स्ववियु निर्वाचनमा ६५ प्रतिशत मतदान

त्रिविका ६२ आंगिक क्याम्पसमध्ये २२ वटामा निर्वाचन अवरुद्ध, काठमाडौंकै ११ आंगिक क्याम्पसमा चुनाव हुन सकेन

चैत्र ६, २०८१

सुदीप कैनी

65 percent voter turnout in SWIU elections

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ । मतदानमा ६५ प्रतिशत विद्यार्थी सहभागी भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ । त्रिविका ६२ आंगिकमध्ये २२ क्याम्पस र सम्बन्धन प्राप्त केही क्याम्पसमा भने निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार आंगिक र सम्बन्धन प्राप्त गरी करिब ३ सय क्याम्पसमा स्ववियु नेतृत्व छान्न चुनाव भएको छ । अधिकांश क्याम्पसमा मंगलबार मतदान सकिएलगत्तै गणना सुरु भएको थियो । राति १२ बजेसम्म प्राप्त नतिजाअनुसार आंगिकमध्ये अनेरास्ववियु र नेविसंघले ५–५ क्याम्पसमा अध्यक्ष जितेका छन् । एक क्याम्पसमा अखिल क्रान्तिकारी र दुई क्याम्पसमा भने स्वतन्त्र उम्मेदवार अध्यक्षमा विजयी भएका छन् । 

आंगिक र सम्बन्धन प्राप्त गरी ७० क्याम्पसमा स्ववियु अध्यक्ष जितेको दाबीसहित अनेरास्ववियुले सूची सार्वजनिक गरेको छ । अनेरास्ववियुले भन्दा धेरै क्याम्पसमा स्ववियु अध्यक्ष जितेको दाबी गरेको नेविसंघले सूची भने सार्वजनिक गरेको छैन । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले सूची तयार गरिरहेको बताए । अखिल क्रान्तिकारीले सूची प्रस्तुत गर्दै ५० क्याम्पसमा स्ववियु अध्यक्ष जितेको दाबी गरेको छ । त्रिविले आंगिक क्याम्पसको मात्रै मतगणना परिणाम संकलन र सार्वजनिक गर्छ ।

इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा माओवादीनिकट अखिल क्रान्तिकारीका उम्मेदवार दिवस सापकोटा विजयी बनेको क्याम्पसले जनाएको छ । सत्तारूढ कांग्रेसनिकट नेविसंघ र एमालेनिकट अनेरास्ववियुका उम्मेदवारलाई पराजित गर्दै श्रेष्ठ र सापकोटा विजयी भएका हुन् । पुल्चोकमा २०७९ को स्ववियु निर्वाचनमा अनेरास्ववियुका विराज अर्याल विजयी भएका थिए । यस पटक पनि उनी नै उम्मेदवार थिए । अध्यक्षमा निर्वाचित श्रेष्ठ यसअघि स्ववियु सदस्य थिए । कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकाल विजयी भएका छन् ।

थापाथली इन्जिनियरिङ क्याम्पसको अध्यक्षमा नेविसंघका प्रह्लाद खड्का र सचिवमा अखिल क्रान्तिकारीका जेसिस उपाध्याय निर्वाचित भए । कोषाध्यक्षमा नेविसंघका ऋषिकेश प्रजापति विजयी भएको क्याम्पसले जनाएको छ । पुल्चोक र थापाथली इन्जिनियरिङमा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो । २०७९ को निर्वाचनमा पनि नेविसंघका उम्मेदवार नै अध्यक्षमा विजयी भएका थिए । नेविसंघ र अखिल क्रान्तिकारीको समर्थनसहित स्वतन्त्र उम्मेदवारी दिएका प्रज्वल अधिकारी चितवन इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा निर्वाचित भए । उनले अनेरास्ववियुका विशाल पोखरेललाई पराजित गरेका हुन् । 

आयुर्वेद क्याम्पस कीर्तिपुरमा नेविसंघ र ललितकला क्याम्पस भोटाहिटीमा अनेरास्ववियुका उम्मेदवार स्ववियु अध्यक्ष बनेका छन् । आयुर्वेद क्याम्पसमा निशान अर्याल र ललितकला क्याम्पसमा आशिष पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् । नेपालगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुकी देवार्चना अधिकारी नेतृत्वको प्यानल नै निर्वाचित भएको छ । पोखरा नर्सिङमा अनेरास्ववियुकी प्रतिभा भण्डारी र पोखरा वन क्याम्पसमा पनि अनेरास्ववियुकै अभिषेक शर्मा निर्वाचित भएका छन् । लमजुङ कृषि क्याम्पसमा असिम वस्ती र गौरादह कृषि क्याम्पस झापामा स्वर्णिम अधिकारी अध्यक्ष निर्वाचित भएका छन् । उनीहरू नेविसंघका हुन् । गोरखा क्याम्पसमा भने अखिल क्रान्तिकारीका सुलभ आमगाई नेतृत्वको प्यानल नै विजयी भएको छ । 

केन्द्रीय निर्वाचन समिति संयोजक तथा रेक्टर खड्ग केसीका अनुसार आंगिक क्याम्पसतर्फ जनप्रशासन, आयुर्वेद, महाराजगन्ज नर्सिङ, पुल्चोक, भक्तपुर, महाराजगन्ज चिकित्सा, महेन्द्ररत्न ताहाचल, ललितकला भोटाहिटी, सानोठिमी क्याम्पस, नेपाल कमर्श क्याम्पस, थापाथली, महेन्द्ररत्न इलाम, मेची बहुमुखी, गौरादह कृषि झापा, महेन्द्र मोरङ, विराटनगर नर्सिङ, स्नातकोत्तर विराटनगरमा निर्वाचन भएको छ । यस्तै, पूर्वाञ्चल धरान, महेन्द्र बहुमुखी धरान, केन्द्रीय प्रविधि धरान, भोजपुर, महेन्द्र बिन्देश्वरी, सूर्यनारायण सत्यनारायण मोरवैता यादव सिरहा, ठाकुरराम वीरगन्ज, वीरगन्ज नर्सिङ, हेटौंडा, चितवन इन्जिनियरिङ, गोरखा, लमजुङ, पश्चिमाञ्चल पोखरा, पोखरा नर्सिङ, पोखरा वन, धौलागिरि बागलुङ, त्रिभुवन पाल्पा, नर्सिङ नेपालगन्ज, डोटी र जुम्ला क्याम्पसमा पनि मतदान भएको छ । 

महेन्द्र बहुमुखी क्याम्पस दाङ र धनकुटा बहुमुखी क्याम्पसमा उम्मेदवारी दर्तामै निर्विरोध भएको थियो । महेन्द्र बहुमुखीको स्ववियु अध्यक्षमा नेविसंघका दीपेशकुमार डाँगी र सचिवमा अनेरास्ववियुका सागर पण्डित निर्विरोध भएको क्याम्पस प्रमुख नारायण पन्थीले बताए । धनकुटाको अध्यक्षमा अनेरास्ववियुका युवा तिमिल्सिना, उपाध्यक्ष र सचिवमा नेविसंघका सुवास खनाल र मिलन बुढाथोकी निर्विरोध भएको क्याम्पस प्रमुख होमबहादुर बस्नेतले जानकारी दिए ।

पाटन संयुक्त क्याम्पस र पृथ्वीनारायण क्याम्पसमा निर्वाचन प्रक्रिया सुरु भएपछि रोकिएको छ । क्याम्पस र निर्वाचन समितिको लापरबाहीले यी दुई क्याम्पसको निर्वाचन बिथोलिएको विद्यार्थीको गुनासो छ । पाटन संयुक्त क्याम्पसमा एक सय जनाले मतदान गरेपछि विवाद भएर रोकिएको प्रक्रिया झडपपछि अनिश्चित भएको छ । नेविसंघ र अनेरास्ववियुका विद्यार्थीबीच क्याम्पस परिसरमा झडप हुँदा केही विद्यार्थी घाइते भए । केही विद्यार्थीले मतदाता परिचयपत्र नपाएको भनेपछि विवाद भएको थियो । निर्वाचन अघि बढाउन बुधबार सर्वपक्षीय छलफल गरेर सहमति खोजिने निर्वाचन अधिकृत छविराम बरालले बताए । 

पोखराको पृथ्वीनारायणमा मतपत्रमा उम्मेदवारकै नामावली छुटेका कारण मतदान हुन सकेन । क्याम्पसले बुधबार मतदान हुने जनाएको छ । पृथ्वीनारायण क्याम्पसमा ९ हजार २ सय मतदाता छन् । काठमाडौंका रत्नराज्यलक्ष्मी (आरआर), त्रिचन्द्र र अमृत साइन्स कलेज (अस्कल) मा पनि अन्तिम समयमा मतदान अवरुद्ध बनेको छ । आरआरमा अनेरास्ववियु, त्रिचन्द्रमा नेविसंघको विद्रोही समूह र अस्कलमा अखिल क्रान्तिकारीको तालाबन्दीसहितको अवरोधका कारण निर्वाचन चयन हुन सकेन । त्रिचन्द्र र आरआरमा २०७९ मा पनि निर्वाचन हुन सकेको थिएन । 

पद्मकन्या क्याम्पसले ७ चैत र विश्वविद्यालय क्याम्पस कीर्तिपुरले ८ चैतमा निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेका छन् । यी दुवै क्याम्पसमा नेविसंघको आन्तरिक विवादका कारण मतदान कार्यक्रम रोकिएको क्याम्पसका अध्यापकले बताए ।

काठमाडौं उपत्यकाकै शंकरदेव, सरस्वती, पब्लिक युथ, नेपाल ल, विश्वभाषा क्याम्पसमा पनि निर्वाचन स्थगित भएको छ । त्यहाँ कहिले निर्वाचन हुने पनि अनिश्चित छ । काठमाडौंबाहिर तेह्रथुम क्याम्पस आठराई, रामस्वरूप रामसागर जनकपुर, रामपुर क्याम्पस, वीरेन्द्र बहुमुखी क्याम्पस, बुटवल बहुमुखी, पक्लिहवा, भैरहवा, सुर्खेत र सिद्धनाथ विज्ञान क्याम्पस कञ्चनपुरमा पनि निर्वाचन हुन सकेन । निर्वाचन समितिले यी क्याम्पसलाई मतदान प्रक्रिया अघि बढाउन पुनः निर्देशन दिएको छ ।

राति १२ बजेसम्मको जित

नेविसंघ 

 –थापाथली इन्जिनियरिङ

 –महेन्द्र बहुमुखी दाङ

 –लमजुङ कृषि क्याम्पस

 –आयुर्वेद क्याम्पस कीर्तिपुर

 –गौरादह कृषि क्याम्पस झापा

अनेरास्ववियु 

 –नेपालगन्ज नर्सिङ

 –धनकुटा बहुमुखी

 –पोखरा नर्सिङ

 –पोखरा वन

 –ललितकला क्याम्पस

स्वतन्त्र 

 –पुल्चोक इन्जिनियरिङ

 –चितवन इन्जिनियरिङ

अखिल क्रान्तिकारी

–गोरखा क्याम्पस

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully