महायज्ञका नाममा दलितको उठीबास : आफ्नै घरमा डोजर लगाउन सहमति दिएको कागजमा जबर्जस्ती गराइयो हस्ताक्षर

मधेश प्रदेशसभादेखि प्रतिनिधिसभासम्म विरोध

चैत्र ८, २०८१

विनय आजाद

Dalit uprising in the name of Mahayagya: To install dozers in their own houses Consent papers were forced to sign

सिरहा — सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा दलित परिवारको घरमा डोजर चलाएर उठीबास गराएको घटनाप्रति संघीय संसद्का सांसद, प्रदेशसभाका सांसददेखि विभिन्न संघसंस्थासम्मले आपत्ति जनाएका छन् । उनीहरूले संसदीय छानबिन समिति गठन र दोषीमाथि कारबाहीको मागसमेत गरेका छन् ।

दोषीमाथि कारबाहीको माग भइरहेकै बेला ज्यादती गर्ने आयोजक, गाउँपालिकाका अध्यक्ष र पूर्ववडाध्यक्षले बिहीबार पीडित दीपक मलिक डोमको झुपडीमा पुगेर धम्की दिई जबर्जस्ती कागज गराएका छन् जसमा आफ्नो घर राजीखुसीले भत्काउन दिएको उल्लेख छ । उनीहरूले थप केही नबोल्न र बोले ठीक नहुने भन्दै धम्की दिएपछि पीडित परिवार त्रासमा छ । घटनाबारे समाचार सार्वजनिक भएपछि बिहीबार बिहानै दीपकको झुपडीमा पुगेर जबर्जस्ती कागज गराएका आयोजक बजरंगी बाबा, गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव त्यसपछि भने फरार छन् ।

बिहीबार बिहान कागजमा जबर्जस्ती हस्ताक्षर गर्न लगाइए पनि मिति फागुन ११ को राखिएको छ । तर दीपकको घर फागुन १० मै भत्काइएको थियो । दर्ता नम्बर पनि केरेर सच्याइएको छ । सुरुमा ‘१६३६’ लेखिएको दर्ता नम्बरमाथि नै केरेर ‘१५३६’ बनाइएको छ । दर्ता चलानी गर्दा लगाउनुपर्ने गाउँपालिकाको छाप पनि लगाइएको छैन । मिति एक महिनाअघिको राखिए पनि कागज बिहीबार मात्रै गरिएको गाउँपालिकाकै एक कर्मचारीले बताएका छन् । ‘हतारहतार कागज गराउनुपरेकाले छाप लगाउन छुटेको छ, केरमेटसमेत गर्नुपरेको हो,’ ती कर्मचारी भन्छन् । 

Dalit uprising in the name of Mahayagya: To install dozers in their own houses Consent papers were forced to signसिरहाको औरही–५ मा महायज्ञस्थल पवित्र बनाउने भन्दै घर डोजर लगाएर भत्काइएपछि विस्थापित भएका दलित दीपक मलिकलाई बिहीबार महायज्ञका आयोजक बजरंगी बाबा, गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवले धम्की दिई जबर्जस्ती गराएको कागज जसमा दीपकले आफ्नो घर राजीखुसीले भत्काउन दिएको उल्लेख छ (बायाँ) । अघिल्लो दिन भने उनले आफू अत्याचारमा परेको भन्दै दलित आयोगमा उजुरी दिन पत्रको मस्यौदा तयार गराएका थिए (दायाँ) ।

धम्की दिएर जबर्जस्ती कागज गराएलगत्तै दीपकको परिवारलाई महायज्ञस्थल छेउमै रहेको सरकारी भवनमा लगेर गाउँपालिकाका अध्यक्ष यादव, बजरंगी बाबा र पूर्ववडाध्यक्ष यादवलगायतले ‘आफूहरू राजीखुसी त्यहाँबाट सरेको’ भन्दै भिडियोमा बोल्नसमेत लगाएका थिए ।

महायज्ञ गर्न बनाइएको मण्डप नजिकै रहेको दीपकको घर प्रधानमन्त्री आवास कार्यक्रमअन्तर्गत ५ वर्षअघि निर्माण गरिएको थियो । दलितको बसोबास र आउजाउले महायज्ञ अपवित्र हुने भन्दै बजरंगी बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष यादवले दीपकको घरमा डोजर मात्र चलाएनन्, घर रहेको ठाउँको माटोसमेत ‘अछूत’ हुने भन्दै ताछेर फाल्न लगाएका थिए । दलित परिवारलाई उठीबास लगाएर ५ सय मिटर पर खोलानजिक एकान्तमा झुपडी बनाएर बस्न लगाइएको छ । 

गाउँपालिकाका अध्यक्षकै नेतृत्वमा जातीय विभेदपूर्ण व्यवहार गरी गैरकानुनी हर्कत र अन्याय भइरहँदासमेत मौन रहेका स्थानीय अगुवा र प्रहरीले उक्त घटनाबारे समाचार आएपछि बिहीबार भने सक्रियता बढाएका छन् । 

