एकीकृत समाजवादीमा नजाओस् भनी एमालेले पार्टीमा आउन प्रस्ताव गरेको रहेछ : गौतम

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

UML has offered to join the party so that it does not go to the unified socialist party. Gautam

काठमाडौँ — नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सांसद वामदेव गौतमले एकीकृत समाजवादीमा जानबाट रोक्न एमालेले आफूलाई पार्टीमा आउन प्रस्ताव गरेको स्पष्ट भएको बताएका छन् ।  

संसद् भवनमा बुधबार गौतमले एमालेबाट पार्टीमा आउन भनेर आएको प्रस्तावबारे आफ्नो बुझाइ राखेका हुन् । एकीकृत समाजवादीमा जाने पक्कापक्की भइसकेको थाहा पाएपछि एमालेबाट आफूलाई प्रस्ताव आएको बताए । ‘हामी समाजवादीमा जाने एक किसिमको सहमति भइसकेको अवस्था थियो । निर्णय नभएपनि मन चाहीँ त्यस्तो किसिमको भइसकेको थियो । त्यही बेलामा एमालेबाट प्रस्ताव आयो,' गौतमले भने, 'त्यो प्रस्ताव वामदेव एकीकृत समाजवादीतिर नजाओस् भनेर रहेछ ।'

अब आफू कुनै पनि पार्टीमा नजाने सांसद गौतमको भनाइ थियो । अहिले तत्काल कुनै पार्टीमा जानुभन्दा पनि आफूलाई परिमार्जन गर्ने उनले बताए । जनतामार्फत कम्युनिस्ट एकता गर्ने अभियान पुरानो भइसकेको भन्दै अब अभियान नभई व्यक्तिगत प्रयत्न रहने उनको भनाइ छ ।

कान्तिपुर संवाददाता

Link copied successfully