काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले विमानस्थलमा यात्रु सेवा शुल्कमा छुट, ग्राउण्ड ह्यान्डलिङ, ल्याण्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा छुट तथा प्रोत्साहनका कार्यक्रमहरू सञ्चालनमा ल्याइएको उल्लेख गरे।
उनले भने, 'गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि सरकारले सम्बद्ध निकायहरूसँग छलफल गर्दै कार्ययोजना बनाएको छ र कार्यान्वयन भइरहेको छ। यात्रु सेवा शुल्कमा छुट, ग्राउण्ड ह्यान्डलिङ, ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा छुट जस्ता सहुलियत र प्रोत्साहनका कार्यक्रमहरू सञ्चालनमा ल्याइएको छ।'
प्रधानमन्त्री ओलीले भने, 'हाल अलजजिरा, फ्लाई दुबई, एयर एसिया र नेपाल एयरलाइन्सले उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका छन्। श्रम तथा रोजगार कार्यालय बुटवलबाट श्रम स्वीकृति प्रदान गर्न सुरु गरिएको छ। साथै, विमानस्थलमा अध्यागमन, मुद्रा सटही लगायतका बैंकिङ सेवाहरू पनि उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।'
उनले बाँकी कामहरू पूरा गरेर विमानस्थललाई छिट्टै पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।
