हेटौंडा — हेटौंडामा शनिबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको फोटो जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन केन्द्रीय समितिका सचिव निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर विमानस्थलबाट काठमाडौं जान लागेका बमलाई चितवन प्रहरीले आइतबार पक्राउ गरेको हो ।
बमलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याउँदैछ । बमविरुद्ध कसले उजुरी गर्यो भन्ने प्रहरीले खुलाएको छैन । मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बमलाई चितवनमा पक्राउ गरिएको पुष्टि गरेका छन ।
पूर्वप्रधानमन्त्रीको फोटो जलाउने कार्य गलत र आपराधिक क्रियाकलाप भएकाले पक्राउ गरिएको प्रवक्ता अर्यालको भनाइ छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको अधिवेशनको उद्घाटन कार्यक्रममा शनिबार हेटौंडामा संघीय सांसद दीपकबहादुर सिंहको उपस्थिति रहेको कार्यक्रममा बमले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको फोटो जलाएका थिए ।
बमलाई पक्राउ गरिएको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले विज्ञप्ति जारी गरेको छ । संगठनका सयोजक सुजित केसीले विज्ञप्ति जारी गर्दै बमलाई पक्राउ गरेर सरकारले नागरिकको वैयक्तिक स्वतन्त्रतालाई अवरोध गरेको आरोप लगाएको छ ।