गाउँपालिकाको अध्यक्षकै नेतृत्वमा छुवाछूत र विभेदको घटना भएको सार्वजनिक भएपछि त्यसबारे थप जानकारी लिन सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डित पनि पुगेका थिए । प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख आउने जानकारी पाएसँगै गाउँपालिकाका अध्यक्षसहित तथाकथित बाबा र पूर्ववडाध्यक्ष सम्पर्कविहीन भएका थिए । जिल्ला प्रहरी प्रमुख नै घटनास्थल पुगे पनि आरोपीहरूसँग भने सम्पर्क नभएको बताए । ‘घटनास्थलमै गएर बुझ्यौं, थप बुझिरहेका छौं,’ एसपी पण्डित भन्छन्, ‘अहिलेसम्म कुनै उजुरी आएको छैन ।’

पीडित परिवारले भने यस विषयमा बोल्दा थप समस्या हुने भन्दै अब आफूहरूलाई केही नसोधिदिन आग्रह गरेको छ । ‘यस विषयमा अब हामीलाई धेरै नसोधिदिनुस्,’ दीपककी पत्नी अनिता मलिकले भनिन्, ‘हामीलाई भगाएर पठाइएको यो तेस्रो ठाउँ हो, अछूत भनेर समाजले हामीलाई भगाइरहन्छ, हामीलाई कसैले मान्छे गन्दैन, धेरै बोल्दा थप समस्या हुन्छ ।’ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उदित्यनारायण कर्णले यो विषय आफूसँग सम्बन्धित नभएकाले आफू जानकार नरहेको भन्दै पन्छिए । 

प्रदेशसभामा पनि कारबाहीको माग

यस्तै मधेश प्रदेशसभाका सांसदले पनि घटनामा संलग्न जनप्रतिनिधिलगायत माथि कडा कारबाही हुनुपर्ने माग गरेका छन् । प्रदेशसभाको बिहीबारको बैठकमा बोल्दै उनीहरूले घटना निन्दनीय भएको भन्दै भर्त्सनासमेत गरेका छन् ।

शून्य समयमा बोल्दै सांसद नीलमकुमारी रजकले कुनै पनि नाममा दलितको घर भत्काउने र उठीबास लगाउनेलाई कडा कारबाही हुनुपर्ने माग गरिन् । ‘यज्ञको नाममा दलित परिवारमाथि अन्याय गरिएको छ,’ रजकले भनिन्,‘उठीबास गराउनेलाई कानुनबमोजिम कारबाहीको माग गर्छु ।’

माले सांसद लखन दास तत्माले दलितमाथि पटक–पटक ज्यादती हुँदा पनि प्रदेश सरकार मौन बसेको आरोप लगाए । ‘३० वर्षदेखि बसोबास गरिरहेको दलित परिवारलाई उठीबास गराउनु अमानवीय काम भएको छ,’ सांसद तत्माले भने, ‘छुवाछूतलाई मलजल गर्ने सबै व्यक्तिलाई कारबाही हुनुपर्छ ।’

माओवादी सांसद मालाकुमारी कर्णले गाउँपालिकाका अध्यक्षलगायत केही व्यक्तिले महायज्ञका नाममा दलित परिवारको उठीबास लगाउनु अमानवीय काम भएको बताउँदै दोषीमाथि कारबाही हुनुपर्ने बताइन् । जसपाकी सांसद ललिता दासले रिंकु सदाको घटना सेलाउन नपाउँदै सिरहामै दलितको घर उजाड पारिएकामा आपत्ति जनाइन् ।

राष्ट्रिय मानवअधिकार आयोग मधेश प्रदेश कार्यालयले पनि औरहीमा दलित परिवारमाथि भएको ज्यादतीको घटनामा चासो देखाएको छ । आयोगका प्रदेश प्रमुख बुद्धनारायण सहनीले अनुगमन र अनुसन्धान थालिएको बताए । ‘घटनाको अनुगमन र अनुसन्धान गर्न एक टोली बिहीबार नै घटनास्थल पुगेको छ,’ उनले भने, ‘घटनाबारे जानकारी गराउन जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय र औरही गाउँपालिकालाई पत्राचार गरिसकिएको छ ।’

यस्तै राष्ट्रिय दलित आयोगले घटनाका दोषीमाथि कानुनी कारबाही गर्नेबारे प्रक्रिया सुरु गरिएको जनाएको छ । ‘घटनाबारे समाचार पढ्नेबित्तिकै हामीले सत्यतथ्य जाँचबुझ गर्न सिरहा प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई भनेका छौं,’ दलित आयोगका सदस्य सुन्दर पुर्कुटीले भने, ‘अनुसन्धानमा दोषी देखिनेलाई कानुनी कारबाहीका लागि अघि बढ्ने योजनामा छौं ।’

– साथमा अजित तिवारी (जनकपुर)

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully