काठमाडौँ — गृहमन्त्री रमेश लेखकले पश्चिम नेपालमा भूकम्पबाट क्षति भएका स्थायी आवास निर्माण कार्य तीब्र गतिमा अघि बढेको बताएका छन्। उनले विपद्पछिको पुनर्निर्माणको कामका लागि सरकार जिम्मेवारी ढंगले लागिरहेको बताए।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जाखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले डोटी, बझाङ र जाजरकोटमा भूकम्पले भएको क्षतिको विस्तृत प्रतिवेदन तयार भइसकेको र स्थायी आवास निर्माण कार्य अघि बढेको जानकारी दिए। उनले पुनर्निर्माणका लागि केन्द्र सरकारबाट अनुदान जाने काम समेत प्रारम्भ भइसकेको बताए।
गत आश्विन महिनाको अविरल वर्षाका कारणले वागमती, कोशी प्रदेश लगायतका अन्य ठाउँमा बाढी, पहिरो र डुबानले क्षति भएको र त्यसका लागि तत्काल डीडीएको काम अघि बढाउने र डीडीएसँगै निजी अवासहरु स्थायी बनाउनुपर्ने ठाउँमा स्थायी र अस्थायी बनाउनुपर्ने ठाउँमा अस्थायी बनाउने गरेर अघि बढ्ने निर्णय भएको बताए।
उनले भने, ‘भूकम्पपछि डेढ, दुई वर्षदेखि रोकिएको काम अहिले अघि बढेको छ । त्यसका बारेमा समीक्षा गरियो । गत आश्विन महिनाको अविरल वर्षाका कारणले खास गरी वागमती, कोशी प्रदेश लगायतका अन्य ठाउँमा बाढी, पहिरो र डुबानले क्षति भएको थियो, त्यसका लागि तत्काल डीडीएको काम अघि बढाउने र पुनर्निर्माणको काम बढाउने सरकारको तयारी छ।'
गृहमन्त्री लेखकले आगामी दिनमा विपद्बाट हुनसक्ने सबै खालका जोखिमका लागि तयार रहने गरी सरकार अघि बढिरहेको बताए।
