‘विषादी प्रयोग विधिबारे किसानलाई बुझाउन सकेनौं'

चैत्र ४, २०८१

कान्तिपुर संवाददाता

”We could not explain the method of pesticide use to the farmers”

काठमाडौँ — तरकारी तथा बालीमा आफूखुसी अत्यधिक विषादी प्रयोग गर्दा मानव स्वास्थ्य र वातावरणलाई नै असर पार्छ भन्नेमा किसानलाई थाहै नभएको होइन । तर, उनीहरु 'रोगकिराको प्रकोपबाट बाली जोगाउन अर्को विकल्प नभएको' बताउँदै आएका छन् । विषादी प्रयोग भएका तरकारी खाँदा टाउको वा छाती दुख्ने, वान्ता हुने, रिंगटा लाग्ने, मूर्च्छा पर्ने, आँखा रातो हुने जस्ता तत्कालका समस्या देखिने विज्ञ बताउँछन् । यसका दीर्घकालीन असर त धेरै छन् । तरकारीमा विषादीको प्रयोग, यसको विकल्प र रोकथामका विषयमा कान्तिपुरका राजु चौधरीले प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका पूर्व प्रमुख सहदेव हुमागाईसँग गरेको कुराकानी :

किसानले तरकारीमा विषादीको प्रयोग कसरी गरिरहेका छन् ?
तरकारी लगायतका वस्तुमा रासायनिक विषादीको प्रयोग बढ्दो छ । विषादी प्रयोग गर्दा मात्राको पहिचान नै गर्दैनन् ।  अनुमानका भरमा विषादी प्रयोग भइराखेको छ । विषादीको प्रयोग बढ्नुको मुख्य कारण सचेतनाको अभाव हो । सर्वसाधारण किसानमा जनचेतनाको अभाव छ । जनचेतना भएका ठाउँमा विषादीको मात्रामा केही भए पनि कमी आएको देखिन्छ । त्यहाँ प्रांगारिक मलको प्रयोगमा जोड दिएका छन । कृषक समूह पनि लागेका छन् । तर नयाँनयाँ व्यावसायिक पकेट क्षेत्रमा विषादीको समस्या देखिएको छ । विषादीबारे सचेतना कार्यक्रम पुग्न सकेका छैनन् । त्यही कारण तरकारीको नयाँ पकेट क्षेत्रमा रासायनिक विषादीको प्रयोग बढ्दो छ । विषादी आयातको तथ्यांक र ट्रेन्ड हेर्दा पनि त्यस्तै देखिन्छ । 

विषादी कति मात्रामा प्रयोग गर्नुपर्छ,अन्तर्राष्ट्रियस्तर र नेपालको तुलनामा के फरक देख्नुहुन्छ ?
बाली र रोगअनुसार कति मात्रामा विषादी प्रयोग गर्ने निर्भर हुन्छ । केही वर्षअघि गरिएको अध्ययनले नेपालमा १६.५ ग्राम प्रतिहेक्टर एआई विषादी प्रयोग हुने गरेको पाइएको थियो । विषादी आयातका लागि दर्ता सूचकपत्र दिइएको हुन्छ । सूचकपत्रमा प्रयोगको विधि र जानकारी हुन्छ । तरकारीमा विषादी प्रयोग गरिसकेपछि केही समय पर्खिनुपर्ने हुन्छ । त्यो सबै सूचकपत्रमा उल्लेख हुन्छ । तर त्यो सूचकपत्र किसानमाझ पुग्न सकेन । सरकारले पुर्‍याउन सकेन । जसले गर्दा विषादीको अवस्था भयावह बनेको छ । अन्तर्राष्ट्रिय ट्रेन्डको कुरा गर्दा जापान, कोरियालगायत विकसित मुलुकभन्दा हामी कमै प्रयोग गर्छौं । तर हाम्रो व्यवस्थित भएन । व्यावसायिक भएन । विधि पुर्‍याउन सकेनौं । त्यही कारण समस्या देखिएको छ ।

सूचकपत्र किसानसम्म किन पुगेन ? पुर्‍याउने दायित्व कसको हो ? 
किसानलाई सचेत गराउने, जनचेतना दिने काम सरकारकै हो । अहिले तीन तहको सरकार छ । कृषि क्षेत्रमा विभिन्न निकाय छन् । संघ र प्रदेश सरकारका आफ्नै निकाय छन् । स्थानीय सरकारको पनि आफ्नै निकाय छ । ती निकायले विषादीको प्रयोग विधि र विषादीले पार्न सक्ने असरबारे सचेत गराउनुपर्छ । प्राथमिकतामा राखेर कार्यक्रम ल्याउनुपर्छ । सबैले आआफ्नो दायित्व पूरा गरे किसान विषादीबारे सचेत बन्न सक्छन् । 

विषादीको गलत प्रयोगले किसान वा उपभोक्ता कसलाई बढी असर गर्छ ?
रोगकिराको व्यवस्थापनका लागि किसानले विषादी प्रयोग गर्छन् । तर सुरक्षित भएर गर्दैनन् । सबैभन्दा पहिला किसानलाई नै असर गर्छ । सुरक्षित पहिरन लगाएर विषादीको प्रयोग गर्नुपर्छ । तर कसैलाई ध्यान नै पुगेको छैन । मुख्य कुरा जनचेतनाकै अभाव हो ।

विषादीको प्रयोग गर्दा ध्यान नदिने, धेरैपटक विषादी हाल्ने, विषादीको डोज बढी प्रयोग गर्दा इनिमेसन रेट बढ्छ । विषादी प्रयोग भएको तरकारी सेवनले तीन तहको असर हुन्छ । पहिलो चरणमा थाकेको महसुस हुने, टाउको दुख्ने, स्वाँस्वाँ हुने, रिंगटा लाग्ने, हात लाटो हुनेजस्ता लक्षण देखिन्छन् । दोस्रो तहमा वान्ता हुने, छाती दुख्ने, गाह्रो हुने, वाकवाक आउने, पेट दुख्ने, दिसा-पखाला लाग्ने लगायत समस्या हुन्छ । तेस्रो तहसम्म आइपुग्दा मूर्च्छासमेत पर्न सक्ने हुन्छ । दिर्घकालीन रुपमा क्यान्सर, मुटु रोगी बनाउँछ ।

विषादीको विकल्प र रोकथाम कसरी गर्न सकिन्छ ?
अबको विकल्प जैविक विषादी हो । स्वदेशमा पनि उत्पादन सुरु भएको छ । तर जति हुनुपर्ने हो, त्यो हुन सकेको छैन । आयात पनि भएको देखिन्छ । विषादीबाट देखिने समस्या रोकथाम गर्ने पहिलो जिम्मेवार सरकारको हो । तीनै सरकारले विषादीको दुरुपयोगबारे कडा रुपमा अनुगमन गर्नुपर्छ । किसानलाई जनचेतना फैलाउनुपर्छ । व्यवस्थापनका बारेमा सचेत गराउनुपर्छ । 

सम्बन्धित समाचार : बालीमा जथाभाबी विषादीले किसान र उपभोक्ता नै जोखिममा

कान्तिपुर

Link copied successfully