इराकमा मृत्यु भएकी नेपाली महिलाको शव स्वदेश ल्याउनका लागि पहल गर्न माग

चैत्र ४, २०८१

कान्तिपुर संवाददाता

Request to take initiative to bring the dead body of Nepali woman who died in Iraq

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का सांसद माधव सोपकोटाले रोजगारीका लागि इराकमा मृत्यु भएकी सिन्धुपाल्चोककी सुमिना तामाङको शव नेपाल ल्याउन लागि आवश्यक कानुनी र कुटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सापकोटाले मृतक तामाङको परिवारलाई उचित क्षतिपूर्ति दिन समेत माग गरेका हुन् ।

दुई वर्षअघि रोजगारीका लागि इराक पुगेकी सिन्धुपाल्चोककी सुमिना तामाङको २ चैतमा मृत्यु भएको छ । घरमा काम गर्दागर्दै भुइँमा ढलेकी तामाङलाई तत्काल उपचारका लागि अस्पताल लागिएकोमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको थियो । 

गैरकानूनी बाटो हुँदै इराक पुगेकी उनी गम्भीर रोग र शारीरिक अवस्था कमजोर रहेका कारण उनलाई नेपाल ल्याउन दुई पटकसम्म एयरलाइन्सले स्वीकृति नदिएपछि हवाई टिकट रद्द गरिएको थियो । 

अब उनको शव नेपाल पठाउन करिब दुई महिना लाग्ने जनाइएको छ । 

नेपाल सरकारले प्रतिबन्ध लगाएको इराकमा करिब २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेको एनआएनएको तथ्यांक छ ।

कान्तिपुर

Link copied successfully