काठमाडौँ — नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुन गइरहेको बताउँदै राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले सहयोगको भरमा नभई आफ्नै पौरखमा विकास गर्ने सोचको अभिबृद्धि गर्नुपर्ने बताएकी छन् ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा सांसद शाक्यले नेपाल आत्मनिर्भर बन्ने मार्गमा हिँड्नुको कुनै विकल्प नभएको बताएकी हुन् । संघ, प्रदेश र स्थानीय तहले मुलुकलाई स्तरोन्नती लाई दिगो रूपमा अगाडि लैजानका लागि महत्वपूर्ण कदम चाल्नुपर्ने उनको भनाइ थियो । त्यसका लागि आर्थिक स्थितिमा सुधार ल्याउनुपर्ने उनको भनाइ थियो ।
नेपालको विकास र स्तरोन्नतिको यात्रा एक महत्वपूर्ण मोडमा आइपुगेको सांसद शाक्यको भनाइ थियो । ‘अब हामीसँग झिनामसिना कुरामा अल्झिरहने समय छैन, नभए हाम्रा सन्ततिले हामीलाई धिक्कार्ने छन्,’ उनले भनिन्, 'उनीहरूका भविष्यका लागि भए पनि एक आपसमा हिलो छ्यापाछ्याप गरी समय खेर नफालिकन नेपालको अर्थतन्त्र कसरी बलियो बनाउन सकिन्छ भन्ने कुरामा अब हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।’
अल्पविकसित मुलुकको सूचीमा सूचीकृत नेपाल सन् २०२६ नोभेम्बर २४ मा विकासशील राष्ट्रमा स्तरोन्नति हुन लागेको सांसद शाक्यको भनाइ थियो । नेपालले सन् २०१० देखि नै स्तरोन्नतिका प्रयास गर्दै आएको स्मरण गराउँदै उनले अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुनका लागि मानव सम्पत्ति सूचकांक र आर्थिक तथा वातावरणीय जोखिम सूचकांकमा संयुक्त राष्ट्र संघले सन् २०१५, २०१८ र २०२१ मा गरेको मूल्यांकनमा नेपाल सफल भएको बताइन् ।
‘कुनै दुईवटा मापदण्ड पूरा भए पनि स्तरोन्नतिको लागि योग्यता पुग्ने भएकोले प्रतिव्यक्ति आय कम भए पनि अन्य दुई सूचकांकमा सफल भएर नेपाल स्तरोन्नति हुन लागेको हो,’ सांसद शाक्यले भनिन्, 'स्तरोन्नतिपछि नेपालको अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठा बढ्नेछ । वैदेशिक लगानी आकर्षित गर्न सहज वातावरण सिर्जना हुनेछ ।'
नेपालको अर्थतन्त्रमा पनि सुधार हुने र वैदेशिक ऋण तथा अनुदान प्राप्त गर्न सहज बनाउने उनले बताइन् । स्तरोन्नति पछि गुम्ने सुविधा हासिल गर्न नेपालले छिमेकी मुलुकहरू लगायत विभिन्न मुलुकहरूसँग द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सम्बन्ध बढाएर द्विपक्षीय सम्झौता र समझदारी, द्विपक्षीय व्यापार सम्झौता, द्विपक्षीय सन्धि गर्नुपर्नेमा पनि उनले जोड दिइन् ।
नेपालले अन्तर्राष्ट्रिय बजारमा परम्परागत वस्तुभन्दा उत्पादन चक्र निर्माण गर्ने, निकासी प्रबर्धन गर्नसक्ने वस्तुको उत्पादन र उत्पादकत्वमा जोडदिनु पर्ने सांसद शाक्यको भनाइ थियो । त्यसका लागि नेपालमा लगानी मैत्री वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।
