सिरहा — सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञका नाममा दलितको घर भत्काइएको घटनाको मानव अधिकार आयोगले अनुसन्धान थालेको छ । आयोगको जनकपुरस्थित मधेश प्रदेश कार्यालयले घटनाको अनुसन्धान थालेको हो ।
आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै घटनाको अनुगमन तथा अनुसन्धानका लागि टोली घटनास्थल गएको जनाएको छ । यसैगरी, आयोगले घटनाका विषयमा आवश्यक जानकारी प्राप्तिका लागि जिल्ला प्रहरी कार्यालय, सिरहा र औरही गाउँपालिकाको कार्यालयलाई पत्राचार गरेको छ ।
गाउँपालिका अध्यक्ष शिवजी यादव, आयोजक बजरंगी बाबा र पूर्ववडाध्यक्ष दिलीप यादवले चैत १७ देखि हुने महायज्ञका नाममा ३० वर्षदेखि बसोबास गर्दै आएका स्थानीय दीपक मल्लिकको घर गाउँपालिकाको डोजर लगाएर भत्काइदिएका थिए ।
'अछुत' भन्दै त्यहाँबाट हटाइएका मल्लिक परिवार अहिले गाउँकै एकान्तमा रहेको सामुदायिक विद्यालयको जग्गामा अस्थायी टहरा बनाएर बसिरहेका छन् ।
