बेचन झा र टेकनारायण पाण्डेलाई थुनामुक्त गर्न सर्वाेच्चको अस्वीकार

चैत्र ४, २०८१

घनश्याम खड्का

Supreme Court's refusal to release Bechan Jha and Teknarayan Pandey from prison

काठमाडौँ — नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झा र टेकनारायण पाण्डेलाई थुनामुक्त गरिपाऊँ भनी परेको निवेदनमा आदेश जारी गर्न सर्वाेच्च अदालतले अस्वीकार गरेको छ ।

उनीहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै परेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वाेच्चका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासले खारेज गरिदिएको छ ।

केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेका झाले सर्वाेच्चमा गत माघ २ मा आफूलाई थुनामुक्त गरिपाऊ“ भनी रिट दायर गरेका थिए । भारतबाट पक्राउ गरी ल्याइएका झाविरुद्ध सरकारले पूरक अभियोजन गर्दै जिल्ला अदालत काठमाडौंमा संगठित अपराधविरुद्ध मुद्दा दायर गरेको थियो । त्यसमाथि सुनुवाइ गर्दै जिल्ला अदालतले गत भदौ २ मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

त्यसविरुद्ध झाले उच्चमा निवेदन दिएका थिए । उच्चले पनि छाड्न अस्वीकार गरेपछि झाले सर्वाेच्चको ढोका ढकढक्याएका थिए । सर्वाेच्चले पनि सुरुकै आदेश सदर गरेपछि अब उनी छुट्ने–नछुट्ने निर्णयको टुंगो जिल्ला अदालतको अन्तिम फैसलामा भर पर्नेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला र पुनरावेदन दुवै तहबाट दोषी ठहर भएका पूर्वगृह सचिव टेकनारायण पाण्डेकी पत्नी मञ्जु पाण्डेले पनि उनलाई थुनामा राख्ने काम गैरसंवैधानिक भएको भन्दै रिहाइका लागि बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । त्यसमाथि कुमार चुडाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले सुनुवाइ गर्दै रिट खारेज गरिदिएको हो ।

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully