त्रिविका १५ आंगिक क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित, निर्वाचन प्रक्रिया तत्काल अघि बढाउन केन्द्रीय अनुगमन तथा समन्वय समितिको पत्र
काठमाडौँ — विद्यार्थी संगठनको अवरोधका कारण त्रिभुवन विश्वविद्यालयका १५ आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । सत्तारूढ कांग्रेसनिकट नेविसंघ, एमालेनिकट अनेरास्ववियु, प्रतिपक्षी माओवादीनिकट अखिल क्रान्तिकारीलगायत संगठनको तालाबन्दी र निर्वाचन समितिका सदस्यमाथि धम्की जस्ता कारणले ती क्याम्पसमा स्ववियु निर्वाचन प्रभावित भएको निर्वाचन समितिहरूले जनाएका छन् ।
त्रिविका ६२ आंगिकमध्ये २२ क्याम्पस काठमाडौं उपत्यकाभित्र र ४० क्याम्पस बाहिर छन् । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार काठमाडौंका ६ र बाहिरका ९ क्याम्पसमा निर्वाचन अनिश्चित बनेको छ ।
विश्वविद्यालय क्याम्पस कीर्तिपुर, सरस्वती क्याम्पस सोह्रखुट्टे, पब्लिक युथ क्याम्पस धोबीचौर, शंकरदेव क्याम्पस पुतलीसडक, नेपाल ल क्याम्पस, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्गलाई रोकिएको निर्वाचन प्रक्रिया अघि बढाउन समितिले आइतबार निर्देशन दिएको छ ।
सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर, सुर्खेत बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, पक्लिहवा क्याम्पस रूपन्देही, तेह्रथुम क्याम्पस, रामसागर रामस्वरूप क्याम्पस जनकपुर, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर र कृषि क्याम्पस रामपुरलाई पनि निर्वाचन प्रक्रिया तत्काल अघि बढाउन पत्राचार गरिएको निर्वाचन समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । ‘स्ववियु निर्वाचन सम्पन्न गर्नुपर्नेमा त्यस क्याम्पसमा के कति कारणले हुन नसकेको हो ? सम्बद्ध पक्षसँग समझदारी कायम गरी जुन अवस्था र प्रक्रियामा रोकिएको हो, सोही अवस्था र प्रक्रियाबाट निर्वाचन कार्य तत्कालै अघि बढाउन निर्देशन गरिन्छ,’ क्याम्पसलाई पठाइएको पत्रमा भनिएको छ ।
त्रिविअन्तर्गतका आंगिक, सम्बन्धनप्राप्त सामुदायिक र निजी क्याम्पसमा विद्यार्थी कल्याण र हकहितका लागि स्थापित साझा संस्था स्ववियुको निर्वाचन ५ चैतका लागि तोकिएको छ । केही सामुदायिक क्याम्पसमा पनि विद्यार्थी संगठनकै असहयोगले निर्वाचन कार्यतालिका प्रभावित भएको त्रिविले जनाएको छ । कतिपय क्याम्पसमा भने २०७९ मा निर्वाचित स्ववियु अध्यक्षलगायत पदाधिकारीले अवरोध गरिरहेको निर्वाचन समितिहरूले जनाएका छन् । स्ववियु निर्वाचन हुन नसके ६/६ महिनासम्म कार्यकाल थप हुन सक्ने प्रावधानका कारण कतिपय पदाधिकारीले निर्वाचन टार्न खोजेको क्याम्पस प्रमुखहरूको भनाइ छ ।
नेविसंघको आन्तरिक गुटबन्दीका कारण केही क्याम्पसमा निर्वाचन अवरुद्ध भएको आरोप अनेरास्ववियुले लगाएको छ । नेविसंघले भने आरोप/प्रत्यारोपभन्दा पनि संवाद र सहकार्यबाट विवादको निरूपण गर्नुपर्नेमा जोड दिएको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र अनेरास्ववियुका अध्यक्ष समिक बडालले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचनमा प्रतिबद्ध रहेको समेत जनाएका छन् ।
त्रिवि विश्वविद्यालय क्याम्पसमा नेविसंघसहित स्ववियुका पदाधिकारीको मिलेमतोमा तालाबन्दी गरिएको विद्यार्थीको गुनासो छ । तालाबन्दी खुलाउन र निर्वाचन अघि बढाउन त्रिवि उपकुलपति लगायतले राजनीतिक नेतृत्व र विद्यार्थी प्रतिनिधिसँग वार्ता गरे पनि सफल हुन सकेको छैन । नेपाल ल क्याम्पसमा अनेरास्ववियुले निर्वाचन कार्यतालिका च्यातेपछि अवरोध भएको एक अध्यापकले बताए । विश्वभाषा क्याम्पसमा अखिल क्रान्तिकारीको तालाबन्दीका कारण निर्वाचन स्थगन गरिएको छ । पब्लिक युथ क्याम्पसमा नेविसंघको अवरोधका कारण चुनावी प्रक्रिया अवरुद्ध बनेको निर्वाचन समितिले जनाएको छ । शंकरदेव क्याम्पसमा अनेरास्ववियु लगायत विद्यार्थीले तालाबन्दी गरेपछि निर्वाचन कार्यतालिका अवरुद्ध बनेको छ । सरस्वती क्याम्पसमा अनेरास्ववियु लगायतका विद्यार्थी संगठनको अवरोध छ ।
विद्यार्थी संगठनका केन्द्रीय समितिले गठबन्धन नगर्ने नीति लिए पनि नेविसंघ र अनेरास्ववियु, अनेरास्ववियु र अखिल क्रान्तिकारी, नेविसंघ र अखिल क्रान्तिकारी, अनेरास्ववियु र अनेरास्ववियु (एकीकृत समाजवादीनिकट), नेविसंघविरुद्ध कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठनबीच तालमेल गरेर विभिन्न क्याम्पसमा उम्मेदवारी दर्ता गरिएका छन् ।
सानोठिमी बहुमुखी, जनप्रशासन क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीबीच तालमेल छ भने त्रिचन्द्र क्याम्पसमा नेविसंघविरुद्ध अनेरास्ववियु, अखिल क्रान्तिकारीबीच गठबन्धन बनेको छ । गोरखा क्याम्पसमा अखिल क्रान्तिकारीविरुद्ध नेविसंघ र अनेरास्ववियुले चुनावी मोर्चा कसेका छन् । २०७९ मा स्ववियु निर्वाचन हुन नसकेका पोखराका पृथ्वीनारायण र पश्चिमाञ्चल क्याम्पस, वीरगन्जको ठाकुरराम, काठमाडौंका रत्नराज्यलक्ष्मी, त्रिचन्द्र, नेपाल कमर्सलगायत क्याम्पस यस पटक चुनावको अन्तिम तयारीमा छन् ।
केही क्याम्पसमा निर्वाचन अनिश्चित बनेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आचारसंहिताविपरीत कार्य गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव शिवकुमार सापकोटाले आइतबार विज्ञप्ति जारी गर्दै तोकिएको मितिमा निर्वाचन गराउन र आचारसंहिता पालना गर्न सरोकारवालालाई आग्रहसमेत गरेका छन् । ‘निर्वाचनपूर्व विश्वविद्यालय र क्याम्पसका सार्वजनिक संरचना तोडफोड भएको, निर्वाचन समितिका पदाधिकारीलाई विभिन्न किसिमको धम्की आइरहेको भन्ने समाचारप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आचारसंहिताविपरीत हुने जो कसैका गतिविधि एवं क्रियाकलाप प्रचलित कानुनबमोजिम निगरानी गर्न तथा आवश्यक कारबाही गरिदिन हुन सम्बन्धित मन्त्रालय र निकायलाई अनुरोध गरिन्छ ।’ स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका–२०८१ पालना गर्न पनि विद्यार्थी संगठन, मतदाता विद्यार्थीलगायत सरोकारवालालाई मन्त्रालयले अपिल गरेको छ । स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त तरिकाले निर्वाचन सम्पन्न गर्न पनि प्रवक्ता सापकोटाले आग्रह गरेका छन् ।
