बालीमा जथाभाबी विषादीले किसान र उपभोक्ता नै जोखिममा

क्यान्सर, ट्युमर, प्रजनन क्षमतामा कमी वा बाँझोपन, मानसिक असन्तुलनलगायत दीर्घकालीन असर देखिन सक्ने

चैत्र ४, २०८१

ज्योती श्रेष्ठ

Farmers and consumers are at risk due to the indiscriminate use of pesticides on crops

काभ्रे — पाँचखाल नगरपालिका-६ का मंगललाल श्रेष्ठले गोलभेडा, खुर्सानी, काँक्रो, बोडी, लौका, घिरौला, करेला, काउलीलगायत मौसमी तथा बेमौसमी तरकारी फलाउँछन् । आफूले लगाएको बालीमा रोगकिराको प्रकोप घटाउन र उत्पादन बढाउन उनले नियमित रुपमा विषादीको प्रयोग गर्दै आएका छन् । 

‘सबैभन्दा धेरै विषादी गोलभेडामा प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘एकपटक गोलभेडा फलाउन १० पटकसम्म विषादी हाल्ने गर्छौं ।’ अचेल तरकारी राम्रो फलाउन रासायनिक विषादी प्रयोग गर्नैपर्ने बाध्यता उनले बताए ।

गोलभेडामा मुख्यतया देखिने पुतलीको समस्या हो । ‘पुतली लागे कुनै बोटमा त फल नै लाग्दैन, जति कडा विषादी हाल्दा पनि पुतली मर्दैन, अहिले गम विषादी हाल्ने गरेका छौं, एउटा गरामा १० पाता गम झुन्ड्याउने गर्छौं, त्यसले अलिकति भए पनि सुधार भएको छ ।’ 

बालीमा समस्या देखिएमा नजिकैको एग्रोभेटले दिएको सल्लाहअनुसार नै गम टेप राख्ने गरिएको  छ । एग्रोभेटको सल्लाहले काम गरेन भने किसानले आफूखुसी विषादी पनि हाल्ने गर्छन् । 

आफूखुसी तथा अत्यधिक मात्रामा विषादी प्रयोग गर्दा मानव स्वास्थ्य र वातावरणलाई नै असर पार्छ भन्ने कुराको ज्ञान श्रेष्ठलाई नभएको होइन । तर रोगकिराको प्रकोपबाट बाली जोगाउन अर्को विकल्प नभएको उनको भनाइ छ । 

पाँचखाल–३ रामपुरका गोपाल श्रेष्ठले पनि उत्पादन वृद्धि गर्न रसायनिक विषादी प्रयोग गर्दै आएका छन् । ‘अहिले मकै लगाउने बेला भएको छ, बजारमा सीपी जातको मकै बीउको अभाव छ, जुन भेटिन्छ त्यही किनेर लगाउँछौं,’ उनले भने, ‘त्यो मकै उम्रँदै किरा लाग्न सुरु हुन्छ, किरालाई रोक्न विषादी राख्नुपर्‍यो, अलि ठूलो भएपछि किराले गुभा खान थाल्छ, त्यसका लागि पनि विषादी राख्नैपर्‍यो, एउटा मकै फलाउन पनि दुई-तीनपटक विषादी हाल्नुपर्ने स्थिति छ ।’ 

उनका अनुसार पहिले खेतबारीमा गाउँघरमै पाइने मकै लगाइन्थ्यो । कुनै रोगकिरा लाग्दैनथ्यो । अहिले हाइब्रिड जातका मकै लगाउन सुरु गरिएसँगै रोगकिराको प्रकोप बढ्दै गएको उनको भनाइ छ । Farmers and consumers are at risk due to the indiscriminate use of pesticides on crops

तरकारी बाली पनि हाइब्रिड जातकै लगाउन थालेपछि रोगकिराको प्रकोप बढ्दै गएको किसानहरु बताउँछन् । ‘सुरुमा बालीमा लागेको फूल जोगाउन विषादी प्रयोग गरिन्छ, एकपटक विषादी हाल्न थालेपछि अनेक थरी रोगकिराको प्रकोप बढ्दै जान्छ,’ श्रेष्ठले भने, ‘विषादी हालेपछि निरन्तर हालिरहनुपर्छ, त्यसले झन् प्रकोप बढाउँदै जान्छ, किसानले झन् कडा विषादी र मात्रा थप्दै जान्छन्, यसले विभिन्न समस्या ल्याउँदै जान्छ ।’

कृषि पकेट क्षेत्र मानिने पाँचखाल र पनौती नगरपालिकाका अधिकांश किसान व्यावसायिक तरकारी खेतीमा संलग्न छन् । तर कुन विषादी कसरी बिक्री भइरहेको छ भन्ने अनुगमन नै हुँदैन । ‘विषादीमा किरा मार्ने औषधि छ कि किरा फलाउने औषधि, किसानलाई केही जानकारी हुँदैन,’ उनले भने, ‘एग्रोभेटले जे दिन्छ, त्यही हाल्ने हो, त्यसले कहिले त झन् धेरै अन्यथरीका रोग पनि बढ्दै जान्छ, त्यसलाई रोक्न फेरि विषादी हाल्दा हाम्रै र उपभोक्ताको स्वास्थ्यदेखि वातावरण नै बिगारिरहेको छ ।’

पाँचखाल नगर प्रमुख महेश खरेल भने किसानलाई जैविक विषादी प्रयोगबारे अभ्यास गराइएको बताए । उत्पादन बढाउन रासायनिक मल र विषादी प्रयोग गर्दा माटोको उर्वराशक्ति र उत्पादन घट्नेजस्ता नकारात्मक असर बढ्दै गएपछि किसानलाई तालिमलगायत सचेतनामूलक अभियान चलाइरहेको उनको भनाइ छ ।

