काठमाडौँ — प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक निरन्तर नराखेकोमा सत्तारुढ कांग्रेसका सांसद रामकृष्ण यादवले असन्तुष्टि जनाएका छन् ।
लेखा समितिको मंगलबारको बैठकमा लेखा समितिका पूर्वसभापतिसमेत रहेका यादवले समयमा बैठक नराख्दा जनतामा निराशा बढिरहेको बताए ।
समिति बैठकको सुरुमै सांसद यादले बैठक आह्वान नगरिएको भन्दै सभापति ऋषिकेश पोखरेलसँग असन्तुष्टि जनाएका हुन् । 'लेखा समिति पनि प्रतिनिधिसभाको शून्य समयजस्तै भएको छ । समितिमा कुरा राख्ने तर त्यो कुरा कार्यान्वयन नहुने अवस्था छ,' उनले सभापति पोखरेललाई भने, 'समितिको बैठक तिहारजस्तै र पण्डितसँग दिन हेराएर महिनामा एक दिन, दुई महिनामा एक दिन राख्ने भएको छ ।'
समितिको बैठक नराख्दा जनतामा नकारात्मक सन्देश गइरहेको यादवको भनाइ थियो । 'समितिप्रति जनतामा निराशा देखिएको छ,' उनले भने ।
मिनी संसद्को रूपमा रहेको समिति बैठक पटक पटक नराख्दा समस्या हुने गरेको यादवले बताए । लेखा समितिको यसअघिको बैठक फागुन ९ मा बसेको थियो ।
समिति सभापति पोखरेलले भने उपसमितिका बैठक बसेको भन्दै समिति बैठक नबसेको भन्न नमिल्ने बताए ।
