउने योजनामा जुटेका छन् । अमेरिकामा छोरा र बुहारीलाई भेट्न गएका बखत अर्यालले त्यहाँ बस्दा पार्क बनाउने नयाँ योजना बुनेका हुन् । अमेरिकामा रमाइला र सफा पार्कहरू देखेर उनले महानगरमा पनि त्यस्तै पार्क निर्माण गर्ने चाहना राखेका छन् । ‘तीनपुस्ते नेसनल लिबर्टी पार्क’ निर्माणको योजनासाथ उनी पुनः सहयोग संकलनमा जुटेका छन् । यसका लागि उनले पुनः ५ रुपैयाँ अभियानमा सक्रियता देखाउँदै साइकलमा टिनको बोर्ड टाँसेर रकम संकलन गर्दै हिँडिरहेका छन् । उनी ८४ वर्षको उमेरमा पार्क निर्माणका लागि ५ रुपैयाँ अभियानमा जुटेका छन् र यसका लागि अहिलेसम्म ४ लाख रुपैयाँ संकलन पनि गरिसकेका छन् । पार्क निर्माणका लागि उनले एक बिघा जमिन खरिद गर्ने योजना पनि बनाएका छन् ।
