काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद हिमनदी (ग्लेसियर) संरक्षणका उपायबारे बताउने फोरम भएको बताएका छन् ।
पहिलो पटक मार्च २१ मा मनाउन लागिएको ‘विश्व हिमनदी दिवस’ को अवसरमा प्रधामन्त्री ओलीले नेपालको यसको भाग हुन पाएकोमा खुसी व्यक्त गरेका छन् ।
‘म संयुक्त राष्ट्रद्वारा निर्णय गरिएको अनुसार २०२५ विश्व हिमनदी दिवसको हिस्सा हुन पाउँदा खुशी छु,’ उनले सन्देशमार्फत भनेका छन्, ‘सगरमाथा संवाद अन्तर्राष्ट्रिय संवाद हो । त्यसैले नेपालले आयोजना गर्ने यो संवाद हिम नदीको संरक्षणका उपाय निकाल्ने लक्ष्य राख्दछ ।’
सोही सन्दर्भमा ओलीले अन्तर्राष्ट्रिय सरोकारावाला निकायलाई यस संवादको सम्पूर्ण प्रकृया र यसमा सहभागी हुन आमन्त्रण गरेका छन् ।
‘हिमनदी मानिस, जनावर र बिरुवाका लागि जीवनका स्रोत हुन् । हिमनदीले लाखौं मानिसहरूको जीवन बचाएको छ । यो हाम्रो जीवनको आशाका हुन्,’ उनले भने, ‘नेपालका हिमनदीहरू विश्वभर तेस्रो ध्रुव र पानीको टावरका रूपमा प्रसिद्ध छन् । त्यसैले हिमनदीलाई बचाऔं र आफूलाई बचाऔं ।’
