कांग्रेस नेता केदार नरसिंहले हडपेको जमिनमा नगरपालिकाले लगायो तारजाली, वडा र नापी बेखबर

चैत्र ५, २०८१

विवेक पोख्रेल

Congress leader Kedar Narsingh's land usurped by the municipality, tarjali, wards and surveyors are unaware.

काठमाडौँ — तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित लोकतान्त्रिक चोक नजिकै कांग्रेस नेता एवं नेपाल मेडिकल एसोसिएसनका पूर्वअध्यक्ष रहेका डा केदारनरसिंह केसीको कम्पाउन्डभित्र रहेको सरकारी जमिन नगरपालिकाले आफ्नो मातहतमा ल्याएको छ ।

सोमबार नगरपालिकाले तारजाली लगाउँदै सरकारी जमिन छुट्याएको तारकेश्वरका नगर प्रमुख कृष्णहरि महर्जनले बताए । तर, यस विषयमा जमिन रहेको वडाका अध्यक्ष श्यामकृष्ण महर्जन र मालपोत कार्यालय मनमैजुका प्रमुख मालपोत अधिकृत नरेन्द्र पौडेललाई भने कुनै जानकारी छैन । 

सरकारी जमिन हडपेको आरोप लागेका केसीलाई साथ दिँदै आएकोसमेत नगर प्रमुख कृष्णहरि महर्जनलाई आरोप छ । तर, महर्जन १३ नगर सभाबाट सार्वजनिक जग्गा संरक्षण गर्ने नीति अनुसार तारबार लगाएको बताउँछन् ।

उनले भने,‘ हामीले तारजाली लगाउने कुरा पहिल्यै थियो । व्यक्तिगत छविलाई बिगार्न यस्तो प्रचार गरियो,’ कांग्रेसबाट विजयी प्रमुख महर्जनले भने, ‘हामी नगरभित्रको सबै सार्वजनिक जमिनको संरक्षण गछौं।’

यसअघि उनले कान्तिपुरलाई सार्वजनिक जमिन हेर्ने र पहिचान गर्ने काम मालपोतको र नापीको भएको बताएका थिए । तर उक्त कार्यालयलाई जानकारी नै नदिएर उनले जमिन छुट्याएका हुन् । 

केसीले झण्डै ९ आना सरकारी जग्गा ओगटेर निजी कम्पाउन्ड लगाएको आवाज संसद्‌मा उठेपछि उनले सरकारी जग्गा दुरुपयोग गरेको विषय सार्वजनिक भएको थियो । बुधबार प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू शिशिर खनाल र सुमना श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत तारकेश्वर–९ मा पर्ने लोकतान्त्रिक चोकको जग्गा कांग्रेस नेताको कब्जामा रहेको बताएका थिए । 

केसीले आफूले घर बनाउनुअघि त्यहाँ ढिस्को रहेको भन्दै त्यो नभत्कियोस भनेर पर्खाल लगाएको बताएका थिए । उनले सो जमिन २०४९ सालमा किनेको र अहिले पर्खालभित्र रहेको ६३ नम्बर कित्ताको जग्गामा ढिस्को रहेको जग्गा थेग्नका लागि स्थानीय र जनप्रतिनिधिसमेतको रोहवरमा जमिन किनेको केही समयपछि कम्पाउन्डसहितको पर्खाल लगाइएको बताएका थिए । 

पर्खालभित्र नेपाल सरकारको सडकको जमिन पनि पर्छ भने आफूलाई पछि मात्र थाहा भएको र कम्पाउन्डभित्रको सरकारी जग्गा आफूले भोगचलन नगरेको उनको दाबी छ । केसीले गरेको पत्रकार सम्मेलनमा समेत सहभागी भएर नगरप्रमुखले उनकै पक्षमा बोलेका थिए ।

कब्जा भनिएको जमिन कस्को हो ?

बुधबार संसद्मा रास्वपा सांसद खनालले मचागाः (नेवार समुदायको चिहान जहाँ अकालमा मृत्यु भएका दूधे बच्चाहरु गाडिन्छन्) नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नम्बर ६२ र ६३ कांग्रेस नेताले कब्जामा लिई भोगचलन गर्दै आएको बताएका थिए । 

धर्मनारायण महर्जनले लेखेको मनमैजुको उत्पत्ति, इतिहास र संस्कृति पुस्तकमा पनि त्यो क्षेत्रलाई मचागाः भएको उल्लेख छ । तत्कालीन मनमैजु गाउँ विकास समितिका उपाध्यक्ष लबकुमार बस्नेत पनि आफू स्थानीय भएकाले सो क्षेत्रमा मचागाः भएको बताए । ‘अहिले बाटो भएको क्षेत्रतिर मचागाः थियो तर पछि यहाँ मचागाः गरिने संस्कार कम हुँदै गयो,’ उनले भने ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully