क्रियाशील वितरणमा सबैले जिम्मेवारी पूरा गर्दा समयमै सहजै महाधिवेशन हुन्छ : महामन्त्री थापा

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

In active distribution, when everyone fulfills their responsibilities, the convention will be held easily on time: Mahamantri Thapa

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता वितरणमा हरेकले आफ्नो जिम्मेवारी पूरा गर्दा समयमै सहजै महाधिवेशन सम्पन्न गर्न सकिने बताएका छन्। पार्टीको महाधिवेशनका विषयमा नेताहरूले फरक-फरक धारणा राख्दै आएका छन्।

विगतमा महाधिवेशनका लागि सबैभन्दा ठूलो अड्चन क्रियाशील सदस्यतालाई बनाउने गरिएको छ। १४औँ महाधिवेशनताका करिब एक वर्ष सदस्यता छानविनका कारण महाधिवेशन हुन सकेको थिएन। महामन्त्री थापाले यसपटक सदस्यता वितरणलाई पारदर्शी बनाइने र विवाद नहुने दाबी गर्दै आएका छन्।

मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको क्रियाशील सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकमा सदस्यता वितरणका विषयहरूमा गहन विमर्श र छलफल भएको महामन्त्री थापाले बताए । महामन्त्री थापा संयोजकत्वको उक्त समितिमा केन्द्रीय सदस्यद्वय सीता गुरुङ र प्रकाश रसाइली सदस्य छन्।

बैठकपछि महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत् भनेका छन्, 'आज क्रियाशील सदस्यता वितरण सम्बन्धी विषयमा गहन विमर्श र छलफल भयो। क्रियाशील सदस्यता वितरणमा प्रत्येकले आफ्नो जिम्मेवारी पूरा गर्दा, हामी सहजै र समयमै नेपाली कांग्रेसको अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सक्नेछौँ।'

विधानअनुसार कांग्रेसको महाधिवेशन चार वर्षमा हुनुपर्ने व्यवस्था छ। त्यसमा विशेष अवस्था भए एक वर्ष थप गर्न सकिने र त्यो अवधिमा पनि नभए संविधानले थप ६ महिना थपेर महाधिवेशन गर्न पाउने सुविधा उपलब्ध गराएको छ। कांग्रेसको १४ औँ महाधिवेशन ०७८ मंसिरमा भएको थियो। यसआधारमा आगामी ०८२ मंसिरमा यो केन्द्रीय समितिको चार वर्षे कार्यकाल पूरा हुन्छ।

यसरी हेर्दा विधानको व्यवस्थाबमोजिम ०८२ को मंसिरभित्र कांग्रेसले महाधिवेशन गरिसक्नुपर्ने हो। तर त्यसअनुसार पार्टीका कामहरू अघि नबढेको र नेतृत्वले समयमै महाधिवेशन हुने गरी काम अघि नबढाएको भन्दै आलोचना समेत हुँदै आएको छ । त्यसो त सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूको बैठक बोलाएरै ०८४ को निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने गरी तयारी गर्नुपर्ने प्रस्ताव गरेपछि महाधिवेशन कहिले भन्ने विषय थप पेचिलो बनेको छ।

यस्तोमा महामन्त्री थापाले भने समयमै महाधिवेशन हुने र त्यसका लागि क्रियाशील सदस्यता वितरणमा सबैले जिम्मेवारी पूरा गरेर वातावरण सुनिश्चित गर्नुपर्ने धारणा राखेका हुन्।

थापा संयोजकत्वको व्यवस्थापन समितिले चैत मसान्तभित्र जिल्लाबाट क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाएर केन्द्रीय समितिमा पठाउने कार्यतालिका जिल्लालाई पठाइसकेको छ।

कान्तिपुर संवाददाता

Link copied successfully