अरूको अभियानमा राप्रपालाई मिसाउन नहुने मत बलियो

राजावादी आन्दोलनमा संलग्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहसँग सहकार्य गरेर आन्दोलनमा जान नसकिने राप्रपा नेताहरूको भनाइ

चैत्र ७, २०८१

राजेश मिश्र

There was a strong opinion that RPP should not be mixed in other people's campaigns

काठमाडौँ — राप्रपाको बैठकमा कसैको अभियानमा पार्टीलाई मिसाउन नहुने बलियो मत प्रस्तुत भएको छ । राप्रपा नेताहरूले विशेषगरी राजावादी आन्दोलनमा संलग्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहसँग सहकार्य गरेर आन्दोलनमा जान नसकिने स्पष्ट धारणा राखेका हुन् । मंगलबार भएको राप्रपाको कार्यसम्पादन समिति बैठकले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाका लागि अध्यक्ष राजेन्द्र लिङ्देनको अगुवाइमा आफ्नै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरिसकेको छ ।

प्रसाईंलगायत केही राजावादीले आन्दोलनका लागि राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको नेतृत्वमा समिति घोषणा गरेको भोलिपल्टै राप्रपाले छुट्टै आन्दोलनमा जाने निर्णय गरेको हो । 

बैठकमा नेताहरूले प्रसाईंको क्रियाकलाप अराजनीतिक हुनुका साथै राजनीतिक दल र नेतालाई अपमान गर्ने व्यवहारका कारण उनीसँग सहकार्य गर्न नसकिने धारणा राखेका थिए । प्रसाईंले राप्रपाको नेतृत्व नस्वीकार्ने नेताहरूको भनाइ थियो । पार्टीकै पुराना नेता सुवेदीलाई अलग्याएर जनआन्दोलन समिति बनाउनु र अन्य वरिष्ठ नेतालाई प्रयोग गर्नुले पनि प्रसाईं राप्रपालाई कमजोर बनाउन सक्रिय भएको उनीहरूको विश्लेषण थियो । 

राप्रपाका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले बैठकमा प्रसाईंको व्यवहारको आलोचना गर्दै सहकार्य गर्न नसकिने जनाएका थिए । सुवेदी नेतृत्वको समितिमा लोहनीलाई पनि राखिएको छ । समिति बनाउन सोमबार डिल्लीबजारमा बोलाइएको भेलामा उनी उपस्थित थिए । ‘पार्टीका नेताहरू उपस्थित थियौं, तर प्रसाईंले हाम्रै अगाडि हामीलाई गाली गरिरहेका थिए,’ लोहनीले बैठकमा भने, ‘उनको प्रवृत्ति नै अराजनीतिक छ । उनीसँग सहकार्य गरेर जान सकिने विश्वसनीय वातावरण छैन ।’ राप्रपाका अर्का वरिष्ठ नेता पशुपतिशमशेर राणाले पार्टीले गर्ने निर्णय प्रधान हुने भन्दै त्यसलाई स्विकारेर जान आफू तयार रहेको बताएका थिए । 

सुवेदीको नेतृत्वमा समिति बनाउन पार्टीका तर्फबाट वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा बढी सक्रिय रहेर प्रसाईंलाई साथ दिएको भन्दै दुवै जनाको बैठकमा आलोचना भएको थियो । पार्टीका वरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रोशन कार्कीले पार्टीको आन्दोलन परिचालन समितिको संयोजक राणाले सुवेदी नेतृत्वको समितिमा पनि त्यही जिम्मेवारी लिएकोमा प्रश्न गरेकी थिइन । सुवेदी नेतृत्वको जनआन्दोलन समितिको अवधारणा तयार पार्न वरिष्ठ उपाध्यक्ष मिश्रको भूमिका रहेकोप्रति पनि बैठकमा नेताहरूले प्रश्न उठाएका थिए । 

राप्रपाका कोषाध्यक्ष नीलकण्ठ काफ्लेले पार्टीलाई एउटा अभियानमा मिसाउने कार्यमा लागेका नेताहरूले आत्मसमीक्षा गर्नुपर्ने बताए । बैठक अवधिभर नेता मिश्र र राणा रक्षात्मक देखिएका थिए । अध्यक्ष लिङ्देनले राजावादीको आग्रहपछि बैठकमा पार्टीका तर्फबाट दुई जना प्रतिनिधि पठाइएको बताएका थिए । ‘ती प्रतिनिधिबारे त्यहाँ सामान्य सोधीखोजी पनि गरिएन । तर, पार्टीका वरिष्ठ नेताहरू त्यहाँ सक्रिय हुनुहुन्थ्यो,’ बैठकमा उनले भने, ‘मलाई नसोधी र पार्टी प्रतिनिधिसँग पनि कुनै धारणा नमागी मलाई समितिको सदस्यमा राखिएको रहेछ । मैले तत्कालै त्यसलाई अस्वीकार गरिसकेको छु ।’ 

जनतालाई जागरूक बनाउन, सडक र सदनको मोर्चामा लड्न राप्रपाले वर्षौंदेखि खेलिरहेको भूमिकालाई कमजोर पार्ने प्रयास स्वीकार्य नहुने लिङ्देनको भनाइ थियो । दलीय व्यवस्थामा दल प्रधान हुने उल्लेख गर्दै नेताहरूले आन्दोलनको नेतृत्व राप्रपाले नै गर्नुपर्ने धारणा राखेका थिए । 

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully