लाेडसेडिङबारे सरकारले भ्रमयुक्त सन्देश प्रवाह गरेर छुट पाउँदैन : सांसद गैरे

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

The government will not be exempted by misleading messages about loadshedding: MP Gayre

काठमाडौँ — एमालेका सांसद ठाकुर गैरेले नेपालमा विद्युत् आपूर्तिबारे ऊर्जामन्त्री दीपक खड्का र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाे कुरा बाझिएको बताएका छन् । लाेडसेडिङ हुन्छ भनेर ऊर्जामन्त्रीले भनिरहने र कार्यकारी निर्देशकले हुँदैन भन्दा सर्वसाधारणमा अन्याेलमा परेको सांसद गैरेकाे भनाइ थियाे ।

प्रतिनिधिसभाकाे बिहीबारको बैठकमा सांसद गैरेले सरकारबाट भ्रमयुक्त सूचना प्रवाह भएकामा आपत्ति जनाए । 'मन्त्री भन्नुहुन्छ लाेडसेडिङ हुन्छ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक भन्नुहुन्छ ढुक्क हुनुस् लाेडसेडिङ हुँदैन । यसखालकाे अभिव्यक्तिले एउटै सरकारबाट दिन खाेजेकाे सन्देश के हाे ?,' गैरेले भने, 'यसले देशलाई अन्याेलर्फ लैजान्छ । एसईई चलिरहेको छ । उद्योग चलाउनुपर्छ ।' 

समस्या समाधान गर्नुपर्नेमा सरकारबाट भ्रम फैलाउने कार्य भइरहेको गैरेले बताए । 'यस्तो बेलामा विद्युत् व्यवस्थापन कसरी गर्ने भनी समस्या समाधनमा लाग्नुपर्ने, जनतालाई आश्वस्त पार्नुपर्नेमा द्विविधा, भ्रमयुक्त सन्देश प्रवाह गरेर हामीले छुट पाउदैनाैं,' उनले भने ।

मन्त्री खड्का र कार्यकारी निर्देशक घिसिङलाई लाेडसेडिङबारे फरकफरक सूचना प्रवाह गर्न बन्द गर्न गैरेले आग्रह गरे । विद्युत क्षेत्रमा उत्पन्न हुने समस्या समाधानमा लाग्न उनले सुझाव दिए । 

नेपालमा लाेडसेडिङ अन्त्य गरेको जस भारतलाई दिनुपर्ने भनी मन्त्री खड्काले दिइरहेको अभिव्यक्तिप्रति पनि सांसद गैरेले आपत्ति जनाए । 'ऊर्जामन्त्रीले नेपालमा लाेडसेडिङ अन्त्यकाे जस भारतलाई दिनुपर्छ भनेर दाेस्राेपटक भन्नुभयो । नेपालकाे बिजुली भारतले किन्छ, भारतको बिजुली नेपालले किन्छ, याे व्यापारकाे विषय हाे,' गैरेले भने ।

कान्तिपुर

Link copied successfully