प्रधानमन्त्रीकै पार्टीले गणतन्त्रका पक्षमा सडक प्रदर्शन गर्ने

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

The Prime Minister's party will hold a road demonstration in favor of the Republic

काठमाडौँ — सरकारको नेतृत्व गरेको एमालेले पनि लोकतान्त्रिक गणतन्त्रको पक्षमा सडक प्रदर्शन गर्ने भएको छ । राजावादीहरुले आन्दोलनको घोषणा गरेपछि एमालेले पनि केन्द्रीय सचिवालयको निर्णयअनुसार देशव्यापी रुपमा प्रदर्शन गर्ने तयारी गरेको हो ।  

‘मुलुकमा हाल भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने’ निर्णय गरेको हो । एमालेले चैत ११ गते एकैदिन एकै समय देशैभरका सबै वडामा जनसचेतना कार्यक्रम घोषणा गरेको छ । 

महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल बैठकबाट बिहीबार सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयनमा लैजान निर्देशन दिए ।

एमालेले तीन महिने वडाकेन्द्रित अभियान चलाइरहेको बेला चैत ११ देखि ३० सम्म कार्यक्रम परिमार्जन गरी सबै प्रदेश र जिल्लामा संघीय गणतन्त्रको पक्षमा जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ । चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा मोटरसाइकल र्‍याली, चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरणसभा, चैत २४ देखि ३० धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने कार्यक्रम तय गरेको एमालेले जनाएको छ । 

महासचिव पोखरेल सचिवालयका अनुसार प्रदेश तहमा हुने विशेषसभामा पार्टी केन्द्रबाट वक्ताले सम्बोधन गर्नेछन् ।  एमाले सचिवालयको चैत ४ गतेको ४६ औं बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर रूपमा छलफल गर्ने निर्णय गरेको थियो । ‘पार्टी नेपालको संविधान र यसले संस्थागत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्यायजस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गर्दछ,’ बैठकका निर्णयमा भनिएको छ । 

महासचिव पोखरेलले जनचेतना अभियान सञ्चालन गर्दा तथ्यलाई आधार मानी संचालन गर्न निर्देशन दिए । ‘पञ्चायतको अन्त्यपछि कुल गार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, निरपेक्ष गरिबी दर, सडक सञ्जाल विस्तार, जनतालाई आधारभूत पिउने पानीको उपलब्धता, सञ्चार सुविधा, विद्युत् उत्पादन तथा उपभोग, नेपालीको औसत आयु वृद्धि, शिशु मृत्युदरमा न्यूनीकरण लगायतका महत्वपूर्ण सूचकहरूमा ऐतिहासिक उपलब्धि हो,’ उनले भने ।

कान्तिपुर

Link copied successfully