राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदी नेतृत्वको समितिमा सहभागी नहुने राप्रपा कार्यसम्पादन समितिको निर्णय
काठमाडौँ — राप्रपाले राजसंस्था पुनःस्थापनाका लागि आफ्नै नेतृत्वको आन्दोलनलाई निरन्तरता दिने भएको छ । केही राजावादीले आन्दोलनका लागि राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको नेतृत्वमा समिति घोषणा गरेको भोलिपल्टै राप्रपाले छुट्टै आन्दोलनमा जाने निर्णय गरेको हो ।
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले आन्दोलनका सम्पूर्ण कार्यक्रमको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गर्ने निर्णय गरेको छ । राप्रपाले पार्टी अध्यक्ष लिङ्देनको नेतृत्वमा आन्दोलन परिचालन मूल समिति पहिल्यै बनाएको थियो । धवलशमशेर राणा आन्दोलन परिचालन समितिको संयोजक थिए । आन्दोलनको कार्यक्रम उनैले तय गर्दै आएका थिए । कार्यसम्पादन समिति बैठकबाट अब सम्पूर्ण अधिकार लिङ्देनले आफूमा केन्द्रित गरेका हुन् ।
सुवेदी नेतृत्वको समितिमा राणा सक्रिय भएको र उनी त्यहाँ पनि आन्दोलन परिचालन समितिका संयोजक रहेकाले राप्रपाले तय गर्ने आन्दोलनका कार्यक्रमको जिम्मेवारी आफूले लिएको लिङ्देनले जनाएका छन् । पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले अध्यक्ष लिङ्देनको नेतृत्वमै राप्रपा आन्दोलनमा रहेको बताए । आगामी १२ चैतमा आन्दोलन परिचालन मूल समितिको बैठक बसेर आगामी कार्यक्रम तय गरिने उनले जानकारी दिए । राजसंस्था, हिन्दु राष्ट्रको पुनःस्थापनाजस्ता माग राखेर राप्रपाले पाँच ठाउँमा प्रदेशस्तरीय सभा गरिसकेको छ । बागमती र मधेश प्रदेशमा भने सभा गर्न बाँकी छ ।
कार्यसम्पादन समितिको बैठकमा सुवेदीको नेतृत्वमा गठित समितिमा पार्टीका सदस्यहरू राखिएको विषयमा समेत समीक्षा भएको थियो । सुवेदी नेतृत्वको समितिमा राप्रपाका अध्यक्ष लिङ्देनसहित पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्रसहितका नेतालाई सदस्य राखिएको छ । अध्यक्ष लिङ्देनले त्यसमा असहमति जनाइसकेका छन् । पार्टी बैठकमा सुवेदीबाहेकका नेताको उपस्थिति थियो । सुवेदी पार्टीबाट राजीनामा दिइसकेको घोषणा गरेर जनआन्दोलन समितिका संयोजक बनेका हुन् ।
कांग्रेस र एमाले नेतृत्वको सरकार मुलुकसामु रहेका समस्या समाधानमा पूर्ण असफल भइसकेको निष्कर्ष राप्रपाले निकालेको छ । शिथिल अर्थतन्त्र, तीव्र भ्रष्टाचार र आम जनतामा व्याप्त निराशालाई चिर्न सरकार असफल रहेको राप्रपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । समस्या सम्बोधनका लागि प्रणालीगत कमजोरीमा आमूल सुधार आवश्यक रहेको राप्रपाको धारणा छ । कसैलाई निषेध नगर्ने ‘नवीन समझदारी’ का लागि तयार हुन राप्रपाले सबै राजनीतिक दललाई आग्रह गरेको छ ।
राजसंस्था पुनःस्थापनाको आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंको प्रवेशपछि राजावादी खेमामा विवाद चुलिँदै गएको छ । प्रसाईंले आफूले मात्रै आन्दोलन हाँकिरहेको भन्दै राप्रपा र राप्रपा नेपालजस्ता राजनीतिक दलको मानमर्दन गरिरहेको नेताहरूको भनाइ छ । राजनीतिक दलको नेतृत्व नस्विकार्ने भन्दै आएका प्रसाईंको समेत पहलकदमीमा ८६ वर्षीय पूर्वपञ्च सुवेदीलाई आन्दोलनको नेतृत्व दिइएको हो । तर, उक्त समितिमा लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पूर्वमन्त्री केशरबहादुर विष्टलगायतले नबस्ने बताइसकेका छन् ।
ooo
राप्रपा कार्यसम्पादन समिति बैठकले के निर्णय गर्यो ?
आन्दोलनसँग सम्बन्धित एकसूत्रीय विषयमा बैठक केन्द्रित रह्यो । घोषित कार्यक्रम सम्पन्न गर्ने र नयाँ कार्यक्रम घोषणा गर्ने कुरा भयो । एक सातापछि बैठक बसेर आन्दोलनका थप कार्यक्रम ल्याउँछौं । राप्रपाले संगठन र आन्दोलन सँगै लैजान्छ ।
राप्रपाले गर्ने आन्दोलनको स्वरूप कस्तो हुन्छ ?
शान्तिपूर्ण आन्दोलन हुन्छ ।
नवराज सुवेदीको नेतृत्वमा तपाईंहरूसहित साझा ढंगले आन्दोलन गर्ने भनिएको छ नि ?
समितिमा मेरो नाम राखिएको छ । तर म प्रक्रियामै सहभागी छैन । समितिका बारेमा कुनै छलफल पनि भएको छैन । आफूलाई थाहा नभएको समितिमा नबस्ने भनिसकेको छु । नयाँ ढंगले कार्यविधि बनेर आयो भने समान विचारका दल, व्यक्ति वा समूहसँग सहकार्य गर्न हामी तयारै छौं ।
तर तपाईंको पार्टीका वरिष्ठ नेताहरू त सुवेदी नेतृत्वको समितिमा हुनुहुन्छ, त्यसबारे के भन्नुहुन्छ ?
त्यसबारे साथीहरूले चाँडै टुंगो लगाउनु हुन्छ । उहाँहरू त्यहाँ बस्ने–नबस्ने सम्बन्धमा पार्टीगत निर्णय भएको छैन, उहाँहरू व्यक्तिगत रूपमा बस्नुभएको छ । त्यहाँ पार्टीगत रूपले हाम्रो संलग्नता छैन ।
