स्ववियु निर्वाचन : नेविसंघ र अनेरास्ववियुलाई क्रान्तिकारीको चुनौती

आंगिक क्याम्पसतर्फ नेविसंघ १२, अनेरास्ववियु ११ र अखिल क्रान्तिकारी ७ क्याम्पसमा विजयी

चैत्र ७, २०८१

सुदीप कैनी

Swaviyu Elections: Revolutionary Challenge to New Union and Uneraswaviyu

काठमाडौँ — स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सत्तारूढ कांग्रेस र एमालेनिकट विद्यार्थी संगठनबीच कडा प्रतिस्पर्धा भएको छ । प्रमुख प्रतिपक्ष माओवादीनिकट अखिल क्रान्तिकारीले परम्परागत मुख्य प्रतिस्पर्धी नेविसंघ र अनिरास्ववियुलाई चुनौती दिँदै सुधारात्मक नतिजा ल्याएको छ । 

बुधबार रातिसम्मको मत परिणामअनुसार नेविसंघ अग्रस्थानमा छ । मतगणना सकिएको त्रिविका आंगिक क्याम्पसतर्फ नेविसंघ १२, अनेरास्ववियुले ११ र अखिल क्रान्तिकारीले ७ क्याम्पसका स्ववियु अध्यक्ष जितेको क्याम्पस तथा निर्वाचन समितिले जनाएका छन् । स्वतन्त्र उम्मेदवार ३ र समाजवादी विद्यार्थी युनियन एक आंगिक क्याम्पसमा विजयी भए । त्यस्तै, सामुदायिक/निजीतर्फ नेविसंघले ८७, अनेरास्ववियुले ८० र अखिल क्रान्तिकारीले ५८ क्याम्पसमा जितेको दाबी गरेका छन् । उनीहरूले आफूले जितेका अध्यक्ष र क्याम्पसको सूचीसमेत सार्वजनिक गरेका छन् ।

३ वटा इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । ती इन्जिनियरिङ क्याम्पसका सचिवमा अखिल क्रान्तिकारीका उम्मेदवार निर्वाचित भएका छन् । केही क्याम्पसमा मतगणना जारी र अवरुद्ध छ भने केहीमा निर्वाचन हुन नै बाँकी छ ।

अधिकांश क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कडा टक्कर देखिएको छ । तुलनात्मक रूपमा कमजोर ठानिएको अखिल क्रान्तिकारीले नेविसंघ र अनेरास्ववियुलाई चुनौती दिँदै कतिपय क्याम्पसमा अप्रत्याशित जित निकाल्न सफल भएको छ । पाल्पा, विराटनगर, मोरङ, काठमाडौं, भोजपुरका क्याम्पसमा स्ववियु जितेका अखिल क्रान्तिकारी समर्थक उत्साही बनेका छन् ।

काठमाडौं उपत्यकामा निर्वाचन भएका ११ वटै क्याम्पसको मतपरिणाम प्राप्त भएको छ । जसमा नेविसंघले ५, अनेरास्ववियुले ३, अखिल क्रान्तिकारीले २ र स्वतन्त्र उम्मेदवारले एक क्याम्पसको स्ववियु अध्यक्ष जितेका छन् । 

पुल्चोक इन्जिनिरिङ क्याम्पसमा भने स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ अध्यक्ष चुनिएका छन् । २०७९ मा जितेको पुल्चोक इन्जिनियरिङ यसपालि अनेरास्ववियुले गुमाएको हो । पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरामा स्वतन्त्र उम्मेदवार विजय धामीले जित हात पारेका छन् । चितवन इन्जिनियरिङमा प्रज्वल अधिकारी निर्वाचित भएका छन् । 

‘पार्टीको झन्डा बोक्ने परम्परा तोड्नुपर्छ’

Swaviyu Elections: Revolutionary Challenge to New Union and Uneraswaviyu

स्वयं श्रेष्ठ, नवनिर्वाचित स्ववियु अध्यक्ष, पुल्चोक क्याम्पस, ललितपुर

स्वतन्त्रबाट जित कसरी सम्भव भयो ?

