नेता जन्माउने पीएन क्याम्पस

पीएन क्याम्पसमा स्ववियु सदस्यदेखि सभापति बनेकाहरू मुलुकको सभामुखदेखि गभर्नरसम्म भएका छन् । पूर्वसभामुख कृष्णबहादुर महरा, गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्री पीएन क्याम्पसकै विद्यार्थी राजनीतिबाट आएका हुन् ।

चैत्र ४, २०८१

अनुप पौडेल

PN campus that produces leaders

काठमाडौँ — पृथ्वीनारायण क्याम्पस(पीएन क्याम्पस)को गेटमा पछिल्लो एक हप्ता राजनीतिक दलका जिल्लादेखि केन्द्रसम्मका नेताहरूको आउजाउ निकै बाक्लो रह्यो । नेताहरू क्याम्पस गेटका चिया पसल, सम्पर्क कार्यालयमा मंगलबार हुन लागेको स्ववियु निर्वाचनकै विषयमा गफिएको भेटिन्थे ।

पोखरा महानगरपालिका–१ क्याम्पस गेटमा सोमबार दिउँसो भेटिएका कांग्रेस नेता एवं पूर्वकानुनमन्त्री यज्ञबहादुर थापाले सुनाए, ‘हाम्रो समयमा भोलि चुनाव छ भनेपछि लाठी लिएर एउटाले अर्कोलाई, अर्कोले अर्कोलाई पिट्ने हुन्थ्यो । आज त शान्त रहेछ । यस्तो पनि हुन सक्छ भनेर आश्चर्य लाग्यो ।’ 

एमालेबाट प्रतिनिधिसभा सदस्य रहेका पदम गिरी गत वर्ष कानुनमन्त्री हुनेबित्तिकै पोखरा आइपुगेका थिए । त्यतिबेला उनी क्याम्पसआसपासका चिया पसलमा पसे । क्याम्पस पसेर आफूलाई पढाएका प्राध्यापकलाई भेटे, कोठा-कोठा पसे । पृथ्वीनारायण क्याम्पसको राजनीतिक वातावरणले राजनीतिमा स्थापित गर्न गरेको योगदानकै कारण अहिलेको गण्डकी प्रदेशका धेरै नेताहरूको आत्मीयता क्याम्पससँग जोडिएको छ । 

पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएकाहरू प्रायः राजनीतिमा स्थापित भएका, सरकारको उच्च ओहोदामा पुगेका छन् । त्यसैले यो क्याम्पस विशेषतः पश्चिमाञ्चल क्षेत्रमा नेता जन्माउने एउटा कारखाना नै मानिन्छ । ‘यहाँको स्ववियु निर्वाचनले, यहाँको राजनीतिक आन्दोलनले अहिलेको गण्डकी प्रदेशभरको राजनीतिमा विशेष अर्थ राख्छ,’ पूर्वमन्त्री एवं पूर्वस्ववियु सभापति पदम गिरी भन्छन्, ‘यहाँको स्ववियुले नेताहरू जन्माउँछ । नेता उत्पादन गर्ने कारखाना भन्यो भने पनि फरक पर्दैन ।’

राजनीतिक दल प्रतिबन्धमा हुँदा क्याम्पसमा पढ्ने विद्यार्थीहरू बहुदलीय प्रजातन्त्रको पक्षमा नारा लगाउँथे, विद्यार्थी संगठनहरू पञ्चायतविरुद्ध विद्यार्थीलाई संगठित गरेर आन्दोलन गर्थे । राजा ज्ञानेन्द्रले ०६१ माघ १९ मा गरेको ‘कू’विरुद्ध पनि पृथ्वीनारायण क्याम्पस क्षेत्रमा दैनिकजसो प्रदर्शन हुन्थ्यो । यस्तै आन्दोलनको बलमा यो क्याम्पसले राष्ट्रिय स्तरमा प्रभाव जमाउन सक्ने नेता जन्माएको छ । 

PN campus that produces leadersपृथ्वीनारायण क्याम्पसमा ०२२ सालमा स्ववियु स्थापना भयो । यसपछि २१ जना स्ववियु सभापति बनेका छन् । शान्तबहादुर कोइराला (२०२२ साल), गणेश शेरचन (२०२३ साल), त्रिभुवन शर्मा (२०२४ साल), दिपेन्द्रबहादुर पौडेल क्षेत्री (२०२५ साल), पुष्पकमल सुवेदी (२०२६ साल), सोमनाथ अधिकारी (२०२७ र ०३६ साल), सुन्दर गुरूङ (२०२८ साल), रामनाथ अधिकारी (२०२९ साल), हिमाञ्चल भट्टराई (२०३७ साल), महेन्द्र कतिला (२०३८ साल), खगराज अधिकारी (२०४० र ०४१ साल), तुलबहादुर गुरूङ (२०४३ साल), झलक सुवेदी (२०४५ साल), रवीन्द्र अधिकारी (२०४९ साल), धनराज आचार्य (२०५१ साल), दिलिपविक्रम शाही (२०५३ साल), भक्तबहादुर गुरूङ (२०५५ साल), राजीव पहारी (२०५७ साल), सोभियत ढकाल (२०६० साल), पदम गिरी (२०६२ साल) र रश्मि आचार्य (२०६५ साल)का स्ववियु सभापति हुन् । यीमध्ये सोमनाथ अधिकारी लामो समय पार्टी राजनीतिमा सक्रिय थिए । त्यसपछि ०७६ कात्तिकमा प्रदेश नम्बर १ को प्रदेश प्रमुख बने । दीपेन्द्रबहादुर पौडेल क्षेत्री योजना आयोगको उपाध्यक्ष र नेपाल राष्ट्र बैंकको गभर्नर भए । 

खगराज अधिकारी संघ सरकारको स्वास्थ्यमन्त्री, गृहमन्त्री र गण्डकी प्रदेशको मुख्यमन्त्री बने । तुलबहादुर गुरूङ राज्यमन्त्री भए । रवीन्द्र अधिकारी संघ सरकारको पर्यटनमन्त्री बने । धनराज आचार्य पोखरा महानगरपालिकाको मेयर छन् । राजीव पहारी युवा संघको अध्यक्ष, गण्डकी प्रदेशसभा सदस्य र युवा संघको इन्चार्ज भए । पदम गिरी संघ सरकारको कानुनमन्त्री, स्वास्थ्यमन्त्री बने । 

स्ववियु सभापति बनेका मात्र होइन पदाधिकारी, सदस्य पनि पालिका प्रमुख, प्रदेश सांसददेखि प्रतिनिधिसभाको सभामुखसम्म बनेका छन् । ०४० मा खगराज अधिकारी सभापति हुँदा कोषाध्यक्ष भएका कृष्णबहादुर महरा संविधानसभा सदस्य, पटक-पटक मन्त्री र सभामुख भए । अखिल (पाँचौं) अर्थात् हालको अनेरास्ववियु र मोहनविक्रम सिंह नेतृत्वको पार्टीको अखिल (छैटौं) मिलेर पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन लड्थे । यही समयमा अखिल (छैटौं)का महरा कोषाध्यक्ष बनेका थिए । कोषाध्यक्ष बनेपछि उनी संगठन र पार्टीको काममा सक्रिय भए । कोषाध्यक्ष बनेको ८ वर्षपछि रोल्पाबाट महरा ०४८ को प्रतिनिधिसभा लडे । 

०४१/४२ का स्ववियु सदस्य कृष्णबहादुर थापा ०५४ को तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर, ०७४ मा गण्डकी प्रदे सभा सदस्य निर्वाचित भए । ०७९ को निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पराजित भए । उनलाई ०४९/५० का कोषाध्यक्ष एवं ०५१/५२ का स्ववियु सभापति धनराज आचार्यले पराजित गरेका थिए । 

०५३/५४ का स्ववियु कोषाध्यक्ष सुधिरकुमार पौड्याल ०७४ मा स्याङ्जाको आँधिखोला गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए । ०७९ मा गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएका पौड्याल हाल सार्वजनिक लेखा समिति सभापति छन् । 

स्ववियु सभापति मात्र होइन यहाँबाट विद्यार्थी राजनीति गरेकाहरू पार्टी राजनीतिमा स्थापित छन् । पढ्नलाई पीएन क्याम्पस पुगेका कास्कीका यज्ञबहादुर थापा ०३१ सालमा नेविसंघको राजनीतिमा होमिए । ०३६ सालमा विमलेन्द्र निधि नेविसंघको सभापति हुँदा थापा उपसभापति बनेका थिए । 

कांग्रेसको जिल्ला सभापति, संघ सरकारको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भए । पीएन क्याम्पसमा १२ वर्ष नेविसंघको राजनीतिमा सक्रिय बनेका थापा यस क्याम्पसलाई नेतृत्व तयार गर्ने उर्वर भूमिका रूपमा व्याख्या गर्छन् । ‘पार्टी प्रतिबन्धित हुँदा प्रजातन्त्रका लागि हामी सबै संगठन आ–आफ्नो झण्डा बोकेर निस्कन्थे । हरेक आन्दोलनमो त्यतिबेला यो क्याम्पसको उपस्थिति सम्झनलायक छ,’ उनी भन्छन्, ‘पृथ्वीनारायण क्याम्पस नेतृत्व तयार गर्ने उर्वर भूमि हो ।’

पृथ्वीनारायण क्याम्पसमा पढेका नेविसंघ पृष्ठभूमिका धनराज गुरूङ संविधानसभा सदस्य र कानुनमन्त्री बने । कास्कीका महादेव गुरूङ राज्यमन्त्री र पार्टीको जिल्ला सभापति बने । नेविसंघले गर्ने आन्दोलनमा सक्रिय भएर लाग्ने कुलप्रसाद गुरूङ, वीरबहादुर गुरूङ पछि सक्रिय राजनीतिबाट टाढिए । 

बहुदलीय प्रजातन्त्रको पक्षमा, पञ्चायतविरुद्ध र विभिन्न आन्दोलनमा क्याम्पसका सबै विद्यार्थी संगठन एकठाउँ हुन्थे । पठनपाठनबाहेक आन्दोलनले नेतृत्वमा पुर्‍याउन भूमिका खेलेका कारण पृथ्वीनारायण क्याम्पस नेपाली राजनीतिका लागि महत्त्वपूर्ण भूमि भएको पूर्वमन्त्री पदम गिरी बताउँछन् । ‘कुनै पनि नेतृत्वमा पुर्‍याउने काम आन्दोलन वा मुभमेन्टले गर्छ । त्यतिबेलाको सत्ता र व्यवस्थाविरुद्ध आन्दोलन गर्दा त्यहाँबाट धेरै नेता जन्मिए । यही कारण राज्य सत्ताको उपल्लो तहमा पुगे,’ उनले थपे, ‘पृथ्वीनारायण क्याम्पसले समयलाई बुझ्न सक्ने सक्षम र सबल धेरै नेता जन्माएको छ ।’

पूर्वस्ववियु सभापति खगराज अधिकारी क्षमतावान् नेतृत्व उत्पादन गर्ने क्षमता पृथ्वीनारायण क्याम्पससँग रहेको बताउँछन् । ‘शैक्षिक क्षेत्रमा पनि अब्बल छ । पढ्नेमात्र होइन राज्यको माथिल्लो तहमा पुगेर नीतिगत हिसाबले सकारात्मक हस्तक्षेप गर्नसक्ने क्षमता यहाँको उत्पादनसँग छ । बौद्धिक उचाइ राम्रो छ,’ उनले भने, ‘पीएन क्याम्पस सबै कुराको त्रिवेणीजस्तो छ ।’

पूर्वसभापति दिलीपविक्रम शाही आजकल विद्यार्थी राजनीति पार्टीको छायाँमा परेकाले बलियो उपस्थिति देखाउन नसकेको टिप्पणी गर्छन् । विद्यार्थी संगठनले परीक्षा समयमा भए/नभएको, क्यालेन्डरअनुसार हुन सके/नसकेको, शिक्षाको गुणस्तरसहित विद्यार्थीका वास्तविक मुद्दा सम्बोधन गर्नुको सट्टा नेताबाट परिचालित हुने परिस्थिति बनेको उनको भनाइ छ । ‘हामी विद्यार्थी राजनीतिमा हुँदा सचेतना, पहरेदारी र रचनात्मक क्रियाशीलता हुन्थ्यो,’ शाहीले भने, ‘अहिले विद्यार्थी नेता पार्टीका नेताको रिमोटबाट चलेका छन् । आन्तरिक समस्या लगेर स्ववियुको निर्वाचन हुन दिने कि नदिने भनेर देखाउन थालेका छन् ।’ विद्यार्थी संगठनले विद्यार्थीका मुद्दा उठाउन नसकेकै कारण राजनीतिप्रति नयाँ पुस्ताको वितृष्णा बढेको उनको भनाइ छ । 

२२ औं अध्यक्ष बन्न ८ उम्मेदवार

पृथ्वीनारायण क्याम्पसको स्ववियुको २२ औं अध्यक्ष बन्न ८ जनाले आकांक्षा देखाएका छन् । मंगलबार हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ वटा संघ/संगठन/प्यानल दर्ता भएका छन् । 

स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी)बाट नविन अधिकारी, अखिल (छैठौ)बाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरूङ, नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, संयुक्त प्यानलबाट सन्तोष पौडेल, अनेरास्ववियुबाट विष्णु पोखरेल उम्मेदवार छन् । कमल सुवेदी र विप्लवी न्यौपाने स्वतन्त्र उम्मेदवार छन् ।

समानुपातिकतर्फ अखिल (क्रान्तिकारी), अनेरास्ववियू, प्राज्ञिक विद्यार्थी परिषद नेपाल, अखिल (छैठौ), अखिल (क्रान्तिकारी) वैद्य, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (समाजवादी) र नयाँ शक्ति विद्यार्थी युनियनले उम्मेद्वारी दिएको निर्वाचन अधिकृत प्रा.डा रामचन्द्र पोखरेलले जानकारी दिए । पृथ्वीनारायण क्याम्पसमा ९ हजार २ सय ७० मतदाता छन् ।  मंगलबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ । 

अनुप पौडेल

Link copied successfully