रामपुरकै किसान मन्दिरा न्यौपाने रासायनिक विषादी प्रयोगले चाँडै प्रतिफल दिनुका साथै रोगकिरा व्यवस्थापनमा किसान अभ्यस्त भएकाले जैविक विषादी प्रयोग गर्न झन्झटिलो मानिरहेको बताउँछिन् । ‘रासायनिक विषादी हाल्दा एक-दुई दिनमै किराको समस्या हल हुन्छ । जैविक विषादीले प्रतिफल लिन अलि समय लाग्छ,’ उनले भनिन् । आफूले भने तीन वर्षयता जैविक विषादी मात्रै प्रयोग गर्दै आएको उनको भनाइ छ ।

पनौती–८ मल्पीकी अनुमाया खड्काले ३ रोपनीमा गोलभेडा लगाएकी छिन् । उत्पादन बढाउन र रोगकिरा हटाउन अन्दाजको भरमा विषादी प्रयोग गर्दै आएकी छिन् । ‘कस्तो विषादी कसरी, कति प्रयोग गर्ने कुनै जानकारी नै छैन,’ उनी भन्छिन्, 'बिरुवामा समस्या देखिएपछि एग्रोभेटबाट औषधि ल्याएर अन्दाजको भरमा हाल्ने गरिएको छ ।’ 

बालीमा विषादी प्रयोग गर्दा किसानले अपनाउनुपर्ने सावधानीबारे पनि उनलाई खासै ज्ञान छैन । ‘विषादी हाल्ने बेला मास्क, टोपी, पञ्जा, बुट लगाउनुपर्छ भन्ने त थाहा छ,’ उनले भनिन्, ‘तर प्रयोग गर्न झन्झटिलो लाग्छ, विषादी प्रयोग गरेपछि टाउको दुख्ने, आँखा पोल्ने, चिलाउने जस्ता समस्या पनि देखिन्छ ।’ Farmers and consumers are at risk due to the indiscriminate use of pesticides on crops

जथाभावी र अत्यधिक मात्रामा विषादी प्रयोगका कारण उत्पादक किसानदेखि उपभोक्तासम्म असर परिरहेको छ । बालीमा प्रयोग गरिने विषादीबाट मानव स्वास्थ्यमा तत्काल र दीर्घकालीन असर पर्ने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख रागश्री कक्षपति श्रेष्ठले बताइन् । उनका अनुसार विषादी प्रयोगपछि देखिने तत्कालैको असरमा टाउको छाती दुख्ने, वान्ता हुने, रिंगटा लाग्ने, मूर्च्छा पर्न सक्ने, थाकेको महसुस हुने, छालामा फोका आउने, आँखा रातो हुने, धमिलो देखिने जस्ता समस्या  हुन सक्छन् । दीर्घकालीन रूपमा क्यान्सर, ट्युमर, श्वासप्रश्वाससम्बन्धी रोग, शारीरिक विकासमा असर, पक्षघात, वंशानुगत परिवर्तन, प्रजनन् क्षमतामा कमी वा बाँझोपन, मानसिक असन्तुलन आउन सक्ने उनले बताइन् । 

बालीमा प्रयोग हुने विषादीले क्यान्सरसहितका रोगले मानव स्वास्थ्यमा ठूलो असर पर्ने हुँदा यस विषयमा बेलैमा सचेत हुन आवश्यक रहेको उनको भनाइ छ ।

कृषि विकास कार्यालयकी बाली विकास अधिकृत रमा कार्की काभ्रेका विभिन्न स्थानीय तहका किसानलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउँछिन् । 'विषादीको प्रयोगले किसान र उपभोक्ताको स्वास्थ्यमा पार्ने असरबारे बुझाइरहेका छौं,' उनले भनिन्, 'माटोको उर्वराशक्ति घट्ने, वातावरणीय, पर्यावरणीय दृष्टिकोणबाट पनि असर पर्ने कुरालाई मध्यनजर गर्दै जानकारी दिँदै आएका छौं ।' विषादीका प्रकार, प्रयोग गर्ने तरिकाबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि प्रयोगको तरिका र असरबारे केही किसान सचेत भइनसकेको उनले बताइन् । 'उत्पादन बढाउनेतर्फ मात्रै केन्द्रित भएर अत्यधिक विषादीको प्रयोग गरेको पाइएको छ,' उनले भनिन् ।

गत वर्ष मात्रै जिल्लामा विभिन्न किसिमको ५६ हजार २ सय ५० केजी धुलो/दानादार र २६ हजार ३ सय ३० लिटर तरल विषादी खपत भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । पछिल्ला दुई वर्षको तथ्यांकले काभ्रेमा विषादी प्रयोग घट्दै गएको देखाएको कार्यालय प्रमुख कुलप्रसाद दवाडीले बताए । 

उनका अनुसार २०७९/०८० र २०८०/०८१ को तुलनामा जिल्लामा विषादी खपतमा कमी देखिएको हो । २०७९/०८० मा कुल ५६ हजार १ सय ६० केजी धुलो/दानादार विषादी र २८ हजार ९ सय ६४ लिटर तरल विषादी खपत भएको कार्यालयको तथ्यांक छ । यस्तै, गत वर्ष ५६ हजार २ सय ५० केजी धुलो/दानादार विषादी र २६ हजार ३ सय ३० लिटर तरल विषादी खपत भएको थियो ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully