काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले द्वन्द्वकालका घटनाका कारण पीडित भएका व्यक्ति तथा उनका परिवारले यथाशीघ्र न्याय पाउनुपर्ने विषयमा सरकार संवेदनशील र गम्भीर रहेको बताए । उनले बेपत्ता तथा मेलमिलाप आयोग ऐन, २०७१ तेस्रो पटक संशोधन भइसकेको जानकारी दिँदै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीहरूको नियुक्ति प्रक्रिया यथासक्य छिटो सुरू गरिने प्रतिबद्धता जनाए ।
प्रधानमन्त्री ओलीले भने, 'द्वन्द्वकालका घटनाका कारण पीडित भएका व्यक्ति तथा उनका परिवारले छिटोभन्दा छिटो न्याय पाउनुपर्छ भन्ने विषयमा सरकार संवेदनशील र गम्भीर छ। शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने प्रक्रियामा आम सरोकारवालासँग परामर्श गरी वेपत्ता पारिएका व्यक्तिको छानविन, वेपत्ता तथा मेलमिलाप आयोग ऐन, २०७१ तेस्रो संशोधन भइसकेको छ। हामीले यसै अधिवेशनबाट पारित गरेका छौं। साथै, बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीहरूको नियुक्ति प्रक्रिया छिट्टै सुरू गरिनेछ। शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार पूर्ण प्रतिबद्ध छ।'
प्रधानमन्त्री ओलीले द्वन्द्वपीडितलाई न्याय दिलाउन सरकार दृढ रहेको समेत बताए।