व्यक्ति छान्न दुई कुराले मुख्य भूमिका खेल्दो रहेछ, उसको विचार र पृष्ठभूमि । पछिल्लो दुई वर्ष स्ववियु सदस्यका रूपमा विद्यार्थीको पक्षमा जसरी काम गरेँ, त्यसलाई साथीहरूले मन पराइदिनुभयो ।

तपाईंका एजेन्डा के थिए ?

पार्टीको भ्रातृ संगठन किन चाहियो भन्ने नै मेरो मुख्य मुद्दा थियो । संगठित हुने, नहुने विद्यार्थीको विषय हो । स्वस्थ शैक्षिक संस्था, विश्वसनीयता, युग निर्माण छोटकरीमा ‘स्ववियु’ निर्माण गर्ने घोषणापत्र बनाएको थिएँ । 

पार्टीका विद्यार्थी संगठनप्रति किन प्रश्न उठाउनुभयो ?

विगतमा क्याम्पसमा विद्यार्थी संगठनका प्रतिनिधि चयन भए तर ती विद्यार्थीका भएनन् । उनीहरू विद्यार्थीका भन्दा पार्टीका नेताका भइरहेका छन् । राजनीतिक परिवर्तन चाहिन्छ भने आफूबाट परिवर्तन गर्नुपर्छ भनेर स्वतन्त्र रूपमा उम्मेदवार भएको हुँ । मेरो उम्मेदवारी अनुमोदन भएको छ । 

दलका भ्रातृ संगठनले शैक्षिक वातावरणमा असर पारेको भन्न खोज्नुभएको हो ?

क्याम्पसमा विद्यार्थी संगठन हुनु हुँदैन भनेको होइन । तर ती संगठन पार्टीअन्तर्गत हुनुहुन्न । कुनै पार्टीको विचार मन परे, र्‍याली गरे हुन्छ । तर पार्टीको झन्डा बोकेर क्याम्पस छिर्दा ‘बायस’ हुन्छ । अहिले पनि धेरै क्याम्पसको युनियनलाई यो वा त्यो पार्टीको भनेर हेरिन्छ । यो परम्परालाई तोड्नुपर्छ ।

स्ववियु अध्यक्ष भइसकेपछि केके काम गर्ने सोच्नुभएको छ ?

विद्यार्थीको मुद्दा सुनेर अघि जानेछु । स्वस्थ शैक्षिक संस्था बनाउन भूमिका खेल्नुपर्छ । त्यो भनेको शैक्षिक वातावरण, शिक्षक, विद्यार्थी, कर्मचारी स्वास्थ्यलाई ध्यानमा राखेर काम गर्नुपर्छ ।  

बुधबार रातिसम्मको नतिजा

नेविसंघले जितेका क्याम्पस

महाराजगन्ज चिकित्सा क्याम्पस

नर्सिङ क्याम्पस महाराजगन्ज 

डोटी क्याम्पस

गौरादह कृषि क्याम्पस झापा 

थापाथली इन्जिनियरिङ 

महेन्द्र बहुमुखी दाङ 

आयुर्वेद क्याम्पस

लमजुङ क्याम्पस 

हेटौंडा क्याम्पस 

डडेलधुरा बहुमुखी क्याम्पस 

मेची बहुमुखी झापा 

भक्तपुर क्याम्पस 

अनेरास्ववियु 

नेपाल कमर्स 

महेन्द्ररत्न ताहाचाल 

महेन्द्ररत्न इलाम 

धनकुटा बहुमुखी 

वन विज्ञान पोखरा 

नर्सिङ पोखरा 

महेन्द्र बहुमुखी नेपालगन्ज 

नर्सिङ नेपालगन्ज 

ललितकला क्याम्पस 

धौलागिरि क्याम्पस बाग्लुङ 

जुम्ला बहुमुखी क्याम्पस 

अखिल क्रान्तिकारी

जनप्रशासन क्याम्पस 

सानोठिमी क्याम्पस 

त्रिभुवन बहुमुखी पाल्पा 

गोरखा क्याम्पस 

भोजपुर क्याम्पस 

स्नातकोत्तर क्याम्पस 

नर्सिङ विराटनगर 

स्वतन्त्र 

पुल्चोक क्याम्पस

पश्चिमाञ्चल इन्जिनियरिङ

चितवन इन्जिनियरिङ 

समाजवादी विद्यार्थी युनियन

महेन्द्र बिन्देश्वरी सप्तरी

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully