काठमाडौँ — राष्ट्रिय सभाको सोमबारको बैठकबाट तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गरेको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ पारित गरयोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
विधेयकमाथि छलफल सांसदहरूले उठाएका प्रश्नको जवाफमा मन्त्री भट्टराईले नेपालमा उच्च शिक्षामा चिकित्सा शिक्षातर्फ नेत्र (आँखा) स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा तथा नेत्र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने भएकोले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक ल्याइएको बताएकी थिइन् । आँखा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रको रुपमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्न आवश्यक रहेको उनाको भनाइ थियो ।
सांसदहरूले छलफलका क्रममा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को स्वागत गरेका थिए । सांसदहरूले विधेयकले नेत्र उपाचार सेवा विस्तारमा सहयोग पुग्ने विश्वास गरेका थिए ।
सांसद गोपीबहादुर सार्की आछामीले विधेयकले आगामी दिनमा आँखा उपचारको क्षेत्रमा राम्रो उपाचार हुने बताएका थिए । सांसद मायाप्रसाद शर्माले यो विधेयक समयसान्दर्भिक रहेको बताएका थिए । 'यो सरोकारवालासँग छलफल गरेर आएको छ । आर्थिक रुपमा पनि आर्थिकभार व्यहोर्नुपर्ने छैन । यो विधेयक उचित छ,' उनले भने ।
सांसद सुरेशकुमार आलेमगरले आँखाको स्वास्थ्यको विषयमा विश्वविद्यालय स्थापना हुनु राम्रो भएको बताए भने सांसद पदमबहादुर परियारले गहिरोसँग छलफल गरेर आएको विधेयकले आँखाको स्वास्थ्य सेवा विस्तार गर्न सहयोग पुग्ने बताए । उनले भने, 'आँखा उपचारको सेवा विस्तार गर्दै सरल, सहज र पहुँचयोग्य उपचार सेवा पाउने भएकाले विधेयक राम्रो छ । तर केही समय विश्वविद्यालयलाई स्वतन्त्र रुपमा काम गर्न छाड्नुपर्छ ।'
