नेपाल र चीनबीचका १३ नाका सञ्चालनमा, उरैभञ्ज्याङ नाका सुचारु गर्न पहल जारी : प्रधानमन्त्री ओली

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

13 border crossings between Nepal and China are in operation, initiative to reopen Uraibhanjang border crossing is underway: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन बीचको १४ वटा परम्परागत व्यापारिक नाकाहरूमध्ये १३ नाका पुनः सञ्चालनमा आइसकेको जानकारी दिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले बझाङ जिल्लाको उरैभञ्ज्याङ नाका सुचारु गर्नका लागि कुटनीतिक पहल भइरहेको बताए। उनले सीमा नाका रहेका जिल्लाका नेपाली नागरिकलाई चीन आवगमनका लागि अनुमति पत्र उपलब्ध गराउन कार्यविधिसहित कार्यान्वयनमा ल्याइइसकेको पनि जानकारी दिए ।

प्रधानमन्त्री ओलीले भने, 'नेपाल–चीनको सिमानामा रहेका १४ स्थानमा रहेका परम्परागत व्यापारिक नाकाहरू पुनः सञ्चालन गर्ने सीमा व्यवस्थापन सम्बन्धमा नेपाल र चीनबीच सन् २०१९ मा हस्ताक्षर भएको व्यहोरा जानकारी गराउँदछु। सोही बमोजिक, चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकलाई चीन आवगमन गर्न अनुमति पत्र उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको छ।'

प्रधानमन्त्री ओलीले नाका सञ्चालनमा रहेपनि हिउँ परेको कारण अस्थायी रूपमा केही नाकाबाट आवागमन हुन नसकेको हुनसक्ने बताए ।

कान्तिपुर

Link copied successfully