काठमाडौँ — सत्तारुढ कांग्रेसका सांसद डा. सुनील शर्माले प्रत्येक नागरिकका लागि सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गर्नुपर्ने बताएका छन् । संविधानले सुनिश्चित गरेको स्वास्थ्य सम्बन्धी हकको कार्यान्वयनका लागि पनि सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गर्नुपर्ने उनको भनाइ थियो ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा 'सबै नागरिकको लागि राष्ट्रव्यापी स्वास्थ्य बिमा र विपन्न नागरिक औषधि उपचार कोष लगायतको प्रभावकारी व्यवस्था सम्बन्धी प्रस्ताव' शीर्षकको सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्ताव प्रस्तुत गर्दै सांसद शर्माले दूरदराजका जनताका लागि पनि स्वास्थ्य बिमा कार्यक्रम लागू गर्नुपर्ने बताएका हुन् । सरकारले विवेकसम्मत रूपमा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्नुपर्ने उनको भनाइ थियो ।
'सरकार नागरिकको अभिभावक हो । सरकार भोको बसेर भएपनि अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ । सरकारले अभिभावकको भूमिका निर्वाह गर्यो ? अनि लोकतन्त्रको उपहास भयो कि भएन ? व्यवस्थाको उपहास भयो कि भएन ? यो लोकतन्त्रमा संविधानमा लेखिएको व्यवस्था तपाईं लागू नगर्ने हो भने नेपाली जनताले लोकतन्त्र भनेर बसिदिनुपर्ने हो कि, विकल्प खोज्छन् ?,' सांसद शर्माले भने, 'म लोकतन्त्रवादी हुँ, यसमा कुनै कन्फ्युजन छैन । म विपी कोइरालाको अनुयायी हुँ । म लोकतन्त्रका पक्षमा अनवरत वकालत गर्छु तर लोकतन्त्र भनिरहँदाखेरि जनता मार्ने तन्त्रको रूपमा विकास गर्नुहुँदैन हामीले प्रणालीलाई । नागरिकका पक्षमा राज्य सदासर्वदा रहनुपर्छ भन्ने मेरो मान्यता हो ।'
संसद्मा आफ्नो प्रस्ताव प्रस्तुत गर्दै शर्माले सरकारले अझै राम्रो कार्यक्रमहरू अगाडि बढाउनुपर्ने धारणा राखेका थिए । 'विवेक नगुमाइकन दूरदराजमा भएका प्रत्येक नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत मैले प्रस्तुत गरेको प्रस्ताव र अझ हुनसक्छ भने योभन्दा राम्रो प्रस्ताव आगामी महिनाबाट लागू गरोस्,' उनले सरकारलाई आग्रह गरे ।
सरकारले स्वास्थ्य बिमावापत जनताबाट पैसा उठाएको तर फिर्ता भने नगरेको सांसद शर्माको आरोप थियो । 'सरकार यतिसम्म लाचार छ कि स्वास्थ्य बिमावापत सरकारले तीन हजार पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म नागरिकबाट उठाउँछ अनि हात उठाएर सरकारका मान्छेहरू के भन्नुहुन्छ भने- अब यो पैसा तिर्न सक्दैनौं । बिमितलाई बिमा वापतको पैसा दिन सक्दैनौं,' उनले भने, 'सरकार बोलेको हो या कसैको व्यक्तिगत भनाइ हो ? यो पनि हामीलाई जान्ने जिज्ञासा छ ।'
स्वास्थ्य बिमाको रकम सरकारले आफ्नो खर्चबाट नभई जनताको रकमबाट दिइरहेको पनि शर्माको भनाइ थियो । सरकारका अधिकारीले घरबाट वा निजी आम्दानीबाट कमाएर जनतालाई बिमा वापत दान दिएको जस्तो व्यवहार भइरहेकोमा उनको आपत्ति थियो । 'स्वास्थ्य बिमा कार्यक्रम हाम्रै पालामा, लोकतन्त्र आएपछि हाम्रो नेता गगन थापा स्वास्थ्यमन्त्री भएको बेला सुरु गरिएको, नागरिकको हितमा, नागरिकको सुरक्षाका लागि भिजनसहित सुरु गरिएको विषय हो,' उनले भने । बिमितको रकम सरकारले दिन सक्दैनौं भनेमा सैह्या नहुने् पनि उनको भनाइ थियो ।
सरकारले मृगौला प्रत्यारोपणका लागि पाँच लाख दिने दाबी गरेको तर त्यो पनि निश्चित केन्द्र तोकेर विभेद भइरहेको शर्माको भनाइ थियो । 'हजारौंको संख्यामा मृगौला फेल भएका मान्छे छन् जसलाई सरकारले दिएको पाँच लाख पैसा औषधि किन्न पाउने हो भने निशुल्क किड्नी ट्रान्सप्लान्ट गरेर काठमाडौंको कुनै पनि सेन्टरबाट हुम्ला पुग्न सक्छ, तराई पुग्न सक्छ, पहाड पुग्न सक्छ । तर तपाईं दिनुहुन्न । तपाई सिन्डिकेट गर्दै हुनुहुन्छ । तपाईंले इच्छाएको एउटा, दुईवटा सेन्टरमा मात्रै व्यापार गर्नुहुन्छ । तपाईं व्यवसाय गर्नुहुन्छ । सरकार व्यवसायी, व्यापारी हो ?,' उनले भने, 'सरकार व्यापारी, व्यवसायी होइन भने यो धर्तीभित्र सम्भव सबै ठाउँमा नागरिकलाई जहाँ सहज हुन्छ तपाईंको सुविधा त्यहाँ उपयोग गर्न पाउनुपर्छ कि पर्दैन ?'
सांसद शर्माले स्वास्थ्य बिमामा सबै क्षेत्रका नागरिकलाई समेट्न जरुरी रहेको बताए । कमजोर आर्थिक अवस्था र जनचेतनाको अभावले सामान्य प्रकृतिका रोगको कारणले नागरिकले अकालमै ज्यान गुमाउनुपरेको उनको भनाइ थियो ।
