काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र स्थापनाका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले भिलेनका रूपमा सहयोग गरेको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफूहरूले गणतन्त्रको निम्ति आधार तयार पारेको र तत्कालीन राजा शाहले भिलेनका रूपमा भूमिका खेलेको टिप्पणी गरेका हुन् ।
पूर्वराजाले मुर्खतापूर्ण हिसाबले पनि आफूहरूलाई सहयोग गरेको दाहालले बताए । 'गणतन्त्रका निम्ति आधार तयार हामीले पार्यौँ । र ज्ञानेन्द्रले आफ्नो मूर्खतामार्फत पनि हामीलाई मद्दत गरेकै हो । उनले धेरै मूर्खता नगरेको भए अझै केही वर्ष..। उनले सात राजनीतिक दलमाथि पनि दमन नगरेको भए, नेताहरूलाई उनैको पछि लाग्छौँ भन्दा, लात्ताले नहानेको भए अझै केही वर्ष टिक्न पनि सक्थे । भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका पनि गणतन्त्र स्थापनामा महत्त्वपूर्ण छ,' उनले भने ।
अहिले पनि फेरि राजतन्त्र पुनःस्थापनाको कलाविहीन नाटक प्रदर्शन गरिएको अध्यक्ष दाहालको भनाइ छ । यही कदमले नेपाली जनतालाई अझ अधिकारसम्पन्न बनाउन, अझ सचेत हुन र समाजवादी क्रान्तिको यात्रामा अगाडि बढाउन नयाँ संकल्पको आधार तयार बनेको उनले बताए । 'फेरि पनि ज्ञानेन्द्र शाहको भूमिका महत्त्वपूर्ण नै हुन्छ । कथा, साहित्य, उपन्यास हिरोले मात्रै चल्दैन, भिलेन पनि चाहिन्छ । भिलेन सक्रिय भएन भने हिरो पनि राम्रो सफल नहुन सक्छ । भिलेन अलि खतरनाक भएर आयो भने तागतका साथ काम गर्दछ,' उनले भने ।
अध्यक्ष दाहालले अहिले संविधान संशोधन नभई समीक्षाको जरुरी रहेको बताए । संविधानको समीक्षा गरेर मात्रै संशोधन गर्न आवश्यक रहेको उनको भनाइ छ ।